काठमाण्डौ/१० साउन – त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनेटमा आउट भएपछि त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिलाई सत्यतथ्य पत्ता लगाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको हो ।
गएको शुक्रवार अर्थात् साउन ८ गते भएको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरू भएको ५ मिनेटमै ‘एमबीएस फस्र्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो ।
यसैगरी साइबर ब्युरोले प्रश्नपत्र पठाउने ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ परेको छ । स्क्रिनशट अनुसार ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधानसमेत मागेका थिए ।
व्यवस्थापन सङ्काय डीनको कार्यालयले अनुसन्धान र कारबाहीका लागि हिजो शनिवार नै साइबर ब्युरोमा पत्राचार गरेको थियो ।



