इसिडी र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक तोकिएको हो : शिक्षामन्त्री

काठमाडौँ /१६ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले इसिडी शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक १७ हजार ७ सय बनाइएको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण मार्फत १० अर्ब १६ करोड रकम विनियोजन गरेको सन्दर्भमा बोल्दै सो कुरा जनाएका हुन् ।


मन्त्री पन्तले खबर एजुकेशनसँग कुरा गर्दै सङ्घीय सरकार र स्थानीय तहको साझेदारीमा लागु हुने गरी बजेट मार्फत उक्त व्यवस्था गरिएको बताए । उनले भने ‘इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब १७ हजार ७ सय बनाउने गरी तोकिएको हो । सबै पक्ष मैले बुझ्न भ्याएको छैन । यसबारे अझै प्रस्ट अर्थ मन्त्रालयले गर्ला, तर मैले बुझे अनुसार १७ हजार ७ सय तोकिएको हो ।


विद्यालय कर्मचारीमा पनि लेखापाललाई फरक हो की एउटै हो ? भन्ने प्रश्नमा त्यसमा फरक नगरिएको र न्यूनतम पारिश्रमिक १७ हजार ७ सय तोकिएको बताए । साथै नेपाल शिक्षक महासङ्घसँग बैशाख १७ गते गरिएको ९ बुँदे प्रतिबद्धता अनुसार पारिश्रमिक निर्धारण गरिएको उनको भनाई छ ।


सरकार र शिक्षक महासङ्घसँग भएको ९ बुँदे प्रतिबद्धतामा प्रारम्भिक बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने भनिएको छ ।


अर्थमन्त्री विष्णु पौडेलले बिहिवार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण मार्फत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकममा वृद्धि गरिएको जनाएका थिए । अनुदान रकमका लागि १० अर्ब १६ करोड विनियोजन गरिएको छ ।