काठमडौँ /१४ पुष – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययनमा गएका विद्यार्थी ठगिएको तथा विभिन्न समस्यामा परेको भन्दै स्वीकृति प्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभिन्न संस्थाको परामर्शमा गएका विद्यार्थीहरु शिक्षण संस्था नहुने, तालिम केन्द्रलाई शिक्षण संस्थाका रुपमा पहिचान गरिने तथा सम्बन्धित देशबाट औपचारिक रुपमा शिक्षण संस्थाको मान्यता नपाएको संस्थाका नाममा अफर लेटर झिकाएर अध्ययनमा पठाएका कारण विद्यार्थी ठगिने गरेको भन्दै सो निर्देशन दिएको हो ।
मन्त्रालयले विद्यार्थी तथा अभिभावकहरूले परामर्श सेवा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरूबाट मात्र सेवा लिन, त्यस्तो परामर्श सेवा उपलब्ध गराउँदा अफर लेटर प्राप्त संस्थाको सरकारी आधिकारिकता जाँच गर्न र गलत वा भ्रामक सूचना वा विज्ञापन नगर्न सूचना मार्फत सचेत गराएको छ ।
वैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा पुगेका विद्यार्थी तथा नागरिकबाट आफ्ना समस्या दर्शाउँदै गुनासो गरेको मन्त्रालयले जनाएको छ ।



