झापा/८ बैशाख – नेपाल शिक्षक महासङ्घको आह्वानमा गरिएको राजधानी केन्द्रित सडक आन्दोलन २०८१/०८२ बारे आम शिक्षकले बुझ्नुपर्ने कुरा चाहिँ शिक्षकको सबैभन्दा ठूलो कुरा मर्यादाक्रम हो ।
२० औँ दिनको आन्दोलन कार्यक्रम सकिएर २१ औँ दिनमा प्रवेश गर्दैगर्दा यो महत्वपूर्ण विषयलाई नेतृत्वले कुन प्राथमिकतामा राखेको रहेछ ? दूर दराज बाट हामीले विभिन्न समयमा नेतृत्वलाई दिएका सुझाबहरू मागका रूपमा समेटिएका छन् या छैनन त्यो पछि थाहा नै होला ।
मन्त्रालय र सरकारसँग गरिएका छलफल वा वार्ता जे जे नाम दिएपनि आजसम्म आन्दोलन गरिरहँदा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा नेतृत्वले सरकार प्रमुख र शिक्षामन्त्री लगायतसँग प्रशस्त भेट गरेको कुरा हामीलाई बिदितै छ , तर मर्यादाक्रम सबैभन्दा पहिलो आवश्यकताको भन्नेकुरा कसैले बुझेको भने देखिएन ।
मन्त्रीपरिषद्को निर्णयबाट गृह मन्त्रालयलाई आजनै शिक्षकलाई राष्ट्रिय मर्यादाक्रममा समावेश गर्न लगाउन ढिला गर्नहुन्न । हेर्दा सामान्य तर यो विषय धेरै ठूलो कुरा हो । शिक्षकको मर्यादा र सेवा सुविधा यसैमा जोडिएको हुन्छ ।
हाम्रो हाकिम को हुने ? हाम्रो सरुवा कसले गर्ने ? बढुवा कसले गर्ने जस्ता कुरासित मर्यादाक्रम जोडिएको हुन्छ । तर वार्तामा यस्तो कुरा गर्दा आफैलाई नोक्सान पनि हुनसक्छ । त्यसैले अहिले धेरै कुरा नगरी पहिला मर्यादाक्रम समावेश गर्न लगाऔँ । पछि यसको असर देखेर सबै आफै चकित पर्नु हुनेनै छ ।
शिक्षकको मागपत्रमा छुटेका र अझै ध्यान नपुगेका केही विषयहरू तल उल्लेख गरिएको छ ।
भ्रमण भत्ता नासुको १२०० र अधिकृतको १६०० छ । प्रत्येक दिन होटेल बसेको र खाजा खर्चको बिल भर्पाई गर्छन् उनीहरू । तर विद्यालयको काममा ३/४ दिन हिँड्ने शिक्षकको आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने अवस्था छ । निजामती तर्फ खरिदारलाई वडा कार्यालय आउन जान मोटरसाइकलको व्यवस्था गरिएको हुन्छ । कार्यालय प्रमुख अधिकृत समेतलाई गाडी सुविधा हुन्छ । सहसचिवलाई अनिवार्य रूपमा गाडी, ड्राइभर र मासिक तोकिए बमोजिम इन्धन बापत रकम दिने व्यवस्था छ । यता समान तहका माध्यमिक शिक्षकले केही पाउदैनन् । विद्यालयको प्र.अ. महिनामा दर्जनौँ पटक पालिका जिल्ला र प्रदेश तिर कुद्नु पर्छ । तर उसलाई एउटा मोटरसाइकल समेत दिएको छैन ।
खै भ्रमण भत्ता ? खै होटेल बसाईको खर्च ? अनि मावि शिक्षक छोडेर खरिदारको नियुक्ति किन लिदैनन् त शिक्षकहरू ?
