काठमाडौं/२४ फागुन – महिलालाई पनि पुरुष सरह समान अधिकार हुनुपर्ने महिला शिक्षकहरूले जोड् दिएका छन् । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शनिवार महिला शिक्षक समाजले आयोजना गरेको कार्यक्रममा घरदेखि कार्यालयसम्म नारी पुरुष दुबैले एक अर्कालाई सहयोग गरे सफल हुन सकिने बताउँदै लैङ्गिक विभेदको अन्त्य हुनुपर्ने बताएका हुन् ।
समाजकी केन्द्रीय अध्यक्ष डा। जानुका नेपालले महिला शिक्षाको आवश्यकतालाई जोड्दिँदै समुदायलाई समेत सचेत गराउनुपर्ने बताइन । उनले शिक्षामा महिला तथा बालबालिकाको गुणात्मक वृत्ति विकासका लागि २०६४ सालमा समाजको स्थापना गरिएको जानकारी दिँदै शैक्षिक, सामाजिक लगायत पक्षमा महिला सक्षम हुनुपर्ने बताइन ।

ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमालले लैङ्गिक विभेदका कारण ल्याइएको नारी दिवससँगै नारी पुरुष दुबैले चुलो चौका देखि हरेक कुरामा साथ सहयोग भए सबै महिला सफल हुनेमा जोड् दिइन ।
बालविशेषज्ञ सानु अमात्यले संसारमा परिवर्तनको संवाहक भनेकै शिक्षा रहेकोले कहिलेै आफूले आफूलाई सानो नसम्झन उपस्थित शिक्षकहरूलाई उत्प्रेरणा दिइन । शिक्षण सिकाईमा रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यो महिला शिक्षकबाटै हुन सक्ने धारणा व्यक्त गरिन ।
कार्यक्रम राष्ट्रिय परीक्षा बोर्डकी सह सचिव जयन्ती सत्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । साथै महिला प्रधानाध्यापकहरू, सहायक प्र।अ।, महिला शिक्षकहरूको उपस्थिति रहेको थियो ।



