एआई तथा डिजिटल शिक्षामा प्याब्सनको अभियान

काठमाडौँ /९ भदौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोलिदेखि राष्ट्रियस्तरमा एआई तथा डिजिटल शिक्षासम्बन्धी प्रशिक्षण अभियानको सुरुवात गर्ने भएको छ ।


बदलिँदो विश्व, प्रविधिको तीव्र विकास र शिक्षामा आएको नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई डिजिटल र एआईमैत्री शैक्षिक प्रणालीतर्फ रूपान्तरण गर्ने अभियान अघि बढाएको हो ।


यो अभियान केन्द्रीय कार्यसम्पादन समितिबाट सुरु भई क्रमशः प्रदेश, जिल्ला, पालिका हुँदै देशभरका सदस्य विद्यालय र शिक्षकहरूसम्म विस्तार गरिनेछ । वर्षभरि सञ्चालन हुने यस अभियानमार्फत केन्द्रमा प्राप्त भएको ज्ञान, सीप र प्रशिक्षण अन्ततः कक्षाकोठासम्म पुग्ने र शिक्षकहरू आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमा थप सक्षम बन्ने प्याब्सनको अपेक्षा रहेको जनाएको छ ।


नेतृत्वबाट सुरु भएको डिजिटल रूपान्तरण भोलि प्रत्येक विद्यालय, प्रत्येक शिक्षक र प्रत्येक विद्यार्थीको सिकाइसँग जोडिने जनाएको छ ।


यस राष्ट्रिय अभियानलाई प्रभावकारी, उपलब्धिमूलक र सफल बनाउन देशभरका प्याब्सनका सम्पूर्ण पदाधिकारी, सदस्य विद्यालय, प्रिन्सिपल तथा शिक्षकहरूमा सक्रिय सहभागिता र सहयोग गर्न प्याब्सन केन्द्रीय कार्यसमितिले अनुरोध गरेको छ ।