आधारभूत तह (कक्षा ४-५) मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ को कार्यान्वयन र अभिलेख व्यवस्थापन

काठमाडौँ /१८ साउन – पृष्ठभूमि : विश्वभरि नै विद्यालय शिक्षाका प्रारम्भिक कक्षाहरूमा बालमैत्री, कम जोखिमयुक्त र मनोवैज्ञानिक रूपमा नकारात्मक असर नपार्ने प्रकृतिका ‘लो स्टेक टेस्ट’ (Low Stake Test) वा कक्षाकोठामा आधारित मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने विश्वव्यापी अभ्यास रहेको छ। यसको विपरीत, माथिल्ला कक्षाहरूमा बाह्य र आवधिक स्वरूपका’हाई स्टेक टेस्ट’ (High Stake Test) प्रकृतिका औपचारिक परीक्षाहरू कार्यान्वयन गरिन्छ।


परम्परागत रूपमा सञ्चालन गरिने औपचारिक आवधिक परीक्षा प्रणालीले प्रारम्भिक तथा आधारभूत तहका बालबालिकाहरूमा अनावश्यक तनाव, डर र मनोवैज्ञानिक त्रास सिर्जना गर्ने गरेको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्ता परीक्षामा उत्तीर्ण हुनका लागि विद्यार्थीहरू पाठ्यपुस्तकका विषयवस्तु केवल घोक्ने, रट्ने र स्मरण गर्ने अभ्यासमा सीमित हुने तथा पटक -पटक अनुत्तीर्ण हुँदा उनीहरूमा हीनभावना पैदा भई शैक्षिक क्षति (कक्षा दोहोर्‍याउने वा विद्यालय छाड्ने) हुने गम्भीर समस्या रहँदै आएको छ।


यसै सन्दर्भलाई सम्बोधन गर्न नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ८९ मा एउटा महत्त्वपूर्ण निर्णय गरियो। जसअनुसार कक्षा ५ सम्मका विद्यार्थीहरूलाई औपचारिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि पूर्ण रूपमा बन्द गर्ने र उनीहरूलाई कुनै पनि किसिमको मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्याङ्कन प्रणालीको विकल्प तयार पार्ने नीतिगत निर्णय भयो।


वर्तमान नेपालको एकीकृत पाठ्यक्रम (कक्षा १-३) मा पहिले नै पूर्ण रुपमा सिकाइका लागि मूल्याङ्कन तथा विद्यालयमा आधारित मूल्याङ्कन पद्धति प्रयोग भइरहेको परिप्रेक्ष्यमा, आधारभूत तहको कक्षा ४ र ५ मा पनि मौजुदा मूल्याङ्कन व्यवस्थामा व्यापक पुनरावलोकन गर्नु आवश्यक देखियो। सोहीबमोजिम कक्षा ४-५ मा पनि शतप्रतिशत निर्माणात्मक (Formative) मूल्याङ्कन हुने गरी सिकाइका लागि मूल्याङ्कन तथा आन्तरिक मूल्याङ्कन विधि अवलम्बन गर्नका लागि ‘विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३’ तयार पारिएको हो। यस मार्गदर्शनको मूल उद्देश्य कक्षाकोठामै आधारित निरन्तर मूल्याङ्कनमार्फत बालबालिकाको वास्तविक सिकाइ क्षमता अभिवृद्धि गर्नु र उनीहरूलाई मैत्रीपूर्ण वातावरणमा सिक्ने अवसर प्रदान गर्नु हो।


२. उद्देश्य
आधारभूत तह (कक्षा ४-५) मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ कार्यान्वयन गर्नुका मुख्य उद्देश्यहरू देहाय बमोजिम रहेका छन् :

निर्माणात्मक मूल्याङ्कन प्रणालीको पूर्ण कार्यान्वयन : कक्षा ४ र ५ मा परम्परागत सैद्धान्तिक परीक्षाको साटो शतप्रतिशत सिकाइका लागि मूल्याङ्कन (Assessment for Learning) प्रणाली लागू गरी सिकाइ सहजीकरण प्रक्रियाकै अभिन्न अङ्गका रूपमा मूल्याङ्कनलाई स्थापित गर्नु


तनावमुक्त र बालमैत्री सिकाइ वातावरणको निर्माण : औपचारिक परीक्षाले बालबालिकामा पार्ने मनोवैज्ञानिक त्रास, चिन्ता र दबाबलाई अन्त्य गर्दै डरमुक्त, उत्प्रेरक र बालमैत्री वातावरणमा सिकाइ सुचारु गर्नु


निरन्तर सिकाइ लेखाजोखा र पृष्ठपोषण : कक्षाकार्य, गृहकार्य, मौखिकरलिखित कार्य, प्रयोगात्मक तथा परियोजना कार्य, सहभागिता र व्यवहार अवलोकन जस्ता विविध साधनहरूमार्फत विद्यार्थीको सिकाइको निरन्तर लेखाजोखा गरी समयमै रचनात्मक पृष्ठपोषण प्रदान गर्नु


सुधारात्मक र उपचारात्मक शिक्षणको सुनिश्चितता : मूल्याङ्कनका क्रममा सिकाइमा पछाडि परेका वा तोकिएको न्यूनतम सिकाइस्तर हासिल गर्न नसकेका विद्यार्थीहरूलाई सुधारात्मक (Corrective) र उपचारात्मक (Remedial) शिक्षण सिकाइ प्रक्रियामार्फत अपेक्षित सिकाइ स्तरमा पुर्‍याउनु


