काठमाडौँ /२१ फागुन – २०८१ फागुन १४ गते खबर एजुकशेनका लक्ष्मी ढकालजीको फोन आयो । लामो समयपछि कुराकानी भएकोले सन्चो बिसन्चोका कुराकानी हुने नै भए । कुराकानीको प्रसँगमा उहाँले ११५ औँ अन्तरराष्ट्रिय नारी दिवससँग सम्बन्धित कार्यक्रमका बारेमा बताउनु भयो ।
मैले उहाँलाई सोँधे : यति बेला कहाँ हुनुहुन्छ ?
उहाँले भन्नु भयो : सिंहदरबार परिसरमा नै छु ।
एकछिन भेटौं न भन्ने कुराकानी भए अनुसार उहाँ युवा तथा खेलकुद मन्त्रालयमा आउनु भयो । माथि भनिएको कार्यक्रमका बारेमा कुरा भयो । कार्यक्रममा मलाइ वक्ताको रूपमा आमन्त्रण गर्नु भयो । विषय रहेछ : समावेशी कक्षाकोठा ।
मैले मेरो कार्यक्षेत्र र विषयका बारेमा कुरा गर्दै थिएँ । उहाँले विशेष आग्रह नै गर्नु भयो । शिक्षाक्षेत्रमा लामो समय बिताउनु भएका पत्रकारको आग्रह नकार्न सकिन । मैले भनेः हुन्छ म आउँछु । तर कार्यक्रममा धेरै बेर बस्न गाह्रो हुन्छ है भनेर जानकारी पनि गराएँ । अनि उहाँसँग बिदा भइयो ।
कार्यक्रम बोल्छु त भने । तर कहाँबाट सुरु गर्ने र कहाँ अन्त गर्ने बडो असामञ्जस्यमा परेँ । सतही कुरा गर्न सजिलो हुन्छ । यस्तै भएन अनि बिग्र्यो ढँगबाट भन्न सजिलो हुन्छ । तर विषय वस्तुलाई मसिनोसँग केलाएर सकारात्मक ढँगबाट बताउन त्यति सजिलो छैन ।
विगततिर फर्केर हेरेँ । साविकको शिक्षा विभागमा समावेशी शिक्षा शाखा थियो । बोल्ने विषयवस्तुलाई त्यससँग जोडने प्रयास गरेँ । त्यसले गरेका कार्यहरू सम्झेँ । उक्त शाखाले अपाङ्गता भएका बालबालिकाको शिक्षासम्बन्धी केही काम गथ्र्यो । सो समयमा यस शाखाले आयोजना गरेका कतिपय कार्यक्रममा केही बोलेँ जस्तो होला । शायद दिएको समयभन्दा बढि नै बोलेँ होला । शायद उमेर र परिस्थितिले होला बोलेर काम हुन्छ जस्तो लाग्थ्यो उक्त समयमा ।
अहिले आएर विगत सम्झदा कमीकमजोरी महसुस हुन्छ । सेल्फ रिफलेक्सन पनि मानव जीवनको ठुलै साहसी कार्यजस्तो लाग्छ । मैले त्यो बेलामा बुझेको समावेशी एवम् समावेशीतार अहिले मनन गरेको यो विषयका बिचमा धेरै नै अन्तर पाएको छु ।
उक्त समयमा बोलेका कतिपय विषयलाई अहिले आएर मिल्ने भए करेक्शन गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । शायद मानिसको विगतका कार्य वा घट्नालाई मेट्ने कुनै इरेजर बनेको छैन होला अहिलेसम्म । यदि यस्ता इरेजर बनेको भए केही थान किनेर राख्थेँ । अनि विगतका कमी कमजोरीहरूलाई क्रमशः मेट्दै पनि जान्थे । अल्प बुझाइ भएको समयमा बोलेका कुराहरू मेट्दै जाने थिएँ ।
माथि त्यसो भनिरहँदा अहिले बुझाइ पुरा भयो त भन्ने विषय पनि आउँला । अवस्था त्यस्तो पनि होइन । त्यति बेला ठाउँ पाए पछि बोलियो होला । कतिपय स्थानमा समय मागेर पनि बोलियो होला । कतिपय सन्दर्भमा बोल्ने विषयलाई हककै रूपमा पनि लिइयो होला । कतिपय विषयमा त अझ अल्प ज्ञानकै आधारमा पनि बोलियो होला ।
ज्ञान र बुझाइ त अहिले पनि कति नै छ होला र म आफैँसँग पनि रु मात्रामा त्यति फरक नहोला । फरक यति हो कि उतिबेला बोल्नका लागि बोलियो होला । केही भन्नकै लागि बोलियो होला । उपस्थिति जनाउनकै लागि पनि बोलियो होला । शायद समयको महत्व अहिले जसरी मनन गर्नसक्छु सो समयमा सो ज्ञात कम भएको हुनसक्छ ।
