शिक्षक आन्दोलन प्रति रामकुमारी झाँक्रीको आलोचना : शिक्षकहरूको रमिता बढी भयो

काठमाडौं/६ बैशाख – नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको आन्दोलन प्रति आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत शिक्षकहरू सडक आन्दोलनलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै शिक्षकहरूको रमिता बढी भएको भन्दै आलोचना गरेकी हुन् ।


उनले विद्यालय शिक्षा ऐन सडकबाट पास हुने हो र ? भन्दै शिक्षकहरूलाई प्रश्न गर्नुका साथै समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न नमिलने तर्क गरेकी छन् ।


उनले भनेकी छन् ‘मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु । यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखेँ । मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौ भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?’