काठमाडौं/२७ फागुन – सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आन्दोलनमा होमिएका शिक्षकहरूको मागप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यसअघिको आन्दोलनमा सरकार र शिक्षकसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
‘संसदको आकस्मिक समयमा बोल्दै केसीले भनेका छन् ‘लाखौँ लाख शिक्षकहरूको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासङ्घ अहिले आन्दोलन छ । सरकारले निरन्तर रूपमा सम्झौता गर्ने, अनि त्यो सम्झौतालाई निरन्तर अपहेलना गर्ने खालको प्रक्रिया छ, त्यो खेद जनक मात्रै होइन त्यो निन्दनीय पनि हो । किनभने राज्यले कसैलाई बचन दिएपछि इमान्दार हुनुपर्छ । त्यो नि लाखौँ शिक्षकहरूको शिक्षक महासङ्घसँग जुन खालको सम्झौता भएको छ त्यसलाई अनादार गर्नु दुखद र निन्दनीय छ । पटक पटक भएको प्रतिबद्धलाई पालना गर्दै तत्काल वार्ता र संवादको वातावरण निर्माण गरेर विद्यालय शिक्षा ऐन जारी गरोस । एउटा विद्यालयमा १८ थरीका शिक्षक जुन छन् तिनीहरूलाई एकीकृत र व्यवस्थापन गरोस ।’



