काठमाडौं/२६ चैत – शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)ले विद्यालयका शिक्षक तथा कर्मचारीहरूद्वारा पेसागत अधिकार र स्थायित्व लगायत विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माग गर्दै काठमाडौंमा गरेको सडक आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ । शिक्षक कर्मचारीको मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बोलाउन आग्रह गरेको छ ।
एनसिई नेपालले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बोलाई संविधानले मार्ग प्रशस्त गरेबमोजिम संवाद तथा साझा समझदारी मार्फत पेसागत हक हितको रक्षा र विद्यालय शिक्षा विधेयकलाई अधिकारमुखी बनाई तत्काल पारित गर्ने शिक्षक समुदायको मागलाई यथाशीघ्र सम्बोधन गर्न जोड् दिएको छ ।
यसैगरी विद्यालय शिक्षा परीक्षाको उत्तरपुस्तिका जाँच, नयाँ शैक्षिक सत्रको तयारी, विद्यालय भर्ना अभियानका कार्यक्रम तथा कक्षा १२ को अन्तिम परीक्षालाई यस आन्दोलनले प्रभावित पार्न सक्ने तर्फ सचेत रहन शिक्षक, सरकार र सबै सरोकारवाला समक्ष ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यही चैत २० गते देखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सार्वजनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूद्वारा पेसागत अधिकार र स्थायित्व लगायत विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माग गर्दै काठमाडौँमा शान्तिपूर्ण आन्दोलन भइरहेको छ । शिक्षकको पेसागत हकहितको रक्षा र यथाशीघ्र विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने माग प्रति यस ४९० भन्दा बढी संघ–संस्थाहरूको साझा सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल ) को ऐक्यबद्धता छ ।’
शिक्षा प्रणाली तथा संरचनाको केन्द्रमा सधैँ बालबालिकाको सिकाइ हुनुपर्ने र कुनै पनि आन्दोलनले बालअधिकार र शिक्षा अधिकारमा अवरोध पु¥याउन नहुने एनसिई नेपालको भनाई छ ।



