एमालेको घोषणापत्रमा शिक्षा : शिक्षामा समान पहुँच सुनिश्चित गर्ने

काठमाडौँ /७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विद्यालय शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन जारी गर्ने घोषणा पत्र सार्वजनिक गरेको छ । “गुणस्तरीय शिक्षा, उन्नत प्रविधि – ज्ञानयुक्त नागरिक, देशका निधि ” नारासहित बिहीबार सार्वजनिक गरिएको घोषणा पत्रमा विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्व–प्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।


सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउँदै उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय सामथ्र्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ शिक्षा क्षेत्रलाई अभिमुख गर्ने उल्लेख गरिएको छ ।


यसैगरी शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्दै उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा आकर्षित गर्ने योजना बनाएको छ । विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई उत्तरदायित्वसहित स्वायत्त संस्थाको रूपमा विकास गर्ने सार्वजनिक गर्ने योजना रहेको घोषणा पत्रमा समावेश गरेको छ ।


हेर्नुहोस घोषणा पत्र


“गुणस्तरीय शिक्षा, उन्नत प्रविधि – ज्ञानयुक्त नागरिक, देशका निधि”
सामुदायिक विद्यालयको र्शक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउँदै उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय सामथ्र्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ शिक्षा क्षेत्रलाई अभिमुख गर्नेछौँ ।


विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्व–प्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्नेछौं । आर्थिक, भौगोलिक वा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिका विद्यालय शिक्षाबाट र किशोर–किशोरी प्राविधिक वा उच्च शिक्षाबाट बञ्चित हुने अवस्था अन्त्य गर्नेछौं ।


शिक्षा प्रणालीलाई भर्ना र परीक्षाकेन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशीलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोंच र राष्ट्रिय सामथ्र्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ अभिमुख गर्नेछौं । यसका लागि समसामयिक, व्यवहारिक, नैतिक, राष्ट्रभक्तिमूलक र डिजिटल – मैत्री पाठ्यक्रम तथा शैक्षिक सामग्री विकास गर्नेछौं ।


शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्दै उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा आकर्षित गर्नेछौं ।


विद्यालय शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन जारी गर्नेछौं । विश्वविद्यालयमा देखिएका बेथितिको अन्त्य गर्दै प्राज्ञिक स्वायत्तता कायम गर्ने छौं ।


शैक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउँदै विद्यालयमा सुरक्षित वातावरण, प्रयोगशाला, पुस्तकालय, खानेपानी, स्वास्थ्य, सरसफाइ, पोषणयुक्त दिवा खाजा तथा विश्वस्तरको सिर्जनात्मक र व्यावसायिक अध्ययनको व्यवस्था गर्नेछौं । विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई उत्तरदायित्वसहित स्वायत्त संस्थाको रूपमा विकास गर्नेछौं ।


राष्ट्रिय क्षमता, क्षेत्रगत आवश्यकता र अन्तर्राष्ट्रिय प्रवृत्तिका आधारमा प्राविधिक र साधारण शिक्षाको सन्तुलन मिलाउँदै मानव पूँजी निर्माण गर्नेछौं । विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई गर्न सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रको सहकार्यमा विज्ञान पार्क, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र, इन्क्युबेसन सेन्टर तथा ग्रामीण नवप्रवर्तनशाला स्थापना गर्नेछौं । शिक्षा अनुसन्धान– उद्यमशीलताको सम्बन्ध सुदृढ गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेछौं ।


आधुनिक शिक्षासँगै नेपालको मौलिक शिक्षाको पुनर्जागरण गर्दै नेपाललाई शान्ति अध्ययन, योग, आयुर्वेद, ध्यान, मानसिक स्वास्थ्य र पूर्वीय दर्शनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नेछौं ।


शिक्षा, विज्ञान र प्रविधिमा नीति, पूर्वाधार, लगानी, सुशासन र नवप्रवर्तन केन्द्रित योजनाहरू कार्यान्वयन गर्दै शैक्षिक क्यालेन्डरको पालना, रोजगारमुखी प्राविधिक शिक्षा र “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै” कार्यक्रममार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउनेछौं ।

विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालय गाभ्ने, शिक्षक दरबन्दी मिलान गर्ने, आवासीय व्यवस्था गर्ने तथा छात्रवृत्ति र सहुलियत कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउनेछौं । उच्च शिक्षामा अनुसन्धान तथा विकासमा राज्यको लगानी बढाई ’विश्वविद्यालय – उद्योग सहकार्य’ विस्तार गर्नेछौं ।


प्रविधि दक्षता, नैतिकता, देशभक्ति, उत्त।दायित्व र सामाजिक जिम्मेवारिबोधसहित गुणवान् नागरिक उत्पादन गर्ने समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली स्थापना गर्नेछौँ ।