शिक्षकको निवृत्तिभरण सम्बन्धी अध्यादेश शिