भक्तपुर/३१ असार – नेसनल प्याब्सन भक्तपुरले सदस्य विद्यालयबाट एसईई उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा ४ जिपिए ल्याउने नेसनल प्याब्सन भक्तपुरका सदस्य विद्यालय सेकरिड् हार्ट स्कुलको प्रिन्स लामा तामागं र ईडेन गार्डेन स्कुलकी सुप्रिया चौंलागाईँ सहित भक्तपुर जिल्लाभरीबाट ४ जिपिए ल्याउने ३० जना र अन्य सबै विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको हो ।
साथै २०८१ को एसईईमा सत् प्रतिशत उत्तीर्ण गराउने र औसत भन्दा माथि उत्कृष्ट नतिजा ल्याउने स्कुललाई पनि बधाई एवं सम्मान गरिएको थियो । विद्यालयगत उत्कृष्ट विद्यार्थी र कक्षा ८ को बिएलई–२०८१ मा उत्कृष्ट १० स्थानमा पर्ने विद्यार्थीहरूलाई पनि बधाई एवं सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नेसनल प्याब्सन भक्तपुरले गरेको सम्मानले विद्यार्थीहरूका लागि थप हौसला प्रदान गर्ने बताए ।
एनप्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सबैतिर ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई मात्र बधाई एवं सम्मान भइरहेको अवस्थामा अन्य उत्तीर्ण विद्यार्थीहरूको मिहिनेत पनि उत्तिकै रहेको र उनीहरू पनि यो देशका मेरुदण्ड रहेकोले आफ्ना सदस्य विद्यालयबाट एसईई उत्तीर्ण सबै विद्यार्थीहरूलाई बधाई एवं सम्मान गरिएको बताए ।