अहिले अल्पज्ञानको आधारमा बोल्ने काम नगर्दा राम्रो हुन्छ भन्ने ज्ञात भएको छ । थाहा नभएको विषयमा नबोल्दा राम्रो हुन्छ भन्ने जानकारी छ । चाहिनेभन्दा कम बोल्दा पनि पुग्छ भन्ने जानकारी छ । अहिले मैले प्रतिक्रिया जनाउनका लागि भन्दा पनि बुझ्नका लागि अरूलाई सुन्ने गर्दछु । थोरै बोलेर धेरै विषय सम्प्रेषण गर्ने बारेमा सोच्दछु ।
कम बोल्ने वा आवश्यक नपरे नबोल्ने आदत बनाउने यात्रामा छु । अमेरिकन रेलिजियस लिडर मार्क ट्वेनले भनेझैँ १० वर्ष उमेर भएको व्यक्तिलाई ८० वर्ष उमेर भएको व्यक्तिको अनुभव सार्न मिल्ने भए यो संसार कस्तो हुन्थ्यो होला । मलाइ पनि त्यस्तै भए कस्तो हुन्थ्यो होला । कल्पना त हो नि । हासिल नभए पनि सोच्न त पाइन्छ ।
शीर्षकभन्दा अन्यत्र विषयान्तर भएको लाग्न पनि सक्छ । तर त्यसो होइन । माथि उठान गरिएको पक्ष दिएको विषय भित्रै पर्छ । समावेशीको बारेमा चर्चा गर्न वा केही भन्नैका लागि मैले पृष्ठभूमि तयार गरेको मात्र हो है ।
गायक खेम सेन्चुरी र शान्तिश्री परियारको एउटा तल्लो बाटो भन्ने लोक दोहोरी गीत छ । असाध्य मार्मिक गीत छ । नेपालीहरू तल्लो बाटो अमेरिका गएको सन्दर्भ यस गीतको भिजुअलमा देखाइएको छ । गीतका शब्दहरू सुनिरहुँ जस्तो छ ।
खेम भन्छन ः कलकलाउँदो बैश जोबन विदेशीलाई चन्दा, पिरको बाटो गाह्रो हुन्छ भीरको बाटो भन्दा । गीत यस्तै यस्तै मार्मिक खालको शब्द र वाक्यले बनेको छ । हाम्रा आफ्नै अपूर्ण बुझाइका कारण सृजना भएका अवस्थाले अरू कतिलाई चोट परेको होला । मेरै आफ्नै कारणले कति चोट परेको होला । मनमनै विचार गर्छु । पक्कै पनि एउटाको अबुझपनले अर्काको मनमा परेको पिर पीडादायककै हुन्छ होला ।
विगतमा भएका यस्ता कार्यलाई कति बुझेकाले यो नादान रहेछ भनेर माफी दिए होलान । अझ कतिपय अवस्थामा अरूलाई गर्नै नहुने व्यवहार पनि भए कि रु एकछिन सोचौँ त । हामी धेरैबाट यस्तो हुनसक्छ । खेम र शान्तीश्रीको गीतमा भनेजस्तै हाम्रै कारण कतिको मनमा चोट पुग्यो होला विगतमा । कतिले त गायक प्रमोद खरेलले भने झैँ मनमा पर्यो चोट । के भन्नु खै भन्नु तिमीलाई आफ्नै थियो खोट भन्ने गीत सुनेर मन पनि बुझाए होलान ।
आजको विषय अर्थात् समावेशी कक्षाकोठाका बारेमा केही बताउनकै लागि माथिको सन्दर्भ जोडिएको मात्र हो । मलाइ लाग्छ माथिका सन्दर्भले यहाँ उठाउन खोजिएको विषयलाई आधार प्रदान गरेका छन् ।
आज मलाइ बोल्न भनिएको विषय समावेशी कक्षाकोठाका बारेमा उत्तरभन्दा पनि प्रश्नबाट सुरु गर्दा सजिलो हुन्छ जस्तो लाग्छ मलाइ । त्यही भएर आज मसँग उत्तर भन्दा पनि प्रश्न धेरै छन । हामी सबैले यहाँ उठाइएका प्रश्नहरूलाई मनन गरेमा विषय पनि बुझिने अनि व्यवहार पनि परिवर्तन हुन्छ भन्ने लाग्छ मलाइ त ।
समावेशी कक्षाकोठाका बारेमा बोल्नु अघि समावेशी र समावेशीताका बारेमा नै चर्चा गर्नु पर्ने नै भयो । आउनुस सो भन्दा अघि चर्चा गर्नुपर्ने विषय अरू नै छन् तीनका बारेमा केही मनन गरौँ ।
