काठमाडौं/१ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै बालबालिकाको विद्यालय सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिका लागि सुनिश्चित आदर्श वाक्यका साथ शैक्षिक सत्र २०८२ को विद्यार्थी अभियान सुरु गरेको छ ।
विद्यालय क्षेत्रमा हुने क्रियाकलापलाई थप व्यवस्थित, पारदर्शी, उपलब्धि मूलक, विश्वसनीयता, सेवाग्राहीमैत्री बनाउँदै लैजान आवश्यक देखिएको भन्दै मन्त्रालयले मन्त्रालयले शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबै लाग्नु पर्ने जनाएको हो ।
मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदा सहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।
१. शैक्षिक सत्र र विद्यार्थी भर्ना अभियान सम्बन्धमा
क. शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८४ को उपनियम (४) मा रहेको “कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न गराउन हुँदैन भन्ने व्यवस्थालाई सम्पूर्ण विद्यालयहरूमा कडाइका साथ कार्यान्वयन गर्नु/गराउनुहुन ।
ख. सोही नियमको उपनियम (५) मा रहेको विद्यालयको “एक शैक्षिकमा काम गर्ने दिन कम्तीमा दुई सय बिस दिन हुनेछ भन्ने प्रावधान कार्यान्वयनको सुनिश्चितता हुन ।
ग. सम्बन्धित विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्य सहित अभिभावक समेतको सहभागितामा शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न/गराउनुहुन ।
घ. विद्यालय भर्ना अभियान पश्चात् सामुदायिक सिकाइ केन्द्र र विद्यालयको सहकार्यमा सर्वेक्षण गरी सबै बालबालिकालाई विद्यालय भर्ना भएको सुनिश्चित गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने र यदि विद्यालय बाहिर बालबालिका रहेको देखिएमा विद्यालय बाहिर रहेका बालबालिकाहरूको नामनामेसी सहितको विवरण अद्यावधिक गरी सबै बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यक्रमलाई स्थानीय शिक्षा योजनामा समावेश गराउनुहुन ।
२. निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति तथा शुल्क निर्धारण सम्बन्धमा
क. विद्यालय तहको सम्पूर्ण कक्षाका पाठ्यपुस्तक छपाइको काम सम्पन्न भई शैक्षिक सत्रको विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पु¥याउने गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रक संस्थाबाट छपाइ भई तोकिए बमोजिमका वितरक/विक्रेताबाट सम्बन्धित जिल्लामा ढुवानी समेत भई रहेको हुँदा विद्यालयलाई समयमै पाठ्यपुस्तकको रकम निकासा गरी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने सुनिश्चितताका लागि विद्यालयहरूलाई सम्प्रेषण हुन ।
ख. निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालन भएका विद्यालयहरूले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन. २०७५ को दफा २७ ले व्यवस्था गरे बमोजिम देहायको सङ्ख्यामा विद्यार्थीहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउनका लागि छात्रवृत्ति प्रदान गर्न विद्यालयहरूलाई निर्देशन हुन ।
– पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा दस प्रतिशत विद्यार्थीलाई
– पाँच सयदेखि आठ सयसम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा वाह प्रतिशत विद्यार्थीलाई
-आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तीमा पन्ध्र प्रतिशत विद्यार्थीलाई ।
ग. निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित (साविकका संस्थागत) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई नेपाल सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु/गराउनुहुन ।
घ) सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तथा निजका अभिभावकसँग कुनै पनि शीर्षकमा शुल्क नलिने कुराको सुनिश्चितता गर्न ।
३. विद्यालय अनुमति नक्साङ्कन, समायोजन तथा दरबन्दी मिलान सम्बन्धमा
क. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) को बुँदा (२) ले सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन गर्ने अधिकार र दफा ११ (ज) को बुँदा (१२) ले विद्यालयको सक्साङकन, अनुमति स्वीकृति समायोजन तथा नियमनको अधिकार स्थानीय तहलाई दिएको हुँदा विद्यालय सक्साङकनका आधारमा आवश्यक सर्तहरू पूरा गरी गराई विद्यालय समायोजन लगायतका कार्य गर्नुहुन ।
ख. आफ्नो स्थानीय तह अन्तर्गत सञ्चालित विद्यालयहरूमा दरबन्दी मिलान गर्नुपर्ने अवस्था भएमा प्रचलित कानुन बमोजिम शैक्षिक सत्र सुरु भएको एक महिना भित्र दरबन्दी मिलान र सो अनुसार शिक्षक व्यवस्थापन (सरुवा/पदस्थापन) गरी पठनपाठन सुचारु गर्ने सुनिश्चितता हुन ।
