काठकाडौँ /८ पुष – काठमाडौं महानगरपालिकाले नगर शिक्षा समितिले स्थलगत अनुगमनका क्रममा नदेखिएका विद्यालयको अनुमति खारेज गर्ने भएको छ । विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन भन्दै ताकेता गरेको हो ।
प्रकाशित सूची बमोजिमका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक/सञ्चालक/व्यवस्थापक र गुठीयारले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गरी सोको पुष्टि गर्न भनिएको छ ।
“महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको छ” सूचनामा भनिएको छ । अनुगमनका क्रममा १०७ विद्यालय फिल्डमा नदेखिएको समितिले जनाएको छ ।
सम्पर्कमा नआए काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने सूचनामा उल्लेख छ ।