‘समावेशी’ शब्दको अर्थ खोज्नु अघि विविधता अर्थात् डाइर्सिटी र समता (इक्वीटी) का बारेमा स्पष्ट हुनुपर्छ ।
विविधताले हामीमा रहेको फरकलाई जनाउँछ । एक व्यक्ति वा समूह अर्कोसँग के कसरी फरक छ भन्ने विषयलाई उजागर गर्छ । यस पृथ्वीमा रहेका ८ अर्ब भन्दा बढि मानिसहरू एकआपसमा फरक छन् । कुनै एक व्यक्ति अर्कोसँग ठ्याककै फोटोकपी जस्तो नदेखिन सक्छ । यीनमा कुनै न कुनै पक्षमा फरक हुन्छ नै ।
मानिसहरूको बीचमा रहेका यस्ता फरक पक्षमध्ये कतिपय फरकले एक अर्कासँगको प्रतिस्पर्धामा खासै फरक पार्दैन। जस्तै व्यक्तिको औँलाका चक्रमा रहेको फरकले व्यक्तिका अरू क्रियाकलाप वा कार्यहरू प्रभावित हुदैनन् । यस्ता व्यक्तिहरूले गर्ने कार्यमा उक्त चक्रको असर रहदैन् । अझ भनौँ खासै प्रभाव पार्दैन । व्यक्तिहरूको बीचमा फरक देखाउने यस्ता धेरै तत्वहरू हुनसक्छन् जसले व्यक्ति व्यक्ति बीचमा हुने प्रतिस्पर्धाका कारण उनीहरूले पाउने अवसर र नतिजा प्राप्तिमा खासै भूमिका खेल्दैनन् ।
व्यक्तिहरूको बीचमा रहेको केही वैयक्तिक विशिष्टताले जीवनको दौडमा फरक पार्छ नै । अवसरको प्राप्तिमा असहयोग पुग्न सक्छ । कतिपय सन्दर्भमा खासै सहयोग नगर्न पनि सक्छ। जस्तै व्यक्तिको गोडामा भएको कमजोरीले दौडको प्रतिस्पर्धामा प्रभाव पार्ने भयो । आँखामा रहेको कमजोरीले अध्ययन लगाएतका अन्य अवसरमा प्रभाव पार्ने भयो ।
मानिसमा रहेका यीनै विविधताहरूलाई चिन्ने, विविधतालाई सम्मान गर्ने र तदनुरूप व्यवहार गर्ने अपेक्षा गर्नु सभ्य समाजमा अस्वाभाविक भएन। सभ्य समाजमा यस्तो व्यवहारको अपेक्षा व्यक्तिगत तहमा, साङ्गठनिक तहमा र राज्यको तहमा गरिन्छ। यसका साथै सामाजिक जीवनमा पनि यस्तो व्यवहार अपेक्षित हुन्छनै ।
के हामीले विविधताको पहिचान र सम्मान गर्दै तदनुरूपको व्यवहार अवलम्बन गरेका छौ त ? एकछिन व्यक्तिगत रूपमा सोचौँ त ।
यी प्रश्नको उत्तर खोज्नु अघि केही विषयमा अझ स्पष्ट हुनुपर्छ । माथि भनिझैँ एक व्यक्ति र अर्को व्यक्तिको बीचमा रहेका सबै फरक पक्षलाई पहिचान गर्न त सकिन्छ नै । तर ती सबै फरक पक्षका बारेमा सोच्नु पर्दैन । वा त्यसलाई नोटिस नगर्दा पनि केही फरक पर्दैन । तर अन्य केही फरक पक्ष वा विविधता हुन्छन जसका बारेमा सबैले नोटिस गर्नै पर्छ । संवेदनशील व्यवहार अपनाउनै पर्छ । अझ सार्वजनिक जीवनमा त झन अनदेखा गर्नै हुदैन । तसर्थ त्यस्ता फरक पक्षका बारेमा विचार गर्नुपर्छ जस्ले व्यक्तिको अवसर प्राप्तिमा अवरोध सृजना गर्नसक्छ। असहयोग गर्न सक्छ ।
राज्यले कानून बनाएर नै व्यक्तिमा देखिने वा हुने यस्ता फरक पक्षलाई सूचीकरण गरी सबैले पालना गर्नुपर्ने वातावरण सृजना गर्न सक्छ। यस्तो वातावरण निर्माण गरेको पनि हुन्छ । यस्ता विषयहरू संविधानमा इन्डिकेटीभ रूपमा मात्र उल्लेख गरिएका हुन्छन् । संयुक्त राष्ट्र संघ र यसका विशिष्टीकृत निकायहरूले पनि व्यक्ति वा समूहका बीचमा देखिने फरक पक्षको पहिचान र सो को सम्बोधनका लागि घोषणापत्र लगाएत विभिन्न कोभेनेन्टहरू जारी गरेका हुन्छन् । विभिन्न बहुपक्षीय घोषणामा समावेश गरेका हुन्छन् । नेपालको सन्दर्भमा पनि व्यक्ति वा समूहका बीचमा हुने फरक पक्षलाई पहिचान र सम्बोधनका लागि विभिन्न कानून एवम् नीति कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।