वैयक्तिक क्षमता र व्यवहारकुशल सिपको विकास : बालबालिकामा निहित वैयक्तिक प्रतिभा, सिर्जनात्मकता र पाठ्यक्रमले निर्दिष्ट गरेका व्यवहारकुशल सिपहरू (Soft Skills) को पहिचान, प्रवर्द्धन र मूल्याङ्कन गर्नु


अभिलेख व्यवस्थापनमा व्यवस्थितता : विद्यार्थीहरूले हासिल गरेका सिकाइ उपलब्धिको वास्तविक प्रमाण सङ्कलनका लागि वैयक्तिक कार्यसञ्चयिका (Portfolio) र अभिलेखीकरण फारामको प्रयोग गरी अभिलेख व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउनु


समावेशी मूल्याङ्कन पद्धतिको विकास: दृष्टिविहीन, सुस्तश्रवण, शारीरिक वा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि उनीहरूको आवश्यकता र प्रकृतिअनुसारका वैकल्पिक मूल्याङ्कनका तरिका र साधनहरूको छनोट गरी कार्यान्वयनमा ल्याउनु


लेटर ग्रेडिङ निर्देशिका अनुसार नतिजा प्रणाली : आन्तरिक एवम् निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको प्राप्ताङ्कलाई लेटर ग्रेडिङ निर्देशिका २०८३ को व्यवस्था अनुसार अक्षराङ्कन पद्धतिमा रूपान्तरण गरी वार्षिक तथा त्रैमासिक प्रगति प्रतिवेदन तयार गर्नु


शैक्षिक क्षति न्यूनीकरण : घोकाइ र रटाइमा आधारित परीक्षा पद्धतिको अन्त्य गर्दै कक्षोन्नतिका लागि न्यूनतम सिकाइ स्तर सुनिश्चित गरी कक्षा दोहोर्‍याउने र विद्यालय छाड्ने दरमा कमी ल्याउनु


सरोकारवालाहरूको सक्रिय सहभागिता : विद्यार्थीको सिकाइ अवस्था, सबल पक्ष र सुधारका क्षेत्रहरूका सम्बन्धमा शिक्षक, विद्यार्थी र अभिभावकबिच नियमित छलफल, स्वमूल्याङ्कन तथा प्रतिबिम्बन गर्ने संस्कृति बसाल्नु।

३. कक्षा ४ र ५ को मूल्याङ्कन पद्धति


आधारभूत तह कक्षा ४-५ मा मुख्य रुपमा निर्माणात्मक मूल्याङ्‌कन (सिकाइका लागि मूल्याङ्कन) को अवधारणा अवलम्बन गरिएको छ ।जसको मुख्य उद्देश्य सिकाइमा सुधार ल्याउनु हो ।समग्रमा विद्यार्थीले हासिल गरेको उपलब्धिलाई सिकाइका लागि मूल्याङ्कन र स्वमूल्याङ्कन जस्ता आन्तरिक मूल्याङ्कनका साधन मार्फत् निर्णयात्मक मूल्याङ्कन गरी लेटर ग्रेडिङ निर्देशिका २०८३ अनुसार नतिजा प्रदान गर्ने प्रावधान कायम गरिएको छ । आन्तरिक मूल्याङ्‌कनलाई विद्यार्थीको सिकाइ सुधारउन्मुख हुने गरी प्रयोग गर्न सिकाइ सहजीकरणकै अभिन्न अङ्‍गका रूपमा प्रयोग गर्नुपर्ने प्रावधान कायम गरिएको छ ।


निर्माणात्मक मूल्याङ्‌कनअन्तर्गत कक्षाकोठामा आधारित निरन्तर मूल्याङ्‌कन गर्दा विद्यार्थीका कक्षाकार्य, सहभागिता, लिखित तथा मौखिक कार्य, कार्यसम्पादन र प्रस्तुति, परियोजना कार्य, प्रयोगात्मक कार्य, सिर्जनात्मक कार्य जस्ता विभिन्न तरिका तथा साधनको प्रयोग गरी सोको वैयक्तिक कार्यसञ्चयिका (Portfolio) मा व्यवस्थापन गरी राख्नुपर्ने हुन्छ । कार्यसञ्चयिकामा समावेश गरिएका विद्यार्थीका कार्यसम्पादनसँग सम्बन्धित विभिन्न प्रमाणहरूका आधारमा वैयक्तिक सिकाइस्तर पहिचान गर्नुपर्छ।साथै प्रत्येक विद्यार्थीमा पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धि हासिल भयो वा भएन, विद्यार्थीको वैयक्तिक प्रतिभालाई पहिचान गर्न सकियो वा सकिएन, विद्यार्थीमा व्यवहारकुशल सिप विकास भयो वा भएन भन्ने जस्ता विविध पक्षहरूको लेखाजोखा गर्ने प्रयोजनका लागि समेत कार्यसञ्चयिकाको उपयोग गर्नुपर्ने हुन्छ।हासिल भएका उपलब्धिको अभिलेख वैयक्तिक अभिलेखीकरण फाराममा उल्लेख गर्नुपर्छ भने हासिल हुन नसकेका पक्षको व्याख्यात्मक विवरण पनि अभिलेखीकरण फाराममा उल्लेख गर्न सके सिकाइ सहजीकरण प्रक्रियामा थप सुधारको प्रयास गर्न उपयोगी हुन्छ।


