काठमाडौँ /१२ भदौ-शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।
नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् ।
साथै, भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
मन्त्री पोखरेलले सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न, अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न, विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्न र प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
यसैगरी विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने र वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राखी उपर्युक्त व्यवस्थाहरू तत्काल कार्यान्वयन गर्न÷गराउन आवश्यक निर्णय लिन अनुरोध गरेका छन् ।