ग. अध्ययनरत विद्यार्थी सङ्ख्या विद्यालयहरू बीचको भौगोलिक अवस्थिति र दुरी विद्यालय सक्साङकन, सबै बालबालिकाहरूलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा उपलब्ध गराउने सम्बन्धमा राज्यले जारी गरेका संवैधानिक एवं कानुनी व्यवस्था अनुरूप सबै बालबालिकाको आधारभूत तहको शिक्षाको अधिकार उपभोगको अवस्था सुनिश्चित हुने गरी कुनै विद्यालयलाई गाभ्नु पर्ने/समायोजन वा बन्द गर्नुपर्ने देखिएमा उक्त कार्य शैक्षिक सत्रको पहिलो महिनाभित्रै सम्पन्न गरी सोही अनुसार विद्यालयहरूको सम्पत्ति तथा शिक्षक व्यवस्थापन समेत गरी विद्यार्थीहरूको पठनपाठन सुनिश्चित गराउनुहुन ।
घ. प्रचलित कानुन अनुसार संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गरी/गराई उक्त शुल्क लागु गराउने सम्बन्धमा विद्यालयहरूको नियमित अनुगमन तथा नियमन कार्य गर्नु/गराउनुहुन ।
४. प्रारम्भिक बाल शिक्षा सम्बन्धमा
शिक्षा ऐन, २०२८ लगायत अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले समेत चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा १ मा प्रवेश गर्नुभन्दा अगाडि बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बालबालिकाको सिर्जनशीलता तथा सामाजिकीकरणको विकासका लागि पाठ्यपुस्तकको प्रयोगलाई निरुत्साहित गर्दै खेल तथा मनोरञ्जनात्मक क्रियाकलापमा आधारित भई प्रारम्भिक बाल शिक्षाको पठनपाठन गर्न निर्देशन गरी सोको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा नियमन हुन ।
५. पाठ्यक्रम तथा पाठ्यपुस्तक सम्बन्धमा
स्थानीय विषयको पाठ्यक्रम सम्बन्धमा आधारभूत तह (कक्षा १–३) मा ५ पाठ्य घण्टा, आधारभूत तह (कक्षा ४–५) र (कक्षा ६–८) मा ४ पाठ्यघण्टा बराबरको स्थानीय विषय पठनपाठनको व्यवस्था रहेकाले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तथा विद्यालय तहका उल्लिखित पाठ्यक्रममा भएको व्यवस्था कार्यान्वयन गर्नु/गराउनु ।
क. पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रम पाठ्यपुस्तक एवं पाठ्यसामग्री मात्र प्रयोग गर्ने/गराउने व्यवस्था हुन ।
ख. विद्यार्थीहरूलाई विद्यालय परिसरभित्रै वा विद्यालयले तोकेको स्थान/पसलबाट पुस्तक, स्टेसनरी, पोसाक, झोला लगायतका सामग्री खरिद गर्न अनिवार्य गर्ने गरेको जन गुनासो प्राप्त हुन आएकाले यस खालको कार्य अविलम्ब बन्द गरी अभिभावकलाई खुला बजारबाट खरिद गर्ने अवसर प्रदान गर्ने तथा विद्यार्थीबाट लिने गरेका शुल्कहरू प्राप्त गर्दा अनलाइन बिलिङ प्रणालीको प्रयोग गर्ने÷गराउने व्यवस्थाका लागि आवश्यक निर्देशन हुन ।
ग. आधारभूत तह कक्षा (१३) एकीकृत पाठ्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा विद्यार्थीहरूको व्यक्तिगत पोर्टफोलियो फाइल तयार गरी आन्तरिक मूल्याङ्कन अनिवार्य रूपमा अद्यावधिक गर्दै सोको आधारमा सहयोगात्मक शिक्षण गर्ने व्यवस्था मिलाउनुहुन ।
६ रिक्त दरबन्दी विवरण सम्बन्धमा
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ६ को उपनियम (१) मा व्यवस्था भएअनुसार सम्पूर्ण स्थानीय तहले आफ्नो क्षेत्र भित्रका सामुदायिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विवरण प्रत्येक वर्षको ज्येष्ठ मसान्त सम्ममा सम्बन्धित जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनु पर्ने प्रावधान रहेको हुँदा प्रत्येक वर्ष यथा समयमा उक्त विवरण पठाउनुहुन र उक्त विवरण पठाउँदा सोही नियमको उपनियम (२) बमोजिमको व्यवस्थालाई समेत कडाइका साथ पालना गर्नु गराउनुहुन ।
७. कार्यक्रम कार्यान्वयन सम्बन्धमा
क. स्थानीय तहमा वित्तीय हस्तान्तरण भई गएका वार्षिक कार्यक्रम कार्यान्वयन Real plan, Early screening र स्थानीय तह शिक्षा योजना निर्माण लगायतका कार्यक्रमहरू सक्रियतापूर्वक कार्यान्वयन गर्नु गराउनुहुन ।
ख. स्थानीय तहमा वित्तीय हस्तान्तरण भई गएको वार्षिक बजेट तथा कार्यक्रमहरूको तोकिएको निर्धारित ढाँचामा त्रैमासिक तथा वार्षिक नैतिक तथा वित्तीय प्रगति प्रतिवेदन र DLI प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने व्यवस्था मिलाउनुहुन ।
ग. विद्यालयमा गुणस्तरीय सेनेटरी प्याड खरिद, वितरण तथा प्रयोग पश्चात् उचित व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउनुका साथै विद्यालय दिवा खाजा मेनु अनुसार स्थानीय उत्पादनमा आधारित दिवा खाजा विद्यार्थीहरूलाई विद्यालयमै खुवाउने व्यवस्था मिलाउनुहुन ।