आधारभूत तह कक्षा ४-५ मा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को व्यवस्थाअनुसार विषयगत पहिचानसहितको पाठ्यक्रम विकास भएका छन्।यसअन्तर्गत सातओटा विषयहरू क्रमशः नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला र मातृभाषा वा स्थानीय विषय रहेका छन्।उक्त सात विषयमा विद्यार्थी मूल्याङ्‌कनका लागि निर्माणात्मक स्वरूपका कक्षाकोठामा आधारित विभिन्न विधि, प्रक्रिया, तरिका तथा साधनहरू पहिचान गरिने छ।साथै पाठ्यक्रममा उल्लेख गरिएका विषयगत सक्षमता र सिकाइ उपलब्धि हासिल भए नभएको यकीन गरी थप सुधारात्मक प्रयास र सोको अभिलेखीकरण गर्ने तरिका र अभिलेखीकरण साधनसमेत यस मार्गदर्शनमा समावेश गरिएको छ।मातृभाषा/स्थानीय विषयमा विद्यार्थी मूल्याङ्‌कनका लागि आवश्यक साधन तथा प्रक्रिया यसैका आधारमा विकास गरी मूल्याङ्‌कन र अभिलेखीकरण गर्न सकिन्छ।


कक्षा ४-५ मा गरिने विद्यार्थी मूल्याङ्‌कनलाई सिकाइ प्रक्रियाकै अभिन्न अङ्‍गका रूपमा प्रयोग गर्नुपर्छ।यस्तो मूल्याङ्‌कनको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धिको निरन्तर लेखाजोखा गरी सिकाइ सुधारका लागि पृष्ठपोषण प्रदान गर्नु हो।यस्तो पृष्ठपोषण दुई चरणमा हुन सक्छ।पहिलो चरणमा शिक्षण सिकाइका क्रममा गरिएको मूल्याङ्‌कनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेका विद्यार्थीका कठिनाइका क्षेत्र पत्ता लगाई सुधारात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ।दोस्रो चरणमा पटक पटकका सुधारात्मक सिकाइ क्रियाकलापबाट पनि सिकाइ सुधार हुन नसकेमा उपचारात्मक सिकाइ योजना निर्माण र कार्यान्वयन गरी सिकाइमा सुधार गर्नुपर्छ।कक्षाकोठामा आधारित निर्माणात्मक मूल्याङ्‌कनले प्रत्येक विद्यार्थीलाई न्यूनतम सिकाइस्तर सुनिश्चित गरी माथिल्लो सिकाइस्तर प्राप्त गर्न सहयोग गर्नुपर्छ।यसबाट विद्यार्थीहरूको कक्षा दोहोर्‍याउने क्रमलाई न्यून गरी शैक्षिक क्षति घटाउन सहयोग पुग्नाका साथै न्यूनतम स्तरको सिकाइ सुनिश्चित भई थप सिकाइका लागि अवसर सिर्जना हुनेछ।


(क) मूल्याङ्‌कनका विधि र प्रक्रिया
कक्षा ४-५ मा विद्यार्थी मूल्याङ्‌कनको प्रक्रिया सामान्यतया निम्नअनुसार हुने छ :
१. मूल्याङ्‌कनलाई सिकाइ क्रियाकलापको अभिन्न अङ्‍गका रूपमा कक्षा क्रियाकलापसँगै एकीकृत गरी सिकाइ सुधारमा निरन्तर प्रयोग गर्नुपर्छ।


२. सिकाइ उपलब्धिका आधारमा सम्भाव्य मूल्याङ्‌कन विधि, प्रक्रिया, तरिका र साधनको तयारी गर्नुपर्छ।


३. दैनिक कक्षा क्रियाकलापसँगै विद्यार्थीको सिकाइको लेखाजोखा गरी थप सहायता आवश्यक पर्ने विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रक्रियाद्वारा न्यूनतम सिकाइ सुनिश्चित गर्नुपर्छ।


४. विद्यार्थीको सिकाइस्तरको मूल्याङ्‌कन गर्दा मूलतः विभिन्न सिकाइक्षेत्रमा विद्यार्थीले अपेक्षित सिकाइ उपलब्धि हासिल गरे वा नगरेको परीक्षण गर्नुपर्छ।


५. विद्यार्थीको सिकाइको मूल्याङ्‌कनमा विषयगत सिकाइक्षेत्रमा अपेक्षित ज्ञान, बुझाइ, प्रयोग तथा आवश्यकतानुसार विश्लेषण, मूल्याङ्‌कन र सिर्जनालगायतका उच्च क्षमता परीक्षण गर्नका लगि उपयुक्त साधन तथा प्रक्रिया प्रयोग गर्नुपर्छ।


६. मूल्याङ्‌कनका क्रममा आवश्यक व्यवहारकुशल सिप प्राप्तिमा विद्यार्थीले हासिल गरेका सक्षमताको पनि लेखाजोखा गरी आवश्यकतानुसार सिकाइ क्रियाकलापमा सुधार गर्नुपर्छ।