निजामतीको सरुवा फोन कै भरमा हुन्छ । सरुवा पत्र वा इमेल मार्फत कार्यरत अफिसमै आउँछ । सरुवा भएपछि नयाँ कार्यालयमा जाने बन्दोबस्त गर्नको लागि तोकिए बमोजिमको रकम र प्रशस्त समय पाउछन् ।
तर शिक्षक सरुवा हुन टोल टोलमा डुल्नुपर्छ । जाने र आउने स्कुल, पालिका र जिल्लाको सहमति कागज बटुल्दै ६ ठाउँमा पुग्नुपर्छ । हप्तौँ समय र हजारौँ रुपैयाँ खर्च हुन्छ । सरुवाको निवेदन बोकेर जिल्ला सदरमुकाम जानुपर्छ । सरुवा पत्र बुझ्न फेरि जिल्ला जानुपर्छ । यो कार्य गर्दा बिचमा बिचौलियाले विभिन्न बहानामा आफ्नो गोजी भरिदिन अनुरोध गर्छन, त्यसो नगरिए सरुवा पाउन असम्भव नै हुन्छ । सरुवा भएपछि बसाइँसराइको खर्च आफ्नै हो ।
विभिन्न दातृ निकाय र संघ संस्थाबाट नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्ति कोटामा निजामती कर्मचारी र अन्य सेवाका राष्ट्रसेवकलाई मात्रै बाडेको पाइन्छ । यसमा शिक्षकलाई चरम अन्याय गरिएको छ । बर्सेनि हजारौँ निजामती कर्मचारी र अन्य राष्ट्रसेवकहरू सरकारको खर्च र तलबी बिदामा वैदेशिक अध्ययन र तालिममा जान्छन् । तर शिक्षकले अत्यावश्यक तालिम समेत लिन नपाएको अवस्था छ ।
नेपालका सबै सरकारी सेवामा आफ्नो सेवाको प्रशासन आफैले चलाउछन् । तर शिक्षकलाई शिक्षा प्रशासनमा जाने बाटो बन्द गरिएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय निजामतीको शिक्षा प्रशासनमा शिक्षक जानै नपाउने व्यवस्था छ । खुला परीक्षाबाट जान समेत उमेरहद लाग्ने र गरिए पनि सेवा टुट्ने, पेन्सन नहुने अनेकन समस्याहरू छन् । यी सबै समस्या उजागर गर्यो भने यस्तो जानाजानी तपाईँ किन शिक्षण पेशामा प्रवेश गर्नु भएको त भनेर तपाईँलाई नै प्रश्न गर्न सक्छ्न ।
स्वास्थ्य सेवा र संसद सेवा निजामती सेवा होइन तर पनि ती सेवाका कर्मचारी निजामती सेवा प्रवेश गर्ने बाटो सधैँ खुला गरिएको छ । तर शिक्षकलाई विभेद छ । निजामती तर्फ कार्यालय समयमा मिटिङ बस्दा पनि आकर्षक भत्ता लिने चलन छ, अन्य सेवामा । तर बिहानको समयमा एसईईमा ३ घण्टा उभिएर डयुटी गर्ने शिक्षकलाई २ सय ९८ रुपैयाँ भत्ता दिएको सबैलाई थाहै होला ।
सार्वजनिक बिदाको दिन कार्यालयमा हाजिर भएमा एक दिनको तलब देखि लिएर २ सय प्रतिशतसम्म भत्ता छ, अन्य सरकारी सेवामा । शिक्षकको हकमा केही व्यवस्था हुँदैन ।
शिक्षकलाई अवकाश भएपछि पेन्सन पट्टाका लागि काम गरेको प्रत्येक विद्यालय र जिल्लामा पुगेर दर्जनौँ कागजात जम्मा पार्नुपर्छ । तर निजामती कर्मचारीको भने अन्तिममा अवकाश भएको कार्यालयले सिफारिस गरेको आधारमा १ घण्टमा पेन्सन पट्टा तयार हुन्छ । निजामती कर्मचारीको मृत्यु भएपछि उसको परिवारले पाउने पेन्सन तलबको दुई तिहाइ वृद्धि हुन्छ । तर मृतक शिक्षकको परिवारको पेन्सनमा भने एक तिहाइ मात्रै वृद्धि हुन्छ । तर विडम्बना शिक्षक मरेपछि पनि विभेद गर्न भने बन्द हुदैन । तदर्थ यी याबत समस्या समाधानका लागि राज्य जिम्मेवार नहुने र भएका अघिल्ला सहमतिहरू पनि सरकारले कार्यान्वयन नगरिरहदा आन्दोलन गर्नु को विकल्प के ? आम समुदायले यसको उत्तर अब आफै दिनुहोला ।
(लेखक युवराज रेग्मी श्री डोरमारी माध्यमिक विद्यालय गौरादह नगरपालिका ४ झापाका शिक्षक हुन् । साथै नेपाल शिक्षक महासङ्घ नगर कार्यसमिति गौरादहका उपाध्यक्ष हुन् ।)



