काठमाडौं/४ बैशाख – संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बैशाखको १२ गते नै विद्यालय शिक्षा विधेयक पेस गर्न नसकिने बताएका छन् । समितिको उपसमितिमा दफावार छलफल भईरहेको बताउँदै उक्त समयमा पेस गर्न असम्भव र गाह्रो भएको बताएका हुन् ।
थापाले जेठको पहिलो साता पेस गर्छौ भनिएको र प्रक्रिया अनुसार जाँदा त्यो भन्दा अगाडी विद्यालय शिक्षा विधेयक पेस गर्न नसकिनेमा जोड् दिए । उनले अहिलेसम्म ९९ बुँदामा सहमति भईसकेको र अब बाँकी ६५/६६ वटा बुँदा रहेकोले प्रक्रिया अनुसार पेस गर्न नसकिने खबर एजुकेशनलाई जानकारी दिए ।
सरकारले शिक्षकहरूसँग गरेको सहमतिको सवालमा ऐनमा सम्बोधन भएर जाने सम्भावना कति देख्नु छ ? भन्ने खबर एजुकेशनको प्रश्नमा सम्भावना धेरै रहेको र सम्झौता गरे भन्दा पनि अझ बढी विषयमा सम्बोधन हुने सम्भावना देखिएको बताए । शिक्षकहरूसँगको सहमति अनुसार ऐनमा सम्बोधन हुने सम्भावना रहेपनि ट्रेड युनियनको सवालमा दलीय संगठन राख्ने विषयमा कुरा मिल्न गाह्रो रहेको उनको भनाई छ ।
उनले भने ‘एउटा माग सम्बोधन हुँदैन । अब दलीय संगठन हुँदैन, एउटा ट्रेड युनियन मात्रै हुन्छ । उहाँहरूले दलीय संगठन राख्नु पर्छ भन्नु भएको छ । हामी आफ्नो तरिकाले कानुन बनाउने हो । कानुनमै फलाना संगठन राख्ने फलाना संगठन हुनु हुँदैन भन्ने हुँदैन । एउटा ट्रेड युनियन मात्रै हुन्छ । उहाँहरूले त्यस्तो खासै लबिङ त गर्नु भएको छैन तर धारणा दलीय संगठन हुनुपर्छ भन्ने बुझिन्छ ।’



