अनिश्चित कालीन सडक आन्दोलनमा सबै शिक्षक–कर्मचारीलाई अनिवार्य उपस्थित हुन सर्कुलर

काठमाडौँ /१४ चैत – आन्दोलनरत नेपाल शिक्षक महासङ्घले घोषणा गरेको चैत २० गतेदेखि हुने काठमाडौँ केन्द्रित अनिश्चित कालीन सडक आन्दोलनमा सबै शिक्षक–कर्मचारीहरूलाई अनिवार्य उपस्थितका लागि सर्कुलर गरेको छ । विगतका सहमति समावेश गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न भन्दै सो सर्कुलर गरेको हो ।


यसैगरी चैत २० गतेदेखि आन्दोलन अवधिभर एसईई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउनु हुन, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, यस अन्तर्गतका निकाय तथा स्थानीय तहबाट हुने गोष्ठी, सेमिनार, तालिम आदिमा सहभागी नहुन निर्देशन दिएको छ ।


हेर्नुहोस महासङ्घको सर्कुलर :
१. विगतका सहमति समावेश गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न मिति २०८१ चैत्र २० गतेबाट काठमाडौँ केन्द्रित अनिश्चित कालीन सडक आन्दोलन गरिने भएकोले देश भरका सबै शिक्षक–कर्मचारी साथीहरू काठमाडौँ आई अनिवार्य आन्दोलनमा सहभागी हुनुहुन ।


२. मिति २०८१ चैत्र २० गतेदेखि काठमाडौँमा हुने आन्दोलनमा व्यापक सहभागिता सुनिश्चित गर्न हरेक जिल्लाले २०८१ चैत्र १६ गते भित्र जिल्लामा प्रधानाध्यापक भेला सम्पन्न गर्नुहुन ।


३. मिति २०८१ चैत्र २० गतेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, यस अन्तर्गतका निकाय तथा स्थानीय तहबाट हुने गोष्ठी, सेमिनार, तालिम आदिमा सहभागी नहुन हुन ।


४. मिति २०८१ चैत्र २० गतेदेखि आन्दोलन अवधिभर एसईई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउनु हुन ।


५. हरेक जिल्लाले अभिभावकका सङ्घसंस्था, विद्यार्थीका सङ्घसङ्गठन तथा विद्यालय व्यवस्थापन समिति महासङ्घसँग अन्तरक्रिया गरी शिक्षक–कर्मचारीका मागमुद्दा बारे सुसूचित गर्दै आन्दोलनमा साथ सहयोगका लागि अनुरोध गर्नुहुन ।
६. यस अघिको परिपत्र वमोजिम हरेक जिल्लाले सबै शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क रु १००/– प्राप्त गरी त्यसबाट रु ५०/– केन्द्रमा अविलम्ब पठाउनु हुन ।


७. हरेक जिल्लाले २०५० सालको वार्षिक सदस्यता शुल्क ( प्रति शिक्षक रु २५०/–) प्राप्त गरी प्रति सदस्य रु.५०/– केन्द्रको खातामा अविलम्ब पठाउनु हुन ।