७. मूल्याङ्‌कनपश्चात् कुनै विद्यार्थीले अपेक्षित नतिजा प्राप्त गर्न नसकेमा सुधारात्मक शिक्षण सिकाइको प्रक्रियाअनुरूप विद्यार्थीको सिकाइ सुधार गरी अपेक्षित सिकाइ सुनिश्चित गर्नुपर्छ।पटक पटकको सुधारात्मक शिक्षण सिकाइ प्रक्रियाबाट पनि न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीका लागि उपचारात्मक शिक्षणको प्रबन्ध गर्नुपर्छ।


८. मूल्याङ्‌कनको नतिजालाई विषयक्षेत्र वा एकाइगत सिकाइ उपलब्धिअनुसार अभिलेखीकरण गर्नुपर्छ।विद्यार्थीको व्यक्तिगत अभिलेख खडा गरी मूल्याङ्‌कनको नतिजाका साथै अन्य सान्दर्भिक विवरणसहितको कार्यसञ्चयिका व्यवस्थित गरेर राख्नुपर्छ।


९. विद्यार्थीको सिकाइ अवस्था पहिचान गर्न, भावी सिकाइको योजना निर्माण गर्न र सिकाइ उपलब्धिको प्रगति अभिलेखका रूपमा कार्यसञ्चयिकालाई विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकले आवश्यकतानुसार प्रयोग गर्नुपर्छ।


१०. विद्यार्थीलाई स्वमूल्याङ्‌कन तथा प्रतिबिम्बन गर्न र सिकाइ सुधारको आवश्यकता तथा उपाय पहिचान गर्न शिक्षक तथा अभिभावकले प्रेरित गर्नुपर्छ।


(ख) मूल्याङ्‌कनका तरिका र साधन


परीक्षण गरिने सिकाइ उपलब्धि तथा विषयवस्तुको स्वरूप, विद्यार्थीको उमेर तथा रुचि, उपलब्ध स्रोतसाधन, कक्षामा भएका विद्यार्थी सङ्ख्या जस्ता पक्षको विचार गरेर मूल्याङ्‌कनका तरिका र साधनको छनोट तथा विकास गर्नुपर्छ।

  • कक्षा ४-५ मा सिकाइ सहजीकरणका क्रममा विद्यार्थीको नियमित मूल्याङ्‌कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन, अभिभावकको प्रतिक्रिया, परियोजना कार्य, प्रयोगात्मक कार्य आदी प्रयोग गर्नुपर्छ । प्रयोगात्मक तथा परियोजना कार्यको मूल्याङ्कनको अभिलेख तयार गर्दा निम्न अनुसारको ढाँचा प्रयोग गर्न सकिन्छ ।
  • व्यवहार अवलोकन, सिर्जनात्मक कार्य, कक्षा सहभागिता तथा विद्यार्थीका कार्यको प्रदर्शनको परीक्षणको अभिलेखीकरण शिक्षकको अवलोकनका माध्यमबाट गर्न सकिने भएकाले यसका लागि उपयुक्त अवलोकन फाराम तयार गर्नुपर्छ।
  • सिकाइ उपलब्धिको प्रकृतिअनुसार मूल्याङ्कनको साधन छनोट गरी विद्यार्थीले सिकाइ उपलब्धि हासिल गरे नगरेको सुनिश्चित गर्नुपर्छ । सिपगत र व्यवहारगत पक्षसँग सम्बन्धित सिकाइ उपलब्धिको मूल्याङ्कन गर्न अवलोकनका साधनहरु प्रयोग गर्न सकिन्छ भने संज्ञानात्मक क्षेत्रका सिकाइ उपलब्धिको लेखाजाना गर्न मौखिक तथा लिखित मूल्याङ्कनका साधन प्रयोग गर्न सकिन्छ । सिकाइ उपलब्धि हासिल भए नभएको सुनिश्चित गर्न रुजुसूची, श्रेणीमापन, रुब्रिक्स, अवलोकन फाराम, मौखिक प्रश्न, लिखित प्रश्न जस्ता साधन प्रयोग गर्न सकिन्छ ।
  • पहिलो चरणमा दैनिक कक्षा क्रियाकलापका रूपमा विद्यार्थीको सिकाइको मूल्याङ्‌कन गरी विद्यार्थीको सिकाइ सुधार गर्नुपर्छ।मूल्याङ्‌कनको दोस्रो चरणमा कुनै सिकाइ उपलब्धि हासिल भयो वा भएन भनी उल्लिखित तरिका तथा साधनमध्ये उपयुक्त साधनको प्रयोगमार्फत विद्यार्थीको मूल्याङ्‌कन गरी सिकाइस्तर अभिलेखीकरण गर्नुपर्छ।यसरी अभिलेखित सिकाइस्तर १ वा २ मात्र भएमा सुधारात्मक सिकाइको योजना निर्माण गरी कम्तीमा उपलब्धिस्तर ३ पुर्‍याउने प्रयास गर्नुपर्छ।उपलब्धिस्तर ३ प्राप्त गरेको विद्यार्थीलाई समेत ४ मा पुर्‍याउने अवसर सिर्जना गर्नुपर्छ।यदि पटक पटकको प्रयासबाट पनि कुनै विद्यार्थीको उपलब्धिस्तरमा सुधार हुन नसकेमा यसको कारण खोजी गरी उपचारात्मक सिकाइको योजना बनाउनुपर्छ भने अन्यलाई अग्रिम सिकाइमा सरिक गराउनुपर्छ।सुधारात्मक सिकाइपछि पुनः विद्यार्थीको मूल्याङ्‌कन गरी उपलब्धिस्तर निर्धारण गरेर पुनःअभिलेखीकरण गर्नुपर्छ।निश्चित सिकाइक्षेत्रका सिकाइ उपलब्धिहरूको सिकाइ परीक्षणपश्चात् सो सिकाइक्षेत्रको औसत सिकाइ उपलब्धिसमेत गणना गरी विद्यार्थी र अभिभावकसँग छलफल गरेर विद्यार्थीका सबलता र सुधारका क्षेत्र तथा उपाय पहिचान गर्नुपर्छ। 
  • यही क्रममा सबै विषयक्षेत्र अर्थात् एकाइको सिकाइ सहजीकरणपश्चात् सबै सिकाइ उपलब्धिको परीक्षण गरी प्रत्येक सिकाइ उपलब्धिमा विद्यार्थीको सिकाइस्तरसहित विषयक्षेत्रगत अर्थात् एकाइगत औसत सिकाइ उपलब्धि निकाल्न सकिन्छ।त्यसै गरी व्यवहारकुशल सिपमा विद्यार्थीको उपलब्धिस्तर पनि अभिलेखित गर्न सकिन्छ।यसरी तयार गरिएको अभिलेख नै विद्यार्थीको वार्षिक शैक्षिक उपलब्धिको प्रतिवेदन हुने छ।विद्यार्थीको सिकाइ उपलब्धिको यस्तो अभिलेख तथा प्रगति प्रतिवेदनको प्रयोग शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालयले विद्यार्थीको सिकाइस्तरको सुनिश्चिता गर्न, सिकाइ सुधारका लागि पृष्ठपोषण प्रदान गर्न र भावी सिकाइका लागि योजना तयार पार्न पनि प्रयोग गर्न सकिन्छ।  

