कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षकहरूको घोषणा

काठमाडौं/२ बैशाख – सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने घोषणा गरेको छ । शिक्षकहरू १३ दिनदेखि सडकमा आन्दोलन गरिरहँदा पनि सरकारले त्यसको सुनुवाइ नगरेको भन्दै सो निर्णय गरेको हो ।


महासङ्घको बैशाख १ गते बसेको बैठकले बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुने निर्णय गर्दै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरू सबैलाई निर्देशन दिएको छ ।


यसैगरी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ ।


आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै संस्थागत विद्यालय समेत बन्द गरिदिई आन्दोलनलाई सघाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) महासङ्घको अनुरोध छ ।


साथै महासङ्घले शीघ्रातिशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिन विद्यार्थी, अभिभावक, वि.व्य.स, गाउँ÷नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गरेको छ ।


गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउनुपर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ भने २०८१ चैत २० गतेबाट काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन चलीरहेको छ ।