काठमाडौं/३० चैत – आन्दोलनरत शिक्षकहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच बिहिवारदेखि निरन्तर छलफलमा रहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग हिजो शुक्रवार पनि सकारात्मक छलफल भएको थियो ।
छलफल अहिले कुन कुन विषय मन्त्रालयले गर्न सक्छ, कुन कुन विषय मन्त्रीपरिषद्बाट गराउने र कुन विषय ऐनमा समावेश गर्नेमा केन्द्रीत हुनुका साथै शिक्षकहरूका कति माग तत्काल मन्त्रालयबाट पुरा गर्न सकिन्छ भन्नेमा केन्द्रीत रहेको स्रोतले जनायो । तर नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूले हिजो छलफल नै नगरिएको बताउँदै आएका छन् ।
स्रोतले भन्यो हिजो मन्त्रालयसँग बस्नु भो, तर बाहिर बस्या छैनौँ भन्नु भो, उहाँहरू कस्तो गलत ट्रयाकमा हुनुहुन्छ भने पार्टीका मान्छेलाई हेर्दै हिड्नु हुन्छ, पार्टीका नेताहरू हेर्दै हिड्नु हुन्छ कस्तो अचम्म लाग्यो । अरु मन्त्रालयहरुसँग गएर भेटघाट गरिहनु भएको छ । उहाँहरूको विशिष्ट समस्या हो भने त शिक्षा मन्त्रालयसँगै बस्नु पर्ने होइन र ?
नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँगको छलफलमा बिहिवार उहाँहरूले आफ्ना धारणासहित पत्र समेत दिनु भएको छ । यसमा मन्त्रालयले पनि आफ्ना कुराहरू अगाडी सारेको स्रोतले जनाएको छ । अहिले तत्काल गर्न सकिने र आगामी बजेटबाट सम्बोधन गर्ने कुरामा मन्त्रालय सकारात्मक रहेको समेत जनाइएको छ । यस विषयमा अर्थ मन्त्रालयले केही विषयमा सहमति दिएको स्रोतले बतायो ।
शिक्षकहरूले उठाएको मर्यादाक्रमको विषयमा गृहसँग छलफल गरी सहमति भईसकेको अवस्थामा यसबारे निर्णय गर्न कठिन नहुने जनाएको छ । अर्को सामाजिक सुरक्षा कोष, त्यसमा नयाँ प्याकेज बनाएर लैजानका लागि छलफल भईरहेको छ । निजामती अस्पताल जस्तै शिक्षक अस्पताल बनाउने र त्यसमा सम्पूर्ण शिक्षकहरूले विशेष उपचार हुने व्यवस्था गर्न मन्त्रालय तयार रहेको छ ।
त्यसैगरी राहत शिक्षकको संचित विदाको माग गरिएको र त्यसका बारेमा शिक्षा मन्त्रालयले अर्थसँग कुरा गर्दा अर्थले सहमति दिएको स्रोतले बतायो । यस भन्दा अगाडी शिक्षा मन्त्रालयले फाइल पठाउँदा अर्थले फिर्ता पठाएकोमा अहिले आएर अर्थ मन्त्रालय सहमत भएको स्रोतको भनाई छ । साथै विदाको रकम उपलब्ध गराउने समेत भनिएको छ ।
विद्यालय कर्मचारी र इसिडका शिक्षककाको हकमा सङ्घीय सरकारले एउटा ढंगले भन्ने तर स्थानीयले तलब नदिने समस्या रहेकोले त्यसका लागि एक पटक नगरपालिका, गाउँपालिका महासंघसँग, शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयसहित बसेर सहमतिमा कसरी जाने भन्ने मोडालिटी बनाउने बारे मन्त्रालयले तयारी गरेको जनाइएको छ ।
विद्यालय कर्मचारी र इसिडका शिक्षकको हकमा अनुदानमा जाने रकम अनि समानीकरण अनुदान अर्थबाट उपलब्ध गराउने र बाँकी नमिलेका कुराहरूलाई नगरपालिका, गाउँपालिका महासंघसँग, शिक्षक महासँग र शिक्षा मन्त्रालयसहित एउटा मोडालिटिमा बसेर अगाडी बढ्न सबै सहमत भएको बताईयो ।
माथि भनिएका विषयहरू सहजै सहमति गर्न सकिने र आगामी बजेटमा समेत सम्बोधन गर्न सकिने, बाँकी अन्य विषयहरूलाई मन्त्रीपरिषद्मा लगेर हुन्छ वा विद्यालय शिक्षा ऐनमा समावेश गरेर हुन्छ छलफल गरेर अगाडी बढ्न मन्त्रालय तयार रहेको स्रोतको भनाई छ ।



