धनगढी/१२ माघ – विद्यालयको गेट ढल्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका ९ गदरियास्थित जनता माध्यमिक विद्यालयको प्रवेशद्वारमा रहेको गेट ढल्दा च्यापिएर बालकको मृत्यु भएको हो ।
बिहीबार दिउँसो कैलारी गाउँपालिका ९ गदरियाका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको ज्यान गएको थियो । अर्का बालक, स्थानीय मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते छन् ।
विद्यालयमा जीर्ण बनेको गेटलाई रसीले बाँधेर राखिएको थियो । विद्यालयले माघ १० र ११ गतेका दिन जाडो बिदा दिएको थियो । त्यहाँकै स्थानीय रहेका ती बालकहरू त्यहाँ खेल्न गएको समयमा बालकहरूलाई फलामे गेटले किचेको थियो बताइएको छ ।
घटनापछि स्थानीयहरू आन्दोलित भएका थिए भने शुक्रबार दिनभरी विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । आन्दोलित स्थानीयहरुले मृतकका परिवारजनलाई क्षतिपूर्ति, घाइतेको उपचार, विद्यालय प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामा माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनालाई १० लाख ५० हजारमा मिलाइएको जनाएको छ । घाइते बालकको उपचार पनि विद्यालयले गर्ने भएको छ । यसका साथै उनको पठनपाठन जिम्मा पनि विद्यालयको रहने भएको छ ।



