काठमाडौँ /१६ फागुन – निर्वाचनका समयमा बालबालिकाहरूको दुरुपयोग गरिएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सनले) आपत्ति जनाएको छ ।
निर्वाचनको समयमा सामाजिक सञ्जालहरूमा, नेताहरू र उम्मेदवारहरूको सम्मानमा, नारा जुलुसहरूमा, राजनीतिक गतिविधिमा कसैको पक्षपोषण गर्नका निम्ति, भ्रामक समाचार र सनसनीपूर्ण समाचारमा बालबालिकाको प्रयोग भएको भन्दै यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको हो ।
यसैगरी फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा झन्डै ८६ प्रतिशत मतदान केन्द्र विद्यालयमै रहनुले विद्यार्थीहरू लामो समयसम्म शिक्षण सिकाइबाट वञ्चित रहने र निर्वाचन सम्पन्न भैसकेपछि मतदान केन्द्र रहेका विद्यालयहरूको सरसफाइमा ध्यान नजाने लगायतका विषय अशोभनीय र बालबालिकाको नैसर्गिक अधिकार विरुद्धका गतिविधिहरू भएको एन प्याब्सनको भनाई छ ।
यस्ता गतिविधिहरू फेरिपनि नदोहोरिनका लागि र निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गरी मर्यादित, व्यवस्थित र अनुशासित ढंगले निर्वाचन सम्पन्न गर्नमा सबैमा अपिल गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “विद्यालय शान्ति क्षेत्रको प्रतिबद्धता सबै पक्षबाट भएतापनि फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा झन्डै ८६ प्रतिशत मतदान केन्द्र विद्यालयमै रहनुले, विद्यार्थीहरू लामो समयसम्म शिक्षण सिकाइबाट वञ्चित रहने र निर्वाचन सम्पन्न भैसकेपछि मतदान केन्द्र रहेका विद्यालयहरूको सरसफाइमा ध्यान नजानु, सामाजिक सञ्जालहरूमा बालबालिकाको प्रयोग हुनु, नेताहरू र उम्मेदवारहरूको सम्मानमा बालबालिका प्रयोग हुनु, नारा जुलुसहरूमा बालबालिकाको प्रयोग हुनु, राजनीतिक गतिविधिमा कसैको पक्षपोषण गर्नका निम्ति, भ्रामक समाचार, सनसनीपूर्ण समाचारमा बालबालिकाको प्रयोग हुनु, यी सबै अशोभनीय र बालबालिकाको नैसर्गिक अधिकार विरुद्धका गतिविधिहरू भएकाले यस्ता गतिविधिहरू फेरिपनि नदोहोरिनका लागि र निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गरी मर्यादित, व्यवस्थित र अनुशासित ढंगले निर्वाचन सम्पन्न गर्नमा सबैको महत्वपूर्ण योगदानको हार्दिक अपिल गर्दछौ ।”



