रूपन्देही/८ चैत – उत्कृष्ट शिक्षाको खोजीमा विद्यार्थीहरू दैनिक रूपमा ४० किलोमिटर भन्दा टाढाबाट विद्यालय आउने गरेका छन् । बुटवलको देवीनगर-११ मा रहेको नविन औद्योगिक कदर रीता माध्यमिक विद्यालयमा दैनिक रूपमा आउँ-जाउँ गरेर ८० किलोमिटर भन्दा बढी यात्रा गरेर विद्यार्थी अध्ययनका लागि आउने गरेको विद्यालयले जनाएको छ ।
कक्षा ११-१२ का करिब ५० जना विद्यार्थी बर्दघाटदेखि बुटवलसम्म अध्ययनका लागि आउने गरेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । बर्दघाटदेखि बुटवलसम्मको दुरी ४० किलोमिटर भन्दा बढी रहेको छ । विद्यार्थी बिहान ५ बजे विद्यालयको बस चढेर ६ बजेको कक्षा लिन आउने गरेको उनले जानकारी दिए ।
उनले खबर एजुकेशनसँग भने ‘बुटवलदेखि ४० किलोमिटर भन्दा बढी रहेको बर्दघाट देखि विद्यार्थी पढ्न आउने गर्छन । आउँ-जाउँ गर्दा ८० किलोमिटर भन्दा बढी हुन्छ । विद्यालयको बस विद्यार्थीलाई छोड्न गएपछि उतै बस्छ । अर्को दिन बिहान विद्यार्थी लिएर ६ बजे विद्यालय आइपुग्छ । कक्षा ११-१२ का विद्यार्थीहरू अन्य कक्षाका भन्दा उमेरले ठुला हुने भएकाले पनि भर्ना लिने गरेका छौँ ।’
अन्य विद्यालयको भन्दा नविन औद्योगिक कदर रीता माध्यमिक विद्यालयको पढाई राम्रो भएर टाढाबाट धाएर भएपनि विद्यार्थी आउने गरेको बस्नेतको दाबी छ । उनले सामुदायिक विद्यालयमा उत्कृष्ट शिक्षा दिन सकिएकोमा खुसी व्यक्त गर्दै आएका विद्यार्थीलाई फर्काउन नसकिने, पढ्छु भन्नेलाई पढाउनु पर्ने भएकाले टाढाका विद्यार्थी भएपनि भर्ना लिने गरिएको बताए ।
विद्यालयले प्रारम्भिक बालविकास देखि कक्षा १० सम्म साधारण धार तर्फ पूर्ण अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने गरेको छ । यसैगरी कक्षा ९-१२ मा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ, कक्षा ११-१२ मा विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहको पठनपाठन गर्दै आएको छ ।
साथै विद्यार्थीका लागि दैनिक ६ वटा स्कुल बस सञ्चालन गर्दै आएकोमा ३ वटा विद्यालयका र ३ वटा भाडामा लिएर सञ्चालन गरिएको बस्नेतले जानकारी दिए । विद्यालयमा कक्षा ११-१२ मा मात्रै २ हजार ७९ जना विद्यार्थी छन् भने कुल विद्यार्थी सङ्ख्या ४ हजार ७ सय २ जना रहेका छन् ।



