….अर्थात् अङ्ग्रेजी

चितवन/५ चैत –
मेरो भूमिका निरीक्षक
परीक्षार्थीहरू कनिरहेछन् ठसठसी
जसोरी कब्जियत रोगीले कन्छ पाइखानामा
अहँ दुई चार बाहेक
अरूहरू मुन्टो बटारेर साथीको नक्कल गर्न तन्मय छन्
बलियो साँढेले टाट्नोमा डाले घाँस लुछ्न मुन्टो घुसारेझैँ
मेरो मास्टरी छ्याङ्ङ हुन्छ
अङ्ग्रेजी हाम्रो आवश्यकता हो वा लादिएको ब्रह्म अस्त्र एकातिर मातृभाषा सरकार कहन्छ
अर्कोतिर अभिभावकको शिरा धमनीमा अङ्ग्रेजी बहन्छ कनीकुथी म्लेच्छ भाषा सिकेको गुरु म
बेकामी हुँ वा कामी
यक्ष प्रश्नले मेरो घाँटी निमोठ्छ
सर ३ नं
सर ७ को बी
आलोपालो सोधनी पुछनी चलिरहन्छ
नकराउ
नबोल
हल्ला नगर
बस
कता फर्केको
साँच्चै हो
हप्की र दप्कीले कोलाहल थामिदैन
निरीक्षक हार्छ
परीक्षार्थीले जित्छन्
मानौँ म बनिया हुँ
उनिहरू हटारु हुन्
सर ६ नं को बुझिएन
सर आमाको इस्पीलिङ आउँदैन
सर मलाई २ को आएन
के सिकाए ?
के सिके ??
कसरी टिक्छ यो ज्ञान ?
कसरी बिक्छ यो ज्ञान ??
न त हाँस न त कुखुरो
किन बढिरहेछ अङ्ग्रेजी हाउगुजी ?
यो हाम्रो आधारभूत आवश्यकता हो कि गल पासो ?
कहिलेसम्म झुन्डिरहन्छ शिशुको घाँटीमा ?
संविधान कागजको खोस्टो हो कि राज्य सञ्चालन दस्ताबेज ?
आधारभूत शिक्षा मातृभाषामा कि सात समुन्द्र पारिको ?
किन मूकदर्शक छन् गद्दादार मेच आसीन मुर्कट्टाहरू ?
माटो र बाटो बिराउँदा
गन्तव्यमा पुगिन्छ कि खौलामा ?
भुइँ मान्छेका सपनाका बिस्कुन
कहिलेसम्म असरल्ल हुन्छन् ?
कहिलेसम्म थाङ्नामा सुताउँछ अङ्ग्रेजी ?
कहिलेसम्म बेथिति राज गर्छ अङ्ग्रेजी ??
कहिले खुल्छ होस ?
कहिले बन्छ देश ??


कृष्ण सुदामा नयाँ किरण कमलकुसुम मा. वि. भरतपुर चितवनका शिक्षक हुन ।