(ग) अपाङ्गता भएका विद्यार्थीका लागि मूल्याङ्‌कनका तरिका तथा साधनको प्रयोग

विभिन्न किसिमका अपाङ्गता भएका विद्यार्थीका लागि माथि उल्लिखित मूल्याङ्‌कनका तरिका तथा साधनहरू कतिपय उपयोगी नहुन पनि सक्छन् भने कतिपय तरिका तथा साधनको प्रयोगमा भिन्नता ल्याउनुपर्ने पनि हुन सक्छ।शिक्षकले आफ्नो कक्षाकोठामा भएका विद्यार्थीको अपाङ्गताको किसिम तथा स्वरूपअनुरूप प्रयोग गर्न सकिने मूल्याङ्‌कनका वैकल्पिक तरिका तथा साधनको तयारी गरी उपयुक्त तरिका तथा साधन प्रयोग गर्नुपर्छ।मूल्याङ्‌कनका कुनै साधन उपयुक्त नभएकै आधारमा कुनै पनि विद्यार्थीलाई सिकाइको मूल्याङ्‌कन र पृष्ठपोषण प्राप्त गर्ने अवसरबाट वञ्चित गर्नुहुँदैन।यस्ता विद्यार्थीका लागि शिक्षकले वैकल्पिक तरिकाको खोजी तथा तयारी गर्नुपर्छ अपाङ्गताको प्रकृतिअनुसार मूल्याङ्कनका साधनहरुको छनोट गरी सिकाइ उपलब्धिको लेखाजोखा गर्नुपर्छ ।

जस्तैः
१.दृष्टि क्षमता कमजोर भएका विद्यार्थीका लागि पढ्नुपर्ने कार्य वा प्रश्न ठुलो आकारको अक्षरमा छाप्ने, अतिरिक्त प्रकाश भएको स्थानमा कार्य गर्ने वा परीक्षा दिने व्यवस्था गर्ने, परिस्थितिअनुरूप आवश्यक देखिए अतिरिक्त समय दिने


२. दृष्टिविहीनमध्ये ब्रेललिपि पढ्न र लेख्न सक्नेहरूका लागि सोहीअनुसार व्यवस्था गरी आवश्यकतानुसार अतिरिक्त समय दिने तर ब्रेललिपि प्रयोग नगर्नेका लागि सहयोगी व्यवस्था गर्ने वा मौखिक वा अन्य कुनै वैकल्पिक तरिका तथा साधन प्रयोग गर्ने।जस्तैः विकल्पका रूपमा प्रश्न वा कार्यको निर्देशनको रेकर्ड दिएर उत्तर वा कार्यको विवरण रेकर्ड गर्न लगाउने।यस्ता विद्यार्थीहरूका लागि चित्र बनाउने तथा प्रयोगात्मक कार्यमा विकल्प तयार गर्ने


३. दृष्टि क्षमता कमजोर भएका र दृष्टिविहीनका लागि लिखित कार्यको विकल्प कम्प्युटर प्रविधि तथा सफ्टवेयर उपलब्ध भएमा र प्रयोग गर्न सक्ने भएमा त्यसको पनि उपयोग गर्ने


