काठमाडौं/११ माघ – शिक्षाविद्हरूले ३६० डिग्रीमा सिक्ने, कन्सेप्ट कन्टेन्ट र मूल्याङ्कनलाई सँगै लैजान पाठ्यक्रम विकास केन्द्रलाई सुझाब दिएका छन् । केन्द्रले भावी कार्यदिशा सम्बन्धमा शिक्षाविद् प्रा.डा मन प्रसाद वाग्ले, प्रा.डा. मिन बहादुर विष्ट र प्रा.डा.विद्यानाथ कोइरालासँग गरेको अन्तरक्रिया कार्यक्रममा सो सुझाब दिएका हुन् ।
पाठ्यक्रम विकास केन्द्रले अगाडि बढाउन खोजेको घरायसी कार्यलाई आन्तरिक मूल्याङ्कनमा समावेश, विशिष्टीकरण तालिका अद्यावधिक, सिडिसी ट्याक्सोनोमी विकास, परीक्षामा खुला प्रश्नहरू समावेश, कक्षा ११,१२ का लागि पाठ्यक्रम र मूल्याङ्कन विषयको पाठ्यक्रम विकास, कक्षा ९,१० का लागि व्यावसायिक तथा उद्यमशील शिक्षा विषय अतिरिक्त विषयका रूपमा राख्ने व्यवस्था, कक्षा ११,१२ मा दुई विषय अतिरिक्त विषय लिन पाउने व्यवस्था लगायतका विषयहरूमा पृष्ठपोषण तथा सुझाव प्राप्त गर्न शिक्षाविद्हरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको महानिर्देशक इम नारायण श्रेष्ठले बताए ।
श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रले अघि बढाउन खोजेका विषयहरुका वारेमा प्रस्तुत गरेका थिए भने सहसचिवहरू जयराम अधिकारी, श्रीप्रसाद भट्टराई, चन्द्रकान्त भुषाल, युवराज पौडेल र महेन्द्र पराजुली र पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा अधिकृतहरूको सहभागिता रहेको थियो ।
प्रा.डा.मन प्रसाद वाग्ले घरायसी कार्यलाई पाठ्यक्रम र शिक्षणमा नै इन्टिग्रेट गर्दा राम्रो हुने, पाठ्यक्रममा विषयवस्तु बढी भएकोले त्यसलाई घटाएर प्राक्टिसलाई बढी स्थान दिनुपर्ने, साधारण र व्यावसायिक इन्टिग्रेटेड रूपमा लैजानु पर्ने, नेशनल क्वालीफिकेशन फ्रेमवर्क अनुसार हुनुपर्ने, पाठ्यपुस्तकमा एनेक्सको रूपमा पाठ्यक्रम नै छपाइ गर्ने व्यवस्था गर्नुपर्ने, सिकाइ उपलव्धिलाई प्रत्येक कक्षासँग एसोसियट गर्नुपर्ने, विविधता व्यवस्थापनलाई काउन्सेलिङको माध्यमबाट सम्बोधन गर्नपर्ने र कक्षा ११, १२ अलग विद्यालय तह जस्तो देखिएकोले यसलाई कक्षा १ देखि १० सँग तादात्म्य मिलाउनु पर्ने सुझाब दिएका थिए ।
प्रा.डा.विद्यानाथ कोइरालाले रैथाने दर्शन साँख्य दर्शन, शैव दर्शन र बौद्ध दर्शनलाई पाठ्यक्रम र शिक्षण सिकाइको आधार बनाउन, शिक्षण भन्दा सिक्ने कला सिकाउन, रैथाने ज्ञानलाई उद्योग व्यवसायमा उपयोग गर्न, शिक्षकसँग अनुभव छ र विद्यार्थीसँग प्रविधि छ त्यसैले विद्यार्थीले शिक्षक सँग सिक्ने र शिक्षकले विद्यार्थीसँग सिक्ने गरी सिकाइलाई रेसीप्रोकल बनाउन सुझाब दिए ।
त्यसैगरी कोइरालाले व्यवहारवादी र निर्माणवादी दुवैलाई सम्बोधन हुने गरी शिक्षण सिकाइ हुनुपर्ने, ३६० डिग्रीमा सिक्ने र २४ सै घण्टा सिक्ने कुरालाई आत्मसात् गर्न, कन्सेप्ट कन्टेन्ट र मूल्याङ्कनलाई सँगै लैजान, टेक्नोलोजीकल कम्पीटेन्सीलाई जोड दिन, शिक्षकको अभिमुखीकरणमा अभिभावक र जनप्रतिनिधि पनि सँगै राख्नुपर्ने, खुला प्रश्न राम्रो हुने भएकोले अझ किताब नै दिएर लेख्न लगाएर परीक्षा लिन सकिने, मार्कसिटको पछाडि विद्यार्थीले सिकेको सीप उल्लेख गर्नुपर्ने सुझाब उनको थियो ।
हिमाल, पहाड र तराइका संभावनाहरू उजागर गर्न प्रकृति सिँगार्ने, संस्कृति सिँगार्ने, प्रविधिलाई उपयोग गर्ने कुरामा जोड दिनुपर्ने, शिक्षकले पाठ्यक्रम र पाठ्यपुस्तक पुनर्लेखन गर्न सक्ने, स्थानीयकरण गर्ने सक्ने व्यवस्था गर्न, बहुभाषिक परिस्थितिको सम्बोधनको लागि एकले अर्काको भाषा सिक्ने, शब्दकोष बनाउने र कविता गीत लेख्ने जस्ता अभ्यासहरू प्रचलनमा ल्याउन सकिने, मूल्याङ्कन गर्दा नेट, भेट, पाठ्यपुस्तक र शिक्षकबाट प्राप्त ज्ञान सवै समावेश हुनुपर्ने र इसिडिमा रेयरिङ, केयरिङ र एडुकेटिङ तीनै पक्षलाई समेट्नुपर्ने कोइरालाले सुझाब दिए ।
प्रा.डा.मिन बहादुर विष्टले पाठ्यक्रम विकास केन्द्र, गुणस्तर परीक्षण केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षक शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरूका बिचमा समन्वय हुनुपर्ने सुझाब दिएका छन् । उनले घरायसी कार्यको चेक लिस्ट एप्रोच राम्रो नहुने बताउँदै एकेडेमीक एचिभमेन्ट र घरायसी कामको बिचमा सकारात्मक सहकार्य भएपनि घरायसी कामको मात्रा बढेमा नकारात्मक हुनसक्ने धारणा व्यक्त गरे । अभिभावकलाई संलग्न गराउन ३६० डिग्री मूल्याङ्कन उपयोगी हुने बताए । त्यसैगरी केही देशहरू एआई पाठ्यपुस्तकमा गइसकेकाले हामी पनि ढिलो गर्नु नहुने, एआईमा शिक्षकलाई दक्ष बनाउन र एआईलाई कसरी जित्ने भन्ने प्रयास गर्नुपर्ने सुझाब दिए ।



