रवि लामिछानेको शिक्षकलाई प्रश्न : ३५ वर्ष भोट मात्रै लुटेर गएकाहरूले हकहित संरक्षण गरे ?

काठमाडौँ /१२ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले शिक्षकहरूलाई राजनीतिक गतिविधि तथा पेसागत संगठनको चिन्ता भन्दा कक्षाकोठाको चिन्ता गर्न आग्रह गरेका छन् ।
मंगलबार इटहरीमा आयोजित चुनावी प्रचारसभालाई सम्बोधन गर्दै उनले रास्वपाको चुनावी वाचापत्रलाई लिएर शिक्षकहरू संगठित भएको, पेसागत संगठन संकटमा पर्यौ भनेको र पेसागत संगठन खारेज गर्न पाईदैन भन्ने कुराहरू गरेको सुनिएकोले पेसागत संगठन खारेज नहुने स्पष्ट पारेका हुन् ।


उनले शिक्षकहरूको सुरक्षा रास्वपाको नेताले नगर्ने रास्वपाको नीतिले गर्ने तथा शिक्षा नीतिले गर्ने उल्लेख गर्दै देशका विद्यार्थीलाई अब्बल शिक्षा कसरी दिने, हरेक कक्षाकोठा र हरेक विद्यार्थीको भविष्य कसरी बनाउने र स्मार्ट कक्षाकोठा बनाउने योजनामा लाग्न आग्रह गरेका छन् ।


उनले भने “शिक्षक साथीहरू पनि संगठित भएको सुनियो, पेसागत संगठन संकटमा पर्यौ, पेसागत संगठन खारेज गर्न पाईदैन भन्ने कुराहरू गरेको सुनियो, चिन्ता नगर्नुहोस तपाईँहरू स्मार्ट कक्षाकोठा कसरी बनाउने हो त्यसको योजना बनाउनुहोस, राजनीतिको ठेक्का हामीलाई दिनुहोस । यो देशका विद्यार्थीलाई अब्बल शिक्षा कसरी दिने, हरेक कक्षाकोठा र हरेक विद्यार्थीको भविष्य कसरी बनाउने हो सोच्नुहोस । तपाईको सुरक्षा रास्वपाको नेताले गर्दैन रास्वपाको नीतिले गर्छ, शिक्षा नीतिले गर्छ, विद्यार्थीको भविष्य तपाई बनाउनुहोस ।”


यसैगरी राजनीतिक दलका रूपमा भातृसंगठन वर्जित गरेको तर अधिकारबाट वञ्चित बनाउन नखोजेको उनको भनाई छ । राजनीतिक दलहरूले ३५ वर्षसम्म भोट बैँक बनाएको आरोप लगाउँदै भोट मात्रै लुटेर गएकाहरूले हकहित संरक्षण गरेकी गरेनन छोराछोरीको अनुहार हेरेर आफैले आफैलाई जवाफ दिन आग्रह गरे ।


“हामी थिति बसाल्न आएका हौ, त्यसैले मजदुर, विद्यार्थी, शिक्षक कसैले पनि चिन्ता गर्नु पर्देन । कर्मचारीमा पनि कता कता ट्रेड युनियन खारेज हुने भयो भनेर यो हुदैन भनेर विरोध गर्ने कुराहरू हामीले सुनेका छौँ । कसैले विरोध गर्नै पर्दैन तपाईको रक्षा हिजोसम्म कुनै पार्टी वा नेताले गरेको थियो होला, कुनै पनि नेता र पाटीले कुर्नै पेसाकर्मीलाई रक्षा गर्न पर्दैन देशको नीतिले रक्षा गर्छ, नेताले होइन विधिको शासनले स्थापित हुन्छ हामी त्यही गर्न चाहन्छौँ “उनले भने ।