हरेक विषम परिस्थितिमा राष्ट्रलाई सहयोग गर्न प्याब्सन तत्पर छ


टीका राम पुरी
अध्यक्ष
प्याब्सन, केन्द्र

चीनको हुबे प्रान्तको ऊहान सहरबाट फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिले सम्म ५९ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन् भने विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार संसारभर ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट संक्रमित छन् । नेपाल सरकारले पनि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपालमा चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको छ । लकडाउनका कारण विद्यालयहरु बन्द छन् । विद्यालय बन्द हुँदा विद्यालय जाने उमेरका करिब ७० लाख बालबालिका विद्यालय जान बाट वञ्चित भएका छन् ।


यति वेला सम्पूर्ण अभिभावक, विद्यार्थी शिक्षक शिक्षिका लगायत सम्पूर्ण कोरोना भाइरसको प्रकोपका कारण हामी सबै आ–आफ्ना घरमा लकडाउन भएर बसेको अवस्था छ । यस्तो परिस्थितिमा हामी सबै एक भएर अगाडि बढ्नु पर्ने अवस्था आएको छ ।


निजी विद्यालयहरुको छाता संगठन प्याब्सन नेपालको पूरानो र नेपालको ठूलो शैक्षिक छाता संगठन हो । हामी विगत लामो समयदेखि शिक्षा क्षेत्रमा लागिरहेका छौं । शिक्षा क्षेत्रमा आफ्नो पेशागत हकहितका लागि मात्र नभएर नेपालमा पर्दै आएको अप्ठेरो अवस्था वा प्राकृतिक प्रकोपको बेलामा नेपाल र नेपाली जनताप्रति जहिले पनि हातेमालो गर्दै सकेको सहयोग पनि गर्दै आएका छौं । चाहे बाढी पहिरो होस्, चाहे त्यो भूकम्पको बेलामा होस् । जस्तोसुकै विषम परिस्थितिमा पनि हामी राष्ट्र र राष्ट्रियताप्रति सहयोग गर्न तत्पर रहेका छौं ।


अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को माहामारी छ । विश्व रोहिरहेको बेला यो माहामारीबाट हाम्रो देश पनि अलग रहन सकेको छैन । आजको दिन सम्ममा नेपालमा कोरोना भाईरसबाट ९ जना संक्रमित भएको अवस्था छ । यस्तो अवस्थामा प्याब्सनले वा निजी विद्यालयहरुले देश र समाजप्रति आफ्नो उत्तरदायित्व बहन गर्न कुनैपनि कसरत बाँकी राख्ने छैनन् । हामीले विगत देखिनै यस्तो विषम अवस्थामा आफ्नो भूमिका निर्वाह गर्दै आएका छौं । यसपटक पनि यस्तो अवस्थामा हामी सहयोग गर्न तयार छौं ।


हामीले आवश्यक परेको खण्डमा हाम्रा विद्यालयहरु आइसुलेशन वा क्वारेन्टाइनको रुपमा प्रयोग गर्नका लागि नेपाल सरकारलाई पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म वा सातै वटा प्रदेशमा रहेका हाम्रा विद्यालयको सूची पठाई सकेका छौं । जसमा १६ हजार ३ सय ५२ वटा कक्षाकोठा प्रारम्भिक चरणमा प्रयोग गर्न सकिने नेपाल सरकारलाई जानकारी गराएका छौं । यो प्रारम्भिक मात्रा हो । पछि अझ धेरै आवश्यकता पर्छ भने पनि हामी थप कक्षाकोठा उपलब्ध गराउन सक्छौं ।
साथै, यति मात्र नभएर क्वारेन्टाइनमा वा आइसुलेसनमा रहेका व्यक्तिहरुलाई उपचार गर्न, स्वास्थ्य उपकरण खरिद गर्न र औषधी खरिदका लागि आवश्यक आर्थिक सहयोग गर्न हामी तयारी अवस्थामा रहेका छौं । हामीले यो अवस्थामा हाम्रा केन्द्रीय कार्य समिति, पदाधिकारी, केन्द्रीय सदस्यहरु, सल्लाहकारहरु, प्रदेशका विभिन्न तहका पदाधिकारी तथा सल्लाहकारहरु, सदस्यहरु, जिल्ला र पालिका सम्मका सम्पूर्ण हाम्रा साधारण सदस्यहरुसम्म पत्रचार गरिसकिएका छौं र यो काम भईरहेको छ । यसका लागि लकडाउन सकिने बित्तिकै नेपाल सरकारलाई कोरोना संक्रमण नियन्त्रण तथा उपचार कोषमा एक मुष्ठ रुपमा नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराउने कुरामा पनि हामी लागिरहेका छौं ।