मानिसहरूमा रहेको मुख्य मुख्य विविधता वा फरक पक्षलाई देहाय बमोजिम सङ्क्षेपीकरण गर्न सकिन्छ। यस्ता विविधताका बारेमा मानवोचित व्यवहार सभ्य समाजको लागि अपरिहार्य हुन्छ । यीनका बारेमा सबै संवेदनशील बनेर सो बमोजिम व्यवहार गर्नुपर्छ ।
लैगिंक रूपमा
भाषिक रूपमा
भौगोलिक रूपमा
क्षमताको रूपमा
जातजातिगत रूपमा
आर्थिक क्षमतागत रूपमा
धार्मिक एवम् सांस्कृतिक रूपमा
सामाजिक पुजीँको रूपमा
अपाङ्गताको रूपमा
वर्ग समुदाय र समग्र हैसियतको रूपमा
आदि ।
नीति निर्माता, शिक्षक, अभियन्ता सबैको कर्तव्य आफ्नो कार्य क्षेत्र र दायरामा रहेका विषयमा जोडिन आउने व्यक्ति वा समूहहरूको विविधताको स्वरूप के कस्तो छ भनेर बुझ्नु हो, विविधताको पहिचान गर्नु हो, विविधतालाई स्वीकार गर्नु हो । विविधताको पहिचान पछि सोलाई स्वीकार गरी सम्मानपूर्ण व्यवहार गर्नु हो । यो हरेक मानवले गर्नु पर्ने मानवोचित व्यवहारमध्ये एउटा व्यवहार हो ।
के हामीले हाम्रा कक्षा कोठामा भएको विविधतालाई पहिचान गरेका छौ ? विद्यालयमा भएको विवधतालाई पहिचान गरेका छौँ ? के हामी यस्ता विविधता अब पहिचान गर्न सक्छौँ ?
यो काम गर्न त्यति सजिलो छैन । तर गर्नै नसकिने काम पनि होइन । हामीमा मानवीय स्वभाव, मानवीयता, मानवीयचेत हुने हो भने यस्ता विविधतालाई सजिलै पहिचान गर्न सक्छौँ। यसको लागि हरेकमा अन्तर्दृष्टिबाट हेर्ने एवम् पहिचान गर्ने क्षमता विकास गर्न सक्नुपर्छ। मनलाई त्यसतर्फ लैजान प्रतिबद्ध हुनुपर्छ ।
यो अन्तर्दृष्टि विकासमा पूर्वीय दर्शनको एउटा सन्दर्भ जोड्दा उपयुक्त हुनसक्छ ।
अष्टावक्र गीतामा ऋषि अष्टावक्र र राजा जनकको बिचमा मार्मिक संवाद छ । यो संवाद हुनुभन्दा अगाडिको घटना रोचक र मार्मिक छ । जब अष्टावक्र राजा जनकको दरबारमा प्रवेश गर्ने सोच अनुरूप दरबारतर्फ लाग्छन् । ऋषि दरबारमा जानुको कारण ज्ञानगुनयुक्त संवादमा सहभागी हुनु थियो । किनकी उक्त समयमा राजा जनक ज्ञानी ज्ञानले युक्त मानिन्थ्यो र उनको दरबारमा समय समयमा शास्त्र एवम् ज्ञानका बारेमा शास्त्रार्थ भइरहने गर्दथ्यो । ज्ञानमाथि हुने विमर्शमा विद्वानहरूको बीचमा प्रतिस्पर्धा पनि गराइन्थ्यो ।
यही शास्त्रार्थ हुने समय पारेर अष्टावक्र राजा जनकको दरबारमा गएका थिए । जब उनी गेटबाट राजसभामा प्रवेश गर्छन, तहाँ उपस्थित धेरै जना गलल हाँस्छन् । यो देखेर अष्टावक्र पनि जोड जोडले हाँस्न थाल्छन् ।
राजा जनक भने दरबारभित्रको यी दृश्य देखेर बेचैन हुन्छन । घटनालाई लिएर बडो दुखी हुन्छन् । उनको सभामा बसेकाहरू किन हाँसे भन्ने बारेमा राजा जनकलाई ज्ञात नहुने कुरै भएन । तर अष्टावक्र पनि किन हाँसेत रु उनको मनमा यही प्रश्न रहेको थियो ।
यही अन्योलताका बीच राजा जनक अष्टावक्र लाई सोध्छन् ‘मुनिवर, के म यहाँको हाँसोको कारण जान्न सक्दछु ?
