काठमाडौँ/२५ भदौ – नैतिक शिक्षालाई पाठ्यक्रम र नीतिमै समावेश गर्न सकिए राम्रो संस्कारको आधार बन्न सक्ने शिक्षा मन्त्रालयका सहसचिव शिव कुमार सापकोटाले बताएका छन् ।
उनले विश्वका धेरै मुलकुहरूले यस्ता अवधारण वा संरचनालाई पाठ्यक्रम र नीतिमा समावेश गरेको उदाहरण दिँदै नेपालको सन्दर्भमा पनि बृहत् छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने समय आएको धारणा व्यक्त गरे ।
सापकोटाले नैतिक शिक्षाको सन्दर्भमा नेपाली समाजको परिवेशमा कसरी जाने भन्ने विषयमा बृहत् छलफल गर्न आवश्यक रहेको उल्लेख गर्दै विभिन्न विकल्प खोजेर समस्याको समाधान गर्नुपर्ने बताए ।
खबर एजुकेशनले आयोजना गरेको कार्यक्रममा सोकारवाला तथा विज्ञहरूले उठाएका सवालमा बोल्दै नैतिक शिक्षाको कोर भ्यालुलाई एउटा प्याराडाईमबाट हेर्ने र कुनै एउटा बिन्दुमा निर्णय गरेर यसलाई कार्यान्वयनमा लैजान सकिने बताए ।
साथै नैतिक शिक्षालाई पाठ्यक्रममै राखेर जाँदा यसले प्रभावकारी भूमिका खेल्न सक्ने बताउँदै यसबारेमा मन्त्रालयमा छलफल भईरहेको जानकारी दिए ।



