काठमाडौँ /२९ जेठ – नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले शिक्षकहरूका जायज माग पुरा गर्न सरकारसँग पहल गर्ने बताएका छन् । बिहिवार काठमाडौँमा सम्पन्न नेपाल शिक्षक संघको २४औं सङ्घीय प्रतिनिधि सभामा सभापति देउवाले आर्थिक अवस्था कमजोर भए पनि जायज माग पुरा गर्न आफूले सरकारसँग कुरा गर्ने बताएका हुन् ।
सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्था कमजोर भए पनि महँगी बढेका कारण शिक्षकहरूको तलबले जीवनयापन गर्न गाह्रो भएको भन्दै तलब वृद्धि गर्न आफूले सरकारसँग पहल गर्ने बताउनुभयो ।
शिक्षकहरूले आन्दोलन गरेको र आन्दोलनका मागहरू पुरा हुन बाँकी रहेको उल्लेख गर्दै शिक्षकहरूको तलब मात्रै नभएर शिक्षकहरूको पोर्टोकलको पनि ठुलो माग रहेको उनले बताए । ‘शिक्षकहरूले धेरै पढाएका छन्, दुःख गरेका छन्, त्यही पनि पोर्टोकलमा उनिहरू तल छन्, अर्को तिर तलबको कुरा पनि छ । नेपालको अर्थतन्त्रले पनि धान्न पर्यो, अर्थमन्त्री भन्छन पैसा छैन, सबलाई तलब बढाउन पर्याछ । वास्तवमा भन्ने हो भने यसले पुग्दैन, महँगी बढेको छ , तलबले पुग्दैन यसैले एउटा बाटो निकाल्नु पर्छ । म पनि सरकारसँग कुरा गरौँला’ उनले भने ।
शिक्षकहरूका जायज मागहरू केही हदसम्म भएपनि पुरा गर्न विश्वास लिएको उनको भनाई थियो । विद्यार्थीहरूलाई पनि शिक्षा दिनुपर्ने आवश्यकता एकातिर रहेको र अर्को तिर आफ्नै र आफ्नो परिवारको पेट पाल्नुपर्ने भएकोले त्यति सजिलो नभएको बताए । शिक्षकहरूमा धेरै ठुलो जिम्मेवारी भएपनि कति कुराहरू अहिले होला नहोला त्यै पनि शिक्षकहरूका मागका सम्बन्धमा सरकारसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अहिलेको आर्थिक अवस्थालाई ध्यानमा राखेर शिक्षकका मागहरू पुरा गर्न लागिरहने र सरकारसँग कुरा राख्ने बताए ।