यो समयमा बालबालिकालाई व्यवहारिक ज्ञान सिकाउनु राम्रो


अहिले विद्यार्थीहरु सबै घरमै छन् र अभिभावक पनि घरमै रहेको अवस्था छ । त्यसकारण यो समय बालबालिकाले आफ्ना अभिभावकसँग लामो समय सँगै बस्ने अवसर प्राप्त गरेका छन् । यो समयलाई अभिभावकले पनि बालबालिकासँग सहि तरिकाले बिताउनु पर्ने हुन्छ । हामीले सैद्धान्तिक रुपमा विद्यार्थीहरुलाई धेरै कुरा सिकाएका छौं । तर, वास्तवमा त्यतिले मात्रै एउटा असल नागरिक बन्न, असल घर बनाउन, हाम्र्रो समाज, राष्ट्र चलाउनका लागि प्रयाप्त हुँदैन । शिक्षाको कुनै दायरा हुँदैन जहाँबाट जसरी सिक्दापनि हुन्छ । यो समयमा घरायसी जीवनका लागि आवश्यक के–के सिपहरु पर्न सक्छन् वा बिहान उठेदेखि बेलुका सुत्ने बेला सम्म एउटा घरपरिवार चलाउन के–के कुराको खाँचो हुन्छ, कस्ता कस्ता सिपको आवश्यकता पर्छ । त्यसका बारेमा बालबालिकालाई व्यवहारिक ज्ञान सिकाउनु नै महत्वपूर्ण कुरा हो ।
यो समयमा घरभित्र गर्नुपर्ने कुरा, करेसाबारीमा गर्नुपर्ने काम जस्ता विषयमा अभिभावकले आफ्ना बालबालिकालाई धेरै कुरा सिकाउन सक्नुहुनेछ । हामीले त्यो अपेक्षा गरेका छौं । यति मात्र होईन हामी नेपालीहरुमा आफ्नै भाषा रीतिरिवाज, संस्कार, परम्परा, आफ्नै शैली र हामीसँग आफ्नै नैतिक शिक्षा छ । त्यसकारण परिवारप्रति उत्तरदायी बन्ने र हाम्रो समाज, देशका लागि एउटा असल र जिम्मेवारी नागरिक, बालबालिकालाई कसरी बनाउन सकिन्छ भन्ने जस्ता व्यवहारिक शिक्षा अभिभावकले दिनुहुन अनुरोध पनि गर्दछौं ।


यस्तै कुराहरुलाई मध्यनजर गर्दै समयलाई सहि तरिकाले सदुपयोग गर्नका लागि हामीले मिडास एजुकेशन प्रालि र कारखाना प्रालि बीचमा चैत १० गते एक महिनाका लागि निःशुल्क अनलाइन शिक्षा सञ्चालन गर्नका लागि सम्झौता गरेका छौं ।


बालबालिका र अभिभावक घरमै रहने हुनाले यी दुवै संस्था सँग भएको अनलाइनको कक्षा र एप प्रयोग गरी बालबालिकालाई शिक्षा दिन र यसको पूर्णरुपमा सदुपयोग गर्न अभिभावक, विद्यार्थी, विद्यालय र शिक्षकशिक्षिकालाई आग्रह गर्दछौं ।


अन्त्यमा, यो माहामारीको जटिल परिस्थितिमा हामी सबै नागरिकले नेपाल सरकारले निर्देशन गरे बमोजिम सावधानी अपनाई, हामी सबै नेपाली सुरक्षित रहन आग्रह गर्दछु ।