विदुरका दुई विद्यालय बाढीले बगायो, समयमै विद्यार्थी बाहिर निकालियो

काठमाडौँ /१० भदौ – त्रिशूली नदीमा बुधवार बिहान आएको बाढीले नुवाकोटको विदुर नगरपालिकामा रहेका दुई विद्यालय बगाएको छ । बाढीले वडा नं १ मा रहेको त्रिभुवन त्रिशूली मावि र वडा नं. १० वेत्रावतीमा रहेको रामचन्द्र आधारभूत बगाएको सूचना अधिकारी सरला श्रेष्ठले जानकारी दिईन । श्रेष्ठले विद्यालयमा कुनै मानविय क्षति नभएको बताएकी छन् ।


बिहानको समयमा बाढी आएपनि विद्यालय भित्र रहेका सबै विद्यार्थीलाई बाहिर निकालिएको प्रधानाध्यापक राजेन्द्र दवाडीले बताए । उनले १५ मिनेट अगाडी सूचना पाएकोले विद्यालयमा आएका विद्यार्थी, होस्टलमा रहेका विद्यार्थी र सबै शिक्षकलाई विद्यालय बाहिर निकालिएको र अन्तिममा आफूहरू निस्किएको जानकारी दिए । विद्यालयमा १६४३ विद्यार्थी सङ्ख्या रहेको दवाडीले बताए ।


उनले भने “विद्यालय हाता भित्र विद्यार्थी थिएनन् । मैले १५ मिनेट अगाडी सूचना पाएपछि सबैलाई ९ः१५ मै बाहिर निस्किएर सुरक्षित स्थानमा जान भने, बसबाट घर जाने विद्यार्थी पनि सुरक्षित छन्, होस्टलका विद्यार्थी पनि सुरक्षित छन् । तर हिडेर विद्यालय आउँदै गरेका, त्रिशूलीको पुल तरेर घर जाने विद्यार्थी कति परे परेनन् मलाई कुनै जानकारी प्राप्त भएको छैन । अहिले विद्यालय बगरमा परिणत भएको छ । अवस्था निकै भयावह छ ।”


साथै संस्थागत विद्यालय पनि बाढीमा परेको जानकारी प्राप्त भएपनि आफुहरू जाने अवस्था नभएकोले त्यसबारे एकिन नभएको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।