गुल्मी/१७ भदौ – एक जना विद्यार्थीले गृहकार्य नगरेका कारण अपहरणमा नाटक गरेको पाइएको छ । गुल्मीको मदाने गाउँपालिका ६ पुकोट दहमा रहेको श्री पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीले तर्साउने तथा अपहरणको घटना वास्तविक नभई गृहकार्य नगरेका कारण सो बहाना गरेको पाइएको हो ।
मंगलबार विद्यालयका विभिन्न कक्षाहरूमा अध्ययन गर्ने ८ जना छात्रा छात्रहरूलाई अपरिचित ब्यक्तिहरूले विद्यालय आउने क्रममा बाटोमा तर्साइ १ जना कक्षा ७ मा अध्ययन गर्ने भुवन कुँवरलाई अपहरण गरेको भन्ने खबर सोही मध्येका ७ जनाले स्थानीय बासिन्दाहरूलाई गरेका थिए ।
स्थानीय बासिन्दाले विद्यालयमा जानकारी दिएको र विद्यालयले इलाका प्रहरी कार्यालय पुर्कोट दहलाई खबर गरी इलाका प्रहरी कार्यालय, विद्यालय परिवार, गाउँपालिका परिवार, स्थानीयवासी, पत्रकार लगायत सम्पूर्ण सोही स्थानमा पुगी अपहरणमा परे भनिएका छात्रलाई कुनै स्थानमा लुकी बसेको फेला पारेको विद्यालयले जनाएको छ ।
प्रहरी, विद्यालय र अभिभावकहरूले सोधपुछ गर्दा उक्त तर्साउने तथा अपहरणको घटना वास्तविक नभई गृहकार्य नगरेको कारण सो बहाना पारिएको कुरा प्रस्ट भएको विद्यालयको भनाई छ । (प्रयोग गरिएको फाइल फोटो हो ।)