राजा जनको प्रश्न सुनेर अष्टावक्र जवाफ दिन्छन् – म त राजा जनकको सभामा आएको थिएँ । यहाँ विद्वानहरू हुन्छन् भन्ने पनि सुनेको थिए। यस्ता विद्वानहरूको बीचमा रहँदा ज्ञानगुनका कुरा सुन्न पाइएला, ज्ञान प्राप्तिको अतृप्त चाहनामा केही भए पनि सहयोग पुग्ला भन्ने लागेको थियो। अफसोस म त छाला व्यापारीको सभामा आए जस्तो लाग्यो । किनकी यहाँ बस्ने धेरैजना मेरो छाला, अनि बाङ्गोटिङ्गो शरीर देखेर पो हाँसे। राजा जनकको सभामा छाला व्यापारी जस्तो सोच भएका व्यक्तिहरूको भारी उपस्थिति देखेर मलाई हाँसो उठ्यो। मैले हाँसो थाम्न सकिन अनि म पनि हाँसे ।
मुनी अष्टावक्रको यस भनाइले राजा जनकलाई बडो खिन्न बनायो । उनले अष्टावक्रलाई चिनीहाले। यी साधारण मानिस होइनन । यी त महान सन्त हुन भनेर उनीसँग तत्कालै तहाँ भएको घटनाप्रति माफी मागे । ज्ञानी अष्टावक्रले राजा जनकलाई माफी नदिने कुरै भएन । वास्तवमा भन्ने हो भने तहाँको घटनाले अष्टावक्रलाई छोएको थिएन । उनले तहाँका सबैलाई चेत खुलाउनका लागि माथिको वाक्य भनेका थिए ।
राजा जनकले अष्टावक्रसँग माफी मागेर उनलाई आसनमा राखेर पाउ धोए । ज्ञानका सदैव भोका राजा जनक अष्टावक्रसँग केही बोल्ने अनुमति मागे । अनि प्रश्नोत्तरको सिलसिला अगाडि बढ्छ । राजा जनकले सोधेका सबै प्रश्न जीवन र जगत एवम् मुक्तिका लागि थिए । अनि राजा जनक सबै कुरा छोडेर अष्टावक्रसँगको संवादमा लिप्त भए ।
पूर्वीय दर्शनमा व्याख्या गरिएको यस सन्दर्भले विविधता चिन्न सक्नुपर्ने विषयमा गतिलो सन्देश दिएको छ । अष्टावक्र यसै पनि आठ स्थान बाङ्गिएको शरीर लिएर हिँड्डुल गर्ने व्यक्ति । यही शरीरका कारण अरू भन्दा उनी फरक थिए नै । यो भन्दा नदेखिने फरक त उनी प्रकाण्ड विद्वान् थिए भन्नेमा रह्यो । अष्टावक्र अद्वितीय थिए । राजा जनकको सभाका धेरैले उनमा रहेको फरकपनालाई पहिचान गरेर सम्मान गर्न सकेनन्, बरु सम्मानको सट्टामा हासेर मजाकको विषय बनाए। तर राजा जनकले विविधता चिनेर सम्मान दिए ।
के हामीले यस्ता विविधता पहिचान गर्ने क्षमता छ रु हाम्रा कार्यक्षेत्रमा कतिपय यस्ता व्यक्ति भेटिए होलान जसको विविधता हामीले पहिचान गर्न सकेनौ र सम्मान दिन पनि सकेनौँ रु बरु उल्टो उनिहरूको चित्त दुखायौँ होला । मनमा पिर सृजना गर्यौँ होला ।
माथि नै भनियो कि जब विविधता पहिचान हुन्छ, त्यस अनुकूल व्यवहारको अपेक्षा गरिन्छ। फरकलाई सकारात्मक दृष्टिकोणबाट फरक खालको व्यवहार गर्नुपर्छ । व्यक्ति कुन पक्षमा फरक र सो फरक पक्षलाई सम्बोधन गर्न ट्रिटमेन्ट अर्थात् थप उपचार चाहिन्छ । यहाँ उपचार भनेको मेडिकल क्षेत्रको उपचारमात्र होइन । यो त अवसर र सेवा सुविधामा थप गर्ने विषय हो । केही थप सहयोग उपलब्ध गराउने विषय हो ।
सामान्य रूपमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई निजको आवश्यकता अनुसार ह्वील चेयर उपलब्ध गराउने हो । आँखाको ज्योति कमजोर भएकोलाई थप सहयोग गर्ने हो । फरक पक्ष चिनेर त्यसलाई सम्बोधन गर्न उपयुक्त सहयोग उपलब्ध गराउने कार्य नै उपचार हो । यही फरक पक्षलाई सकारात्मक ढँगबाट थप सहयोग गर्नु वा सकारात्मक ढँगको फरक व्यवहार गर्नु नै समता हो ।
