काठमाडौं/१४ चैत – एनसिई नेपालले आयोजना गरेको विद्यालय शिक्षा सम्बन्धी छलफल कार्यक्रममा शिक्षकहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितका सभापति अम्मर बहादुर थापालाई शिक्षा ऐन ल्याउने सम्बन्धमा प्रश्न उठाएका छन् । शिक्षकहरूले पढाउँदैनन, विद्यालय गएनन् भन्ने आरोप लगाउने गरेको उल्लेख गर्दै समितिको बैठकमा नआउने सांसदहरूलाई किन कारबाही नहुने भन्दै प्रश्न उठाएका हुन् ।
छलफलमा २०८०को असोज पछि कतिपटक समितिको बैठक बस्यो ? समितिले बोलाउँदा बैठकमा किन सांसद आउँदैनन ? हिउँदे अधिवेशनमा शिक्षा विधेयक जान्छ वा जादैन ? बैठकमा उपस्थित नहुने सांसदहरूलाई कारबाही किन हुँदैन ? विद्यालय शिक्षा ऐन ल्याउन शिक्षकहरूले आन्दोलन नै गर्नुपर्ने हो ? लगायतका विषयमा शिक्षकहरूले आक्रोशित हुँदै समितिका सभासद् तथा सांसदहरूलाई प्रश्न गरेका थिए ।
छलफलमा बोल्ने क्रममा सभापति थापाले आन्दोलन गरेर मात्रै शिक्षा ऐन नआउने भन्दै शिक्षकहरूलाई आन्दोलन छाडेर विद्यालय फर्कन आग्रह गरेका थिए । उनले शिक्षक मैत्री ऐन नआए आफूले नै आन्दोलन आह्वान गर्ने धारणा राखेका थिए ।
उनको भनाई पछि शिक्षकहरूले आफूहरूलाई अपमान गरेको भन्दै थापा विरुद्ध आक्रोश पोखेका थिए । उनिहरूले सार्वजनिक छलफलका कार्यक्रममा शिक्षकहरूलाई अपमान गर्ने अभिव्यक्ति दिन नमिल्ने भन्दै आक्रोश पोखे ।
कार्यक्रममा शिक्षा समितिका सभापति लगायत नेकपा एमालेकी सांसद सरिता भुसाल, माओवादी केन्द्रकी रेखा शर्मा उपस्थित रहेको थियो । यसैगरी शिक्षकहरूमा नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमया पराजुली, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, संघका महासचिव ज्ञानेन्द्र रावल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, इष्टुका अध्यक्ष होम कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।



