काठमाडौं /२७ पुष – विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा रहेको द ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न विद्यार्थी संगठनले माग गरेका छन् । शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाएको, अत्यधिक शुल्क असुलेको, फरक पाठ्यक्रम पढाएको र भर्ना गरिएका विद्यार्थीहरूलाई यूएईमा अलपत्र पारेको भन्दै १२ वटा विद्यार्थी संगठनले माग गरेका हुन ।
उनिहरुले पीडित विद्यार्थीहरूलाई यथाशीघ्र न्याय दिन र विद्यार्थीहरुमाथि ठगीधन्दा चलाउने ब्रिटिश कलेजको अनुमति रद्द गरी विद्यार्थी ठग्ने धन्धामा संलग्न सबैलाई यथाशीघ्र कडा कानुनी कारवाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायसँग विज्ञप्ति मार्फत माग गरेका छन् ।
अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, अखिल नेपाल विद्यार्थी फेडेरेसन, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अखिल पाँचौं र अखिल नेपाल विद्यार्थी युनियनले कलेज प्रशासनले विभिन्न हर्कत बन्द नगरे कडा प्रतिरोध गर्ने उनिहरुको चेतावनी छ ।
संयुक्त विद्यार्थी संगठनहरूले आइतबार विज्ञप्ति जारी गर्दै पटक–पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीहरूलाई न्याय दिन दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा ब्रिटिश कलेजका सञ्चालकले विद्यार्थीहरूमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भइरहेकोले यस्तो हर्कत गर्ने ब्रिटिश कलेजको अनुमति रद्द गरी ठगीधन्दामा संलग्नलाई कानुनी कारवाही गर्नु पर्ने बताउका छन् ।




