शिक्षामन्त्री र प्रदेश शिक्षामन्त्रीबिच छलफल : शिक्षा ऐनमा अधिकार क्षेत्र स्पष्ट गरिने

काठमाडौँ /२५ भदौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।


सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबिच सहकार्य र समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । त्यसैगरी छलफलमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श गरिएको थियो । टिभेट विधेयक आपसी छलफलबाट टुङ्ग्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।


कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले सङ्घीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा क्षेत्रमा दुवै तहका सरकारबिच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।


मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको भन्दै उक्त ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्रको स्पष्टता तथा छुटेका विषयलाई समावेश गराएर ऐनलाई थप समृद्ध बनाइने विश्वास व्यक्त गर्नुभयो ।


“विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेका छौ, पहिलाको विधेयकमा कति कुरा छुटेकाले पनि अहिले देशभर सबै सरोकारवालाहरूसँग छलफल गरी सुझावका अधारमा अगाडि बढाइएको छ । दीर्घकालीन रूपमा होस भनेर विषयवस्तु सम्बोधन गर्दा केही समय लागेको हो”, उहाँले भन्नुभयो ।


कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले तीन तहका सरकार मिलेर सिर्जनशील र दूरदर्शी योजना बनाएर जानुपर्ने उहाँको भनाई थियो ।


मधेस प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन सक्दैन भन्दै शिक्षा क्षेत्रको विकासका लागि तीन तहका सरकारबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोष कुमारी शर्मा (थापा) र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पनि शिक्षा क्षेत्रमा संघ र प्रदेश सरकारबिच सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।


कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले शिक्षा क्षेत्रको विकासका लागि लगानी बढाइनुपर्नेमा जोड दिनुभयो ।


शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले बाढी प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि तीन तहका सरकारको समन्वय बलियो बनाइनुपर्नेमा जोड दिनुभयो । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि तीन तहका सरकारबिच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।