काठमाडौँ /२५ भदौ – जापानबाट आएका वरिष्ठ शैक्षिक प्रतिनिधिहरूको टोली प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलमा प्रवेश गर्दै गर्दा पौडी कक्षाका लागि जाँदै गरेका कक्षा ४ का विद्यार्थीहरू उनीहरूलाई देखेर रोकिए र खुसी हुँदै कोनिचिवा भन्दै अभिवादन गरे । त्यो एउटा सानो र अप्रत्याशित क्षण थियो, तर यसले एउटा ठूलो कुरा झल्काउँथ्यो ।
अन्तर्राष्ट्रिय दृष्टिकोणलाई प्रायः शिक्षाको एउटा लक्ष्यका रूपमा व्याख्या गरिन्छ, तर विभिन्न संस्कृतिका मानिसहरू जिज्ञासा, आत्मीयता र खुलापनका साथ एकअर्कोसँग जोडिँदा यो दैनिक व्यवहारमा पनि देखिन्छ ।
यही भावनाले नयाँ रुप लिँदै प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुल र जापानको मित्सुआसाही शैक्षिक प्रतिष्ठान अन्तर्गतको असाहिजुकु माध्यमिक विद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर भयो ।
यो प्रिमियरको कुनै अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग भएको पहिलो औपचारिक साझेदारी हो । यो साझेदारीले फरक संस्कृति, इतिहास र शैक्षिक परिवेशमा विकसित भएका दुई संस्थालाई एकअर्कोबाट सिक्ने अवसरसँग जोडेको विद्यालयको भनाई छ । “विभिन्न संस्कृतिबिचको सिकाइमार्फत भविष्यको शिक्षालाई आकार दिँदै” भन्ने सन्देशसहित साझेदारी पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।
सम्झौताले शैक्षिक सहकार्य र सांस्कृतिक आदानप्रदानका लागि आधार तयार गरेको र नेपाल र जापानका विद्यार्थी तथा शिक्षकहरूलाई फरक दृष्टिकोणबाट बुझ्ने, आफ्ना अनुभव साझा गर्ने र विभिन्न संस्कृतिमा सिकाइ कसरी विकास हुन्छ भन्ने कुरा अनुभव गर्ने अवसर सिर्जना गरेको विद्यालयले जनाएको छ ।
जापानी र नेपाली शिक्षा आ–आफ्ना फरक सांस्कृतिक परिवेशमा विकसित भएका छन् भने अन्तर्राष्ट्रिय स्नातकको शैक्षिक अवधारणाले खोज, आत्मचिन्तन, फरक दृष्टिकोणप्रतिको खुलापन र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई महत्त्व दिने अपेक्षा रहेको छ ।
विद्यार्थीहरूलाई आफ्ना रुचि पहिचान गर्न, विभिन्न समुदायसँग जोडिन र विविध माध्यमबाट सिक्ने अवसर प्राप्त गर्न सक्ने जनाइएको छ । जापानी प्रतिनिधिहरूले प्रिमियरमा बिताएको समयमा यी पक्षहरूलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनुका साथै उनीहरूले विद्यालयका कक्षाकोठा र सिकाइका स्थानहरूको अवलोकन गरका थिए ।
साथै प्रतिनिधिहरूले आफ्ना अनुभव र दृष्टिकोण पनि साझा गरे, जसले यो भ्रमणलाई विद्यालय चिनाउने अवसर मात्र नभई दुई संस्थाबिचको असल अभ्यासको आदानप्रदान गर्न सफल भयो ।
कक्षा ४ का विद्यार्थीहरूको एउटा सरल कोनिचिवाबाट सुरु भएको त्यो समय अन्ततः एउटा दीर्घकालीन साझेदारीको सुरुवात बनेको विद्यालयको भनाई छ । विद्यार्थीहरूलाई सिकाइने जिज्ञासा, खुलापन, सम्मान र अरूबाट सिक्ने इच्छा जस्ता अन्तर्राष्ट्रिय दृष्टिकोणका सिद्धान्तहरू संस्थाका आफ्नै सम्बन्ध र सहकार्यमा देखिनुले अन्तर्राष्ट्रिय दृष्टिकोण कक्षाकोठाको अवधारणाबाट बाहिर निस्केर संस्थाको संस्कृतिको हिस्सा बनेको छ ।