४. कमजोर सुनाइ क्षमता भएकाहरूका लागि मौखिक प्रश्न तथा निर्देशनमा विशेष ध्यान दिई आवश्यक भए वैकल्पिक तरिका प्रयोग गर्नुपर्छ। यस्ता विद्यार्थीका लागि विकास गरिएका कम्प्युटर प्रविधि तथा सफ्टवेयर उपलब्ध भएमा र प्रयोग गर्न सकेमा त्यसको उपयोग गर्ने


५. शारीरिक रूपमा कमजोर तथा अपाङ्गता भएकाहरूका लागि अपाङ्गताको स्वरूपअनुरूपको वैकल्पिक प्रबन्ध गर्ने


६. बौद्धिक अपाङ्गता भएका लागि आवश्यकतानुसार वैकल्पिक तरिका तथा साधनहरूको पहिचान, तयारी तथा प्रयोग गर्ने


(घ) आधारभूत तह कक्षा ४-५ मा विद्यार्थी मूल्याङ्‌कनका साधनको प्रयोग, अभिलेखीकरण तथा प्रयोग


कक्षा ४ र ५ मा सिकाइ उपलब्धिको आधारमा मूल्याङ्कन गर्नुपर्ने भएकोले प्रत्येक सिकाइ उपलब्धिको पूर्णाङ्क (full mark)   ४ कायम गरिएको छ । प्रत्येक विषयमा सिकाइ उपलब्धिको सङ्ख्या फरक फरक भएकोले विषयगत पूर्णाङ्क फरक फरक हुन्छ । वर्तमान मूल्याङ्कन मार्गदर्शन २०८३ अनुसार कक्षा ४ र ५ को कक्षागत र विषयगत सिकाइ उपलब्धि निम्नानुसार रहेको छः

कक्षा ४-५ मा विद्यार्थी मूल्याङ्‌कन गर्नुको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ सुधार गर्नु भएकाले मूल्याङ्‌कनलाई शिक्षण सिकाइ क्रियाकलापकै अभिन्न अङ्‍गका रूपमा विकास तथा प्रयोग गर्नुपर्ने हुन्छ ।


(ङ) मूल्याङ्‌कन गर्ने तरिका


१ . प्रत्येक विद्यार्थीले प्रत्येक विषयक्षेत्र वा एकाइका सिकाइ उपलब्धिमा केकति उपलब्धि हासिल गरे भनी मूल्याङ्‌कनका उपयुक्त साधन प्रयोग गरी परीक्षण गरेर यकिन गर्नुपर्छ।


२. विद्यार्थीको उपलब्धिस्तरलाई तलको तालिकाअनुसार १ देखि ४ स्तरमा श्रेणीमापन गरी विषयक्षेत्र वा एकाइअनुसारको सिकाइ उपलब्धिमा अभिलिखित गर्नुपर्छ।

३. सामान्यतया प्रत्येक सिकाइ उपलब्धि मापनपछि विद्यार्थीलाई नतिजा जानकारी गराउने, किन यस्तो भयो छलफल गर्ने, विद्यार्थीलाई स्वप्रत्यावर्तनको अवसर दिने र सुधारका उपाय तय गर्ने गर्नुपर्छ। प्रत्येक विषयक्षेत्र वा एकाइको सिकाइ सहजीकरणपश्चात् प्रत्येक सिकाइ उपलब्धि र औसत उपलब्धिसहित अभिभावक र शिक्षकले छलफल गरी सिकाइ सुधार तथा भावी सिकाइका योजना तय गर्नुपर्छ।प्रत्येक विषयक्षेत्र वा एकाइको सिकाइ सहजीकरणपछि अभिभावकसँग छलफल गर्नु विद्यार्थीको सिकाइ सुधारका दृष्टिले उपयुक्त भए पनि छोटो छोटो समयको अन्तरालमा अभिभावकसँग छलफल सबैका लागि सम्भव नहुन सक्ने कुरालाई विचार गरी कम्तीमा तीन महिनामा सो अवधिमा सिकाइ भएका विषयक्षेत्र वा एकाइको मूल्याङ्‌कन नतिजासहित विद्यार्थीको सिकाइ प्रगति तथा कठिनाइका विषयमा अभिभावकसँग छलफल गरी आवश्यकतानुसार सिकाइ सुधारका उपाय पहिचान गर्न सकिन्छ।


४ . नतिजा र सिकाइ सुधार तथा भावी सिकाइ योजना तय गर्दा सम्बन्धित विद्यार्थी सबल पक्ष, रुचि र कठिनाइलाई ध्यान दिनुपर्छ।यसका लागि यस प्रक्रियामा विद्यार्थीलाई पनि सहभागी गराउनुपर्छ।


(च) विषयक्षेत्रगत/एकाइगत रूपमा मूल्याङ्‌कन गर्ने तरिका तथा अभिलेख फारामहरू :


१. सिकाइ उपलब्धिलाई विद्यार्थीको सिकाइ स्तरअनुसार १ देखि ४ सम्म श्रेणीमापन गर्नुपर्छ।


२.हरेक सिकाइ उपलब्धि हासिल भयो वा भएन भनी यकिन गनुपर्छ।यसका लागि एउटा सिकाइ उपलब्धि परीक्षण गर्न एकभन्दा बढी मूल्याङ्‌कन साधन आवश्यक हुन पनि सक्छ भने कतिपय अवस्थामा एउटै साधन वा एकैपटकको परीक्षणबाट एकभन्दा बढी सिकाइ उपलब्धि पनि परीक्षण गर्न सकिने कुरालाई शिक्षकले विचार गर्नुपर्छ।


