राष्ट्रिय गणितीय हाजिरी जवाफमा पोखराको मदरल्याण्ड स्कुलका विद्यार्थी विजयी

काठमाडौँ/६ बैशाख – गणित शिक्षा परिषद्ले सञ्चालन गरेको पहिलो माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


गणितीय हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीमा गणितप्रतिको रुचि बढाउने, आत्मविश्वासी बनाउने र बौद्धिक क्षमताको अभिवृद्धि गर्न सहयोग पु¥याउने उदेश्यले आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगिता शनिवार काठमाडौँको बालकुमारी स्थित ट्रिटन कलेजको हलमा सम्पन्न गरिएको हो ।

माघको पहिलो हप्ता देखि सञ्चालन गरिएको प्रतियोगिता देशका अधिकांश जिल्लाहरूमा सञ्चालन गरि प्रदेशस्तर र अन्त्यमा केन्द्रमा स्टेज अन क्विजको आधारमा सञ्चालन गरिएको परिषद्ले जनाएको छ ।


गणितीय हाजिरी जवाफ प्रतियोगितामा अन्तिम ६ टिमले उत्कृष्टता प्रस्तुत गर्दै सहभागी भएकोमा पोखराको मदरल्याण्ड सेकेण्डरी स्कुलका सुरज पौडेल र संकल्प पौडेल १२८ अंकसहित विजयी हुन सफल भएका छन् । यसैगरी काठमाडौँको बुढानीलकण्ठ स्कुलका इसान सुवेदी र अइलेस ढकालले १२० अंकले दोस्रो स्थान प्राप्त गरे भने धनगढीको एरिस्टो इंलिस बोर्डिङ स्कुलका आदर्श लम्साल र विधि भण्डारीले ११५ अंक जोड्दै तेस्रो स्थान हात पारे ।


विजयी टिमहरूलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कारसहित कप मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । साथै प्रदेशबाट छनोट भई राष्ट्रिय स्तरमा सहभागी हुने सबै विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले विद्यार्थीलाई गणित विषय प्रतिको रुची बढाउने उदेश्यले देशव्यापी रूपमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा यसको विस्तार गरिने बताए ।


त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा परिषद्का पूर्व अध्यक्ष हिरा महर्जनले गणित हाजिरी जवाफ प्रतियोगितालाई सबैको रुची बढाउने गरी हरेक वर्ष आयोजना गर्दै लैजान सुझाब दिए । उनले अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागिता हुनेगरी प्रतियोगिताको विकास गर्नुपर्नेमा जोड्दिए ।


कार्यक्रमका प्रमुख अतिथि तथा विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. ज्ञान बहादुर थापाले गणित शिक्षा कठिन नभई निरन्तर प्रयोगले जीवनलाई सहज बनाउने धारणा व्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीलाई गणित प्रति रुची जगाउने धारणा राखे ।

प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूले मात्र भाग लिन पाउने नियम राखिएको थियो । साथै सम्मिलित प्रश्नहरू कक्षा ९ र १० को गणित (अनिवार्य र ऐच्छिक)लाइ मुख्य आधार मानिएको र विभिन्न आइक्यु प्रश्न, दैनिक जीवनमा प्रयोग हुने गणितीय समस्याहरू, वैदिक गणितसँग सम्बन्धित प्रश्नहरू, स्याट र जिआरईमा सोध्न सकिने प्रश्नहरू समावेश गरिएको परिषद्ले जनाएको छ ।