आन्दोलनरत शिक्षकलाई अनुशासित, मर्यादित र संयमित हुन महासङ्घका अध्यक्षको आग्रह

काठमाडौं/५ बैशाख – नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित, मर्यादित र संयमित हुन आग्रह गरेका छन् । आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खाने उल्लेख गर्दै उग्रता र भड्काउबाट आफूलाई बचाउनु पर्ने भन्दै मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्न आग्रह गरेका हुन् ।


उनले आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षड्यन्त्र गर्नेहरू थुप्रै रहेको बताउँदै शान्तिपूर्ण प्रदर्शन कायम राख्नपर्ने बताए । उनले भने ‘साथीहरू, हामी विजयोन्मुख छौं । यो घडीमा हामीले झन् अनुशासित , मर्यादित र संयमित हुन जरुरी छ । आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ । हाम्रो आन्दोलन डिरेल्ड( विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस् , उपलब्धि हात नपरोस् भनेर षड्यन्त्र गर्नेहरू पनि थुप्रै छन् । त्यस्ता मान्छे कुन आवरणमा आउँछन् , कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाई बचाउनुपर्छ । मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ ।’


चार लाख शिक्षक–कर्मचारीका सवालमा मात्रै माग उठाउने उदेश्य मात्र आन्दोलन रहेकोले शिक्षकहरूको विजय सुनिश्चित रहेको र अरू केही दिन धैर्य र मर्यादित भएर लाग्न सुवेदीले सबै शिक्षकहरूलाई आग्रह गरेका छन् ।


यसैगरी आन्दोलनको कार्यक्रम माइतीघरबाट सुरु हुने जानकारी दिँदै त्यसैले पहिले नै बिचबाटो वा बानेश्वर गएर नबस्न, आन्दोलन अवधिभर (१२ बजेदेखि ३ बजेसम्म) सडकमा नै रहन, पेटी नाघेर वारपार नबस्न र माइतीघरबाटै जुलुसमा सहभागी भएर बानेश्वर तर्फ जान उनको आग्रह छ ।