३.सबै विद्यार्थीले न्यूनतम सिकाइस्तर प्राप्त गरी माथिल्लो स्तरको सिकाइको अवसर प्रदान गर्न मूल्याङ्‌कनले सहयोग गर्नुपर्छ।यसका लागि नियमित सिकाइ प्रक्रियापछि गरिएको मूल्याङ्‌कनमा कुनै सिकाइ उपलब्धिमा १ वा २ स्तर मात्र हासिल गर्न सकेमा सुधारात्मक सिकाइ गरी उपलब्धि वृद्धिको सुनिश्चित गरिनुपर्छ।यसका लागि सुधारात्मक सिकाइपश्चात् विद्यार्थीको पुनः मूल्याङ्‌कन गरी फाराममा उल्लेखभएअनुसार अभिलेखित गर्नुपर्छ।


४. सामान्यतया सबै (प्रत्येक) विद्यार्थीको सिकाइस्तर ४ पुर्‍याउने गरी सुधारात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ।तसर्थ कुनै पनि विद्यार्थीलाई सिकाइस्तर १, २ वा ३ मै छाड्न भने हुँदैन।कुनै विद्यार्थी पटक पटकको सुधारात्मक सिकाइबाट पनि सिकाइस्तर १ तथा २ भन्दा माथि जान सकेन भने सोको कारण पहिचान गरी सुधारका उपाय पहिचान गर्ने र सिकाइ सुधार गर्ने प्रयोजनका लागि उपचारात्मक शिक्षण सिकाइ आवश्यक हुन सक्छ।उपलब्धिस्तर ३ प्राप्त गर्ने विद्यार्थीलाई पनि माथिल्लो उपलब्धि हासिल गर्ने अवसर प्रदान गरिनुपर्छ।शिक्षण सिकाइका क्रममा उपलब्धिस्तर ४ पुर्‍याउनु अपेक्षित छ।


५. सिकाइ उपलब्धि हासिल भए नभएको सुनिश्चित गरी उपलब्धिको अङ्कन गर्दा सिकाइ उपलब्धिमा एउटा मात्र तत्व जस्तै परिचय छ भने त्यसको लागि ४,३,२,१ अङ्कन गर्दा पाठ्यक्रममा विषयवस्तुको विस्तृतीकरणमा दिएमा सोहीअनुसार र नदिएमा पाठ्यपुस्तकमा दिइएको विषयवस्तुको जानकारी अनुसार रुब्रिक्स तयार गरी अङ्कन गर्नुपर्ने हुन्छ । जस्तोः कक्षा ४ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कलाअन्तर्गत एकाइ १ मा व्यक्तिगत स्वच्छताअन्तर्गत महिनावारीको परिचय दिन भन्ने सिकाइ उपलब्धि रहेको छ र विषयवस्तुको विस्तृतीकरणमा महिनावारीको परिचय मात्र दिइएको छ । यस्तो अवस्थामा परिचयको विस्तृतीकरण पाठ्यक्रममा नदिएकोले पाठ्यपुस्तकमा दिइएको जानकारीअनुसार रुब्रिक्स तयार गरी अङ्कन गर्नुपर्ने हुन्छ । यसको रुब्रिक्स निम्नानुसार बनाउन सकिन्छ ।


उदाहरणको लागि नेपाली, अङ्ग्रेजी र गणित विषयको एकाइरक्षेत्रगत सिकाइ उपलब्धि यहाँ भर्ने तरिका र उपलब्धि प्रतिशत निकाल्ने तरिका यहाँ दिइएको छ ।

कुनै विद्यार्थीले कुनै सिकाइ उपलब्धिमा सुरुमा अर्थात् नियमित सिकाइकै क्रममा ४ अङ्क पाएमा थप सहायता आवश्यक नभएकोले माथिको फाराम भर्दा सुरुमा ४ पाएको विद्यार्थीको थप सहायताको मितिमा — राखी थप सहायताको कोलममा ४ लाई कोष्ठभित्र ९४० राखिएको हो । यसो गर्दा एकाइमा रहेका सबै सिकाइ उपलब्धिको अङ्कको जम्मा योग निकाल्न सजिलो हुन्छ ।

माथि उल्लिखित विज्ञान तथा प्रविधिको वार्षिक उपलब्धि निकालेजस्तै यदि आवश्यक परेमा त्रैमासिक रुपमा समेत पठनपाठन भएका एकाइहरुको उपलब्धि प्रतिशत निकाल्न सकिन्छ । यसै गरी अन्य विषयको समेत उपलब्धि निकालेर निम्न तालिकामा सबै विद्यार्थीको सबै विषयको उपलब्धि प्रतिशत निकाल्न सकिन्छ ।

विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ मा तपसिलको ढाँचामा विषयगत ग्रेडसहितको ग्रेड सिट विद्यार्थीलाई दिने गरी विद्यार्थीको समग्र प्रतिवेदनको ढाँचा दिइएको छ ।

माथिको विषयगत ग्रेडसिटका साथै यदि GPA सहितको ग्रेडसिट समेत दिन सकिन्छ । GPA Calculation गर्ने तरिका निम्नानुसार रहेको छ । (अभिलेखको लागि)