व्यक्तिमा रहेको फरकपना हेर्नका लागि एउटा मात्र दृष्टिकोण वा आयामको प्रयोगले पुग्दैन। धेरै आयाम वा दृष्टिकोण एकै पटक प्रयोग गर्नुपर्ने हुनसक्छ । उदाहरणका लागि हुम्लाको दुर्गम गाउँमा दलित घर परिवारमा जन्मेको अपाङ्ग वालिका अरूभन्दा फरक देखिने आयाम देहायका हुन सक्छन् ।
भूगोल सम्बन्धी दृष्टिकोण – हुम्लाको दुर्गम गाउँ ।
जातजातिगत सम्बन्धी दृष्टिकोण – दलित ।
लिङ्गता सम्बन्धी दृष्टिकोण– छात्रा ।
आर्थिक पक्षसँग सम्बन्धी दृष्टिकोण – गरीब विपन्न परिवार ।
शैक्षिक सम्बन्धी दृष्टिकोण – बुवा आमाको साक्षरताको अवस्था। बालिका स्वयम् विद्यालय जान नसकेको अवस्था ।
सामाजिक – सांस्कृतिक सम्बन्धी दृष्टिकोण– घर परिवारमा वा समाजमा छोरी माथि रहेको विभेद । आदि । यस्तै अरू आयाम पनि हुन सक्छन् ।
यस अवस्थामा रहेका बालिकाहरूलाई निःशुल्क शिक्षाले मात्र पुग्दैन । यहाँ समता भनेको उनीमाथि न्यायपूर्ण अवस्था सृजना गर्नु हो । माथि उल्लेख गरिएका बालिकालाई शिक्षा अधिकारको रूपमा स्थापित छ भनेर मात्र नपुग्ने भयो । यहाँ त सामाजिक सुरक्षा पनि सँगै चाहिने देखियो । छात्रा वा दलित वा कर्णाली छात्रवृत्ति भनेर मात्र पनि नपुग्न सक्छ । न्यूनतम रूपमा पनि माथिका ६ ओटा आयाममा सहयोग उपलब्ध गराउनुपर्छ । त्यसको लागि वातावरण बनाउनु पर्छ । यस्ता सहयोग वा अनुकूल वातावरण नै उपचार अर्थात् ट्रिटमेन्ट हो । यही फरक उपचारलाई समता भन्ने गरिन्छ ।
तसर्थ विज्ञहरूले फरक पक्षलाई सम्बोधन गर्न तीनवटा समता अर्थात् न्यायपूर्ण अवस्थामा ध्यान दिनुपर्छ भनेका छन् ।
समतलीय न्याय (होरिजेन्टल इक्विटी) ।
ठाडो खालको न्याय (भीर्टकल इक्विटी) ।
अवसरमा समानता (इक्विटी अफ अपरच्यूनिटी) ।
मुलुक भरमा छोराछोरीको बीचमा फरक छ भनेर बुझ्नु भनेको समतलीय इक्विटी हो भने छोरीहरूकै बीचमा पनि एकआपसमा फरक हुन्छ भनेर बुझ्नु भर्टिकल इक्विटी हो। यी दुईलाई बुझ्दै गर्दा छोरीहरू जन्मेको अर्थात् रहेको स्थानले पनि फरक पार्छ भनेर मनन गर्नु वा आत्मसाथ गर्नुलाई इक्वालिटी अफ अपरच्यूनिटी मनन गर्नु हो भन्न सकिन्छ । समता भनेको फरक पक्षलाई पहिचान गर्ने र सो फरकपना सम्बोधन गर्न थप सहयोग सहयोग दिनु हो । न्यायपूर्ण अवस्था सृजना गर्नु हो ।
समावेशीतालाई मनन गर्न यी दुई अवधारणा भन्दा पनि पर पुग्नु पर्छ । जब फरकपना बुझियो, अनि सोलाई सम्बोधन गरियो भने तहाँ न्यायपूर्ण अवसर उपलब्ध गराइयो भनेर बुझ्नुपर्छ । यस न्यायपूर्ण अवसरको उपलब्धता पछि पनि अझ एउटा मनोवैज्ञानिक पक्ष बाँकी रहन्छ । त्यसलाई समावेशीता भनिन्छ ।
समावेशीता भनेको सेन्स अफ विलोङ्गीङनेश अर्थात् म पनि सबैसँग सँगै छु वा सँगै समाहित छु भन्ने भावना आत्मसाथ गर्नु गराउनु हो। महसुस गराउनु हो । यस्तो अपनत्व वा विलोङ्गीनेशका लागि सुरुमा भौतिक उपस्थितिले पनि अर्थ राख्छ, जब भौतिक उपस्थिति हुन्छ, अनि फरक व्यक्तिलाई सुन्ने वातावरण छ कि छैन भन्ने हुन्छ, अनि क्रमशः निर्णय प्रकृयामा सहभागिताको प्रश्न आउँछ ।
हाम्रा कक्षाकोठा समावेशी कसरी बन्छन त ? समावेशी कक्षाकोठा बनाउन हामीले के गर्नुपर्छ त ?
