शिक्षा मन्त्रालयले गर्न सक्ने सवालमा शिक्षकका माग पुरा गर्न शिक्षामन्त्री तयार

काठमाडौँ /३१ चैत – आन्दोलनरत शिक्षकहरूका माग पुरा गर्न आफू तयार रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताएकी छन् । शिक्षकहरूले पेस गरेका माग मध्ये शिक्षा मन्त्रालयबाट गर्नुपर्ने सवालमा तयार रहेको बताएकी हुन् ।


उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग जोडिएका विषयहरूमा पनि निरन्तर छलफल गरेर सहमति जुटाइ सकिएको उल्लेख गर्दै तत्काल मन्त्रालयले गर्नुपर्ने निर्णयमा माग पुरा गर्न तयार रहेको खबर एजुकेशनलाई बताइन ।


मन्त्री भट्टराईका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारको सन्दर्भमा स्वास्थ्य मन्त्रालयलाई फाइल पठाइ सकिएको र त्यसमा अर्थको सहमति लिएर कार्यान्वयन गर्न तयार रहेको, सामाजिक सुरक्षा कोषमा लैजान सहमत भएको, राहत शिक्षकहरूको सञ्चित विदा कायम गर्ने र विदाको रकम निकासा गरिने, दुर्गम भत्ता उपलब्ध नभएको भए उपलब्ध गराईने, मर्यादाक्रम कायम गर्न र ग्रेड समायोजन गर्न सम्बन्धित मन्त्रालयसँग सहमति भएको जानकारी दिइन ।


त्यसैगरी इसिडि शिक्षक र विद्यालय कर्मचारीहरूको न्यूनतम १७३०० बनाइएपनि र कतिपय पालिकाहरूले रकम नदिएको गुनासो आएकोले अर्थ मन्त्रालय, नगरपालिका, गाउँपालिका महासङ्घ र नेपाल शिक्षक महासङ्घसँग बसेर सहमति गराउने लगायतका विषय निर्णय गर्न तयार रहेको बताइन ।


अहिले विद्यालय शिक्षा ऐन ल्याउने सवालमा पनि तिब्र रूपमा छलफल भईरहेको बताउँदै अन्य कतिपय विषयहरू ऐनमा समावेश गरेर छिटै ऐन जारी गर्ने तयारी भईरहेको उनको भनाई छ । उनले भनिन् ‘म शिक्षा मन्त्री भएर आउँदा बजेट आईसकेको थियो, त्यसमा मैले खासै केही गर्न मिलेन । अहिले बजेट बन्दै छ । बजेट आवश्यक हुने शीर्षकमा आगामी बजेटबाट सम्बोधन गरेर लैजाने निर्णय भएको छ । यसमा अर्थ मन्त्रालयसँग पनि पटक पटक बसेर सहमति गरेकी छु । मन्त्रालयले गर्ने निर्णयमा हामी तयार छौँ । यो कुरा शिक्षकहरूले पनि बुझिदिनु पर्छ । मैले अर्थ मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्रीसँग बसेर पनि अहिले निर्णय गर्न सकिने विषयमा निर्णय गरौँ भन्दा उहाँहरू पनि सहमत हुनु भएको छ ।’


गत बिहिवार देखी शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमया पराजुलीको नेतृत्वमा निरन्तर छलफल भएपनि कुनै निष्कर्ष निस्किएको छैन । तर महासङ्घले शिक्षा मन्त्रालयले गर्न सक्ने माग निर्णय गर्नुपर्ने, मन्त्रीपरिषद्बाट गर्नुपर्ने मागका विषयलाई सम्बोधन गर्नुपर्ने अडान लिदै आएको छ । उनिहरूले मन्त्रालयले गर्न सक्ने माग पुरा गरेको खण्डमा शिक्षा ऐन ल्याउने बलियो प्रतिबद्धता मन्त्रीपरिषद्बाट मन्त्रीपरिषद्बाट आए आफरहरूको आन्दोलन शिक्षा ऐन नआएसम्म नरोकिने तर आन्दोलनको स्वरूप परिवर्तन गर्न सकिने बताउँदै आएका छन् ।