५. निष्कर्ष :
नेपालको विद्यालय शिक्षा प्रणालीमा “विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३” को कार्यान्वयन आधारभूत तह (कक्षा ४-५) का लागि एउटा दूरगामी र क्रान्तिकारी कदम हो। लामो समयदेखि प्रारम्भिक तथा आधारभूत कक्षाहरूमा कायम रहेको परम्परागत आवधिक र सैद्धान्तिक परीक्षा प्रणालीले बालबालिकाको स्वाभाविक मानसिक विकासमा बाधा पुर्‍याउँदै आएको थियो। परीक्षा उत्तीर्ण गर्नकै लागि पाठ्यपुस्तकका विषयवस्तु घोक्ने, कण्ठ गर्ने र परीक्षाको नाममा तनाव झेल्नुपर्ने बाध्यताले साना बालबालिकाको सिकाइप्रतिको रुचि मर्नुका साथै शैक्षिक क्षतिसमेत हुने गरेको थियो। नेपाल सरकारको १०० कार्यसूचीअन्तर्गत कक्षा ५ सम्मका औपचारिक परीक्षाहरू अन्त्य गर्ने नीतिगत निर्णयसँगै यो मार्गदर्शन कार्यान्वयनमा आउनुले नेपाली शिक्षा क्षेत्रलाई बालकेन्द्रित, आधुनिक र व्यावहारिक दिशातर्फ मोडेको छ।

कक्षा ४ र ५ मा शतप्रतिशत निर्माणात्मक तथा सिकाइका लागि मूल्याङ्कन  मूल्याङ्कन पद्धति अपनाउनुको मुख्य उद्देश्य विद्यार्थीको परीक्षा लिई अङ्क दिनु मात्र नभई, शिक्षण सिकाइ प्रक्रियाकै अभिन्न अङ्गका रूपमा मूल्याङ्कनलाई जोडेर विद्यार्थीको निरन्तर सिकाइ सुधार सुनिश्चित गर्नु हो। कक्षाकोठामा आधारित निरन्तर मूल्याङ्कन, वैयक्तिक कार्यसञ्चयिका (Portfolio) को प्रयोग, रुब्रिक्स, रुजुसूची, अवलोकन तथा परियोजना कार्य जस्ता बहुविधि साधनहरूको प्रयोगले विद्यार्थीका ज्ञान, सिप, अभिवृत्ति र व्यवहारकुशल सिपको बहुआयामिक लेखाजोखा गर्न सम्भव बनाउँछ। अझ महत्त्वपूर्ण कुरा, यस प्रणालीले कमजोर सिकाइस्तर (स्तर १ र २) भएका विद्यार्थीहरूलाई समयमै पहिचान गरी सुधारात्मक र उपचारात्मक शिक्षणमार्फत कम्तीमा स्तर ३ वा ४ सम्म पुर्‍याउने अवसर प्रदान गर्दछ। यसले गर्दा कुनै पनि बालबालिका सिकाइमा पछाडि पर्ने जोखिम कम हुन्छ।

यसै गरी, अपाङ्गता भएका बालबालिकाका लागि उनीहरूका आवश्यकता अनुसारका वैकल्पिक मूल्याङ्कन साधनको व्यवस्था गरिनुले शिक्षामा समता र समावेशी सिद्धान्तलाई मजबुत बनाएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबिचको नियमित संवाद र त्रैमासिक छलफलले बालबालिकाको सिकाइप्रति तीनै पक्षलाई जिम्मेवार र उत्तरदायी बनाउँछ। अन्ततः, निरन्तर तथा सिकाइका लागि मूल्याङ्कनका आधारमा प्राप्त प्राप्ताङ्कलाई लेटर ग्रेडिङ निर्देशिका २०८३ अनुसार ग्रेड र GPA मा रूपान्तरण गरी वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने स्पष्ट र गणितीय प्रणालीले मूल्याङ्कनको अभिलेखीकरणलाई अत्यन्तै पारदर्शी, वैज्ञानिक र प्रमाणमा आधारित बनाएको छ।

यद्यपि, यो मार्गदर्शनको सफल कार्यान्वयन केवल नीति र ढाँचामा मात्र सीमित रहन सक्दैन। यसका लागि शिक्षकहरूको क्षमता विकास, कक्षाकोठामा कार्यसञ्चयिका (Portfolio) को कुशल व्यवस्थापन, विद्यालय व्यवस्थापनको सक्रियता र अभिभावकहरूको सचेतना उत्तिकै अपरिहार्य छ। शिक्षकहरूलाई मूल्याङ्कनका आधुनिक साधन र रुब्रिक्स निर्माणमा तालिम दिँदै मूल्याङ्कनलाई सिकाइ उपलब्धिमा आधारित बनाई सिकाइलाई परीक्षाको डरबाट मुक्त बनाउन सकेमा मात्र यस मार्गदर्शनको वास्तविक उद्देश्य हासिल हुन सक्छ। निष्कर्षमा, कक्षा ४-५ मा लागू गरिएको यो मूल्याङ्कन प्रणालीले बालबालिकाको सर्वाङ्गीण विकास, सुनिश्चित सिकाइ वातावरण र जगैदेखि गुणस्तरीय शिक्षाको आधारशिला खडा गर्न अभूतपूर्व योगदान पुर्‍याउने निश्चित छ ।

(लेखक युवराज अधिकारी, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हुन् ।)