बिर्तामोड/२३ साउन – ह्वाइटहाउस एजुकेसन फाउन्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ र राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गरेको छ ।
स्वस्थ जीवनशैली, अनुशासन, सकारात्मक सोच र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार बिहान ५ः३० बजे रन फेस्ट आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक तथा खेलप्रेमीलगायतको सहभागिता रहने कलेजले जनाएको छ ।
यसैगरी देशभरबाट आएका १४० भन्दा बढी विद्यार्थीहरुको सहभागीतामा विगत तीन दिनदेखि राष्ट्रियस्तरको ह्याकाथन सञ्चालन भइरहेको छ । सहभागी विद्यार्थीले अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा तालिम तथा बुट क्याम्पमार्फत आधुनिक प्रविधि, समस्या समाधान, टोलीगत कार्य, सिर्जनशील सोच र नवप्रवर्तनसम्बन्धी सीप विकास गरिरहेको कलेजको भनाई छ ।
ह्याकाथनको अन्तिम प्रतिस्पर्धा शनिबार र आइतबार हुनेछ । साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रथम टोलीलाई ५० हजार तथा द्वितीय टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।
ह्याकाथनको अर्को आकर्षणका रूपमा उत्कृष्ट प्रदर्शन गर्ने १० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ब्याचलर्स इन इन्फर्मेसन टेक्नोलोजी तथा ब्याचलर्स अफ टेक्नोलोजी इन एजुकेसन–इन्फर्मेसन टेक्नोलोजी कार्यक्रममा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ ।
बिर्तामोड पूर्वी नेपालको प्रमुख शैक्षिक, आर्थिक तथा व्यावसायिक केन्द्रका रूपमा विकास भइरहेको अवस्थामा यही क्षेत्रबाट भविष्यका इन्जिनियर, आईटी विज्ञ, उद्यमी, अनुसन्धानकर्ता तथा परिवर्तनका नेतृत्वकर्ता उत्पादन गर्ने लक्ष्य सहित ह्वाइटहाउस एजुकेसन फाउन्डेसनले ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी कलेज बिर्तामोडमा सञ्चालनमा ल्याएको अध्यक्ष युवराज शर्माले जानकारी दिए ।



