काठमाडौं/२३ फागुन – ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विद्यालय शिक्षाको विकासमा योगदान दिइरहेका महिला शिक्षासेवी तथा शिक्षकहरूलाई सम्मान प्रदान गरिएको छ । खबर एजुकेशन र एजुकेशन फर द नेक्सटजेन तथा न्यू मिलेनियम स्कुलको सहकार्यमा मंगलबार आयोजित शिक्षा क्षेत्रको विकासमा महिलाको भूमिका अन्तर्गत समावेशी कक्षाकोठाको व्यवस्थापन सम्बन्धी छलफल तथा सम्मान कार्यक्रममा महिला शिक्षासेवी तथा शिक्षकलाई सम्मान प्रदान गरिएको हो ।
सम्मानित हुनेमा शुभतारा स्कुलकी संस्थापक निर्देशक रानी कक्षपति, गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय थापाथलीकी गणित शिक्षक अनूपमा शर्मा र धुम्रबराह माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुजाता राजलवट रहेका छन् ।

सम्मानित हुने मध्येकी एक रानी कक्षपति उत्कृष्ट शिक्षा नेपालमै दिन सकिन्छ भन्ने उदेश्यले शुभतारा स्कुलको स्थापना गरी विद्यालय शिक्षामा नयाँ आयाम थप्न उनको योगदान रहेको छ । यसैगरी २०६७ सालको एसएलसीमा गणित विषयको नतिजाका आधारमा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भईसकेकी अनूपमा शर्माले विद्यालय शिक्षामा २०८० पुस २६ गतेबाट बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र धुलिखेलको विस्तारित तालिम केन्द्र काठमाडौँ उपत्यकाको प्रशिक्षकका रूपमा कार्यरत रही सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धिमा लागिरहेकी छन् ।

यसैगरी काठमाडौँको धुम्बाराही स्थित श्री धुम्रबराह माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुजाता राजलवट २०६० सालदेखि अहिलेसम्म प्रधानाध्यापकको भूमिकामा रहेर विभिन्न आरोह अवरोहकाबिच अथक परिश्रम र लगावले बालविकास कक्षादेखि १२ कक्षासम्म विद्यालय सञ्चालन गरेर देश कै उत्कृष्ट विद्यालयका रूपमा चिनाउन सफल छिन् ।



