कांग्रेसको शिक्षामा प्रतिज्ञा : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपालको निर्माण

काठमाडौँ /६ फागुन – नेपाली कांग्रेसले छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपालको परिकल्पनासहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ । जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्रमा परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मानिने उल्लेख छ ।


यसैगरी शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुने, आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुन नपर्ने र शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्ने उल्लेख गर्दै राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिने प्रतिज्ञा गरेको छ ।


प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र निर्माण गरिने पार्टीको योजना छ ।


हेर्नुहोस भिजन


छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल


हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन ।


शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन् । प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् ।


जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ ।