सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुग्यो : जनक शिक्षा सामग्री केन्द्र

काठमाडौँ /३० चैत – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का लागि दुर्गम र हिमाली जिल्ला सहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाईसकेको जनाएको छ । मुगु जिल्लाका २ ओटा स्थानीय तह बाहेक अन्य सबै स्थानीय तहका विक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको जनाएको हो ।


केन्द्रले कूल १,७०,५०,९०० थान पाठ्यपुस्तक छपाई गरेकोमा २०८१ साल चैत २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५,९४,०७५ थान पाठ्यपुस्तक विक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्तक मौज्दात रहेको जनाएको छ ।


कुनै विक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । साथै शिक्षा मन्त्रालयको फोन नं. ०१–४२००३५३ मा पनि सूचना दिन सकिने छ ।