कक्षा १२ को परीक्षा सार्ने तयारीमा, निर्णय लिन बोर्ड बैठक बस्दै

काठमाडौँ /९ बैशाख – राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षाको मिति सार्ने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सार्ने भएको हो ।


यस विषयमा निर्णय लिन बोर्डको बैठक अहिले ८ बजे बस्दै छ । परीक्षाको व्यवस्थापन गर्ने शिक्षकहरू सडक आन्दोलनमा रहेको र नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षकलाई सहभागी नहुन निर्देशन दिएको छ ।


शिक्षकहरू विना परीक्षा सञ्चालन असम्भव रहेको, परीक्षा केन्द्राध्यक्ष नहुने लगायतका कारण परीक्षा, कति दिनलाई सार्ने वा यसको विकल्प के हुन्छ भन्ने विषयमा निर्णय लिन बोर्ड बैठक बस्न लागेको परीक्षा बोर्डले जनाएको छ ।


स्रोतले भन्यो ‘कक्षा १२ को परीक्षा ११ गते सञ्चालन गर्न कठिन जस्तै देखियो । शिक्षकहरू सडकमा हुनुहुन्छ, आज नै आन्दोलन सकियो भनेपनि शिक्षकहरू विद्यालय पुग्न समय लाग्छ । तर आन्दोलन फिर्ता लिने अवस्था अहिलेसम्म देखिएको छैन । विद्यार्थीमा पनि अन्योलता छ । परीक्षा केन्द्रमा पुग्नुपर्ने विद्यार्थी पुगेका छैनन् । त्यसैले परीक्षा कति दिनलाई सार्ने, के गर्ने भन्ने विषयमा अहिले बैठक कसेर निर्णय लिन्छौँ ।’