सरकारले बालहठ त्यागेर शिक्षक र विद्यार्थीलाई जिताउन आवश्यक छ : सापकोटा

काठमाडौं/१४ बैशाख – नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले सरकारले हारेर भएपनि शिक्षक र विद्यार्थीलाई जिताउन आवश्यक रहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षक आन्दोलनका कारण लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा रहेकोले यस प्रति सरकार गम्भीर हुन आवश्यक रहेको बताउका हुन् ।


उनले सरकार हारेर शिक्षक विद्यार्थी अभिभावक र सिङ्गो देशलाई जिताउने दिशातिर सरकार जानुपर्नेमा जोड् दिँदै अहिले माननीयहरू र सरकारका नेतृत्वको कुरा सुन्दा बालहठ भइराखेको बताए ।


उनले भने ‘म सम्माननीय सभामुख मार्फत अनुरोध गर्न चाहन्छु सरकारले आफ्नो बालहठ छोडेर केही पराजयहरू विजय भन्दा महत्वपूर्ण हुन्छन् भन्ने कुरालाई गम्भीरतापूर्वक लिएर सरकार हारोस् । अभिभावक विद्यार्थी समग्र र सिङ्गो देशले जित्ने एउटा वातावरण बनाओस् र शिक्षक आन्दोलनलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गरोस् भन्ने कुरा निकै जोड दिएर एकपटक फेरि भन्न चाहन्छु ।’


प्रचण्ड नेतृत्वकै सरकारका बेलामा विद्यालय शिक्षा विधेयकलाई संसदमा पु¥याइएको र शिक्षकहरूले असन्तुष्ट व्यक्त गरेपछि उहाँहरूका माग मुद्दाहरुलाई समेत सम्बोधन गरेर विधेयकको अंग बनाएर सरकार अगाडि जान तयार भएको स्मरण गरे । ‘यी कुराहरूलाई छोप्न कोसिस नगरौ र बरु आज सरकारले त्यो असक्षमता प्रस्तुत गरिराखेको छ । यसलाई गम्भीरतापूर्वक ख्याल गरौँ ‘उनको भनाई थियो ।


सभामुख मार्फत सरकारलाई अनुरोध गर्दै शिक्षकको आन्दोलनका कारण लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा रहेको, कक्षा १२ को परीक्षा सरेको, एसइईको परीक्षा पत्र जाँच गर्न पर्नेमा त्यत्तिकै रहेकोले यस्तो स्थितिमा सरकार हारेर शिक्षक विद्यार्थी अभिभावक र सिङ्गो देशलाई जिताउने दिशातिर सरकार जानुपर्ने बताए ।