शिक्षा क्षेत्रमा हामीले समावेशीलाई अपूर्ण रूपमा व्याख्या गर्यौ । यस्तै प्रचलनले प्रधान्यता पाउँदै गयो । धेरै मात्रामा यसलाई भौतिक वा रूपको सन्दर्भमा लिने गरेको देखिन्छ । भौतिक पक्षको व्यवस्थापनले मात्र समावेशीता भएको मान्न सकिन्न । समावेशीताको एकाइ कक्षाकोठा वा भौतिक एकाइ होइनन । हामी कहाँ भौतिक एकाइलाई केन्द्रमा राखेर हेर्न गरेको पाइन्छ ।
समावेशीताको एकाइ व्यक्ति हुनुपर्छ, समूह पनि हुनसक्छ ।
एउटा उदाहरण लिउँ । अपाङ्गता अनुकूलको भौतिक पूर्वाधार निर्माण भएको स्थानमा पनि कुनै व्यक्ति ह्विलचेयरमा बसेर सभामा पुग्दा निजलाई त्यहाँ स्वीकार गरिएन वा सुनिएन वा नोटिस गरिएन भने तहाँ समावेशीता भएको मान्न कठिन छ । बरु बाहिर चौतारामा बसेको समयमा निजलाई सबैले स्वीकार गर्ने, नोटिस गर्ने, सुन्ने गरेमा यो बढि समावेशी भएको अवस्था भनेर मान्नुपर्छ ।
सबैजना कक्षाकोठा हुनुपर्यो । सबैजना तहाँसम्म सहजै पुग्न पाउनुपर्यो । अनि सबैलाइ नोटिस गरिनुपर्यो । यदि सबैजना बाहिर चौतारामा बसेको भए सो स्थानमा पनि यही लागु हुनुपर्यो ।
समग्रमा भन्नुपर्दा फरक पक्षलाई सम्बोधन गर्ने उपाय तथा साधनहरूको प्रयोग र मनोवैज्ञानिक रूपमा आफू पनि भित्रै परेको वा समावेश भएको अनूभुती दिने वा दिलाउने वातावरणलाई समावेशीता भनिन्छ ।
हामीले शिक्षामा समावेशीतालाई यसरी लिनुपर्छ ।
राजा जनकले अष्टावक्रलाई ह्विलचेयर राख वा यस्तै कुर्सीमा राख मात्र भनेको भए सोलाई समावेशीता भन्न कठिन थियो । उनलाई राजा जनकले पहिचान गरे, नोटिस गरे, फरकपनालाई सम्मान गरे यही नै समावेशीताको उदाहरण हो । यहाँ नोटिस गर्ने विषय सन्दर्भ र परिवेश अनुसार हुनसक्छ । तर हुनैपर्छ । यसो भनेर सबैलाई सम्मान गर्दै हिड्नु पर्छ भनेको पनि होइन । सार्वजनिक स्थानमा आएको समयमा फरकलाई चिनेर सो बमोजिम मानवोचित व्यवहार गर्नुपर्छ मात्र भनिएको हो ।
माथि नै भनिसकेँ अहिले समावेशीता रूपमा मात्र खोज्न थालिएको छ । यो रूपमा मात्र खोज्ने विषय होइन । यसलाई सारमा पनि सँगै खोज्नुपर्ने हुन्छ । त्यही भएर समावेशीतालाई मनन गर्ने कार्य अत्यन्त महत्वपूर्ण हुन्छ भनिएको हो ।
सार्वजनिक जीवनमा सारमा समावेशीता चाहिन्छ। रूपले मात्र सबैको भावना नसमेटन सक्छ । मानिस बाहिरबाट हेर्दा ठीकठाक देखिन सक्ला तर हाम्रा व्यवहारले निजलाइ चोट परेको हुनसक्छ । उसको मनमा रहेको गहिरो घाउ परेको हुनसक्छ, जसलाई,बाहिरबाट देखिदैन । नारायण गोपालको मलाई नसोध कहाँ दुख्छ घाउ भने जस्तै हुन सक्छ । देखिने फरक पक्षको मात्र सम्बोधन गरेर नपुग्न सक्छ, नदेखिने फरक पक्षलाई समेत पहिचान गरेर सम्बोधन गर्न सक्नुपर्छ समावेशीतामा । आवरणको मात्र साज सज्जा दिएर पुग्दैन । भित्र हेरेर पनि व्यवहार गर्न सक्नुपर्छ ।
के शिक्षकले यी सबै काम गर्न सक्छन् त ?
प्रश्न नीति निर्मातालाई पनि आउन सक्ला । म स्वयमलाई पनि आउनसक्छ । यहाँ ओठे जवाफ भन्दा पनि गर्नुपर्छ भनिएको हो । नभएको स्थानमा गरौँ भनेको हो । अहिलेसम्म जति गरियो अब नयाँ ढंगबाट काम गरौँ भन्ने मात्र हो ।
द्रोणाचार्यले अर्जुनलाई चिने । उनले एकलव्यलाई पनि चिने । यसरी व्यक्तिलाई भित्रैबाट चिन्न गुरु हुनुपर्ने रहेछ । योग्यता एवम् पोसाक आधारमा शिक्षक बन्न सकिने रहेछ । गुरु बन्नका लागि भित्री नेत्र खुल्नु पर्ने रहेछ । व्यक्तिको भित्री मन चिन्न त गुरु नै हुनुपर्ने रहेछ । शिक्षकबाट गुरुमा रूपान्तरण हुनका लागि हामी पनि थप समावेशी बन्नुपर्ने रहेछ ।
हिन्दी फिल्म तुमसे अच्छा कौन है मा एउटा बडो मार्मिक गीत छ । गीतको सार छः यहाँ आँखे हे भरी भरी, और तुम मुस्कुरानेको बात करते हो । जिन्दगी हफा हफा और तुम दिल लगानेको बात करते हो । आँखा भरिएको वा दुख परेको बेलामा दिलको कुरा गर्नुको अर्थके नै रह्यो र रु व्यक्ति समावेशी बन्न नसक्दा यस्तो अवस्था आइरहन सक्छ ।
तसर्थ शिक्षक भएर त अहिलेको समावेशीतालाई रूप र आवरणमा मात्र बुझ्न सकिन्छ है । यही रूप र आवरण हेरी तदनुसारको व्यवहार गर्न सकिन्छ । शिक्षकबाट जब गुरु बनिन्छ अनि मात्र विविधतालाई भित्रैबाट बुझ्न हेर्न मनन गर्न फरक दृष्टिकोण बन्न सक्छ । यसका लागि हामी सबैले थप मेहनत गर्नै पर्छ ।
गुरु बनेपछि कक्षाकोठाका बालक वा बालिकाको सारमै आवरण, कक्षाकोठाको भित्री र बाहिरी आवरण र बालबालिकाको भित्री स्वरूप सबै एकैपटक देख्न पाइन्छ । मनन गर्न सकिन्छ । यी सबै देखे पछि बिग्रेको स्थानमा मर्मत, नमिलेको स्थानमा थप मिलाएर समावेशीताको वास्तविक मर्म कार्यान्वयन हुन सक्छ ।
समावेशी कक्षाकोठा त्यस्तो कक्षाकोठा हो जहाँ सबै बालबालिकाले विलोङगीङनेशको अवधारणा बमोजिम सिक्ने वातावरण बन्दछ । भेदभावरहित रूपमा सिक्ने वातावरण हुन्छ । कक्षाकोठामा सबैजना इन्क्ल्यूड भएको महसुस गर्न सक्छन् । सबैले आत्मसाथ गर्न सक्छन् । सिकाइ हासिल गराउने क्रममा शैक्षिक, सामाजिक, संवेगात्मक र सञ्चारका सबै पक्षमा न्यायपूर्ण अवसर उपलब्ध गराइन्छ । सिकाइ क्षमता भएका र फरक सिकाइ क्षमता भएकाहरू सँगै बसेर सिक्न पाउने र सिकाउने वातावरण समावेशी कक्षाकोठामा उपलब्ध हुन्छ ।
समावेशी कक्षाकोठा कसैको बहिस्करणको अप्पोजिट हुन्छ । यो बहिस्करण शब्दको अर्थ व्यापक हुन्छ । समावेशी कक्षाकोठा दुई फरक फरक कोठामा फरक समूह बनाएर पढाउने अर्थात् सेग्रीगेशन पनि होइन । एउटै कक्षाकोठामा दुइ समूह बनाएर गरिने इन्टिग्रेशन पनि होइन । एउटै कक्षाकोठामा उनीहरूलाई आफ्नो तरिकाबाट सिक्न पाउने वातावरणसहितको कक्षाकोठा हो ।
(लेखमा समावेश विषय लेखक डा.हरि प्रसाद लम्सालका निजी विचार हुन । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका लम्साल नेपाल सरकारका सचिव हुन् । हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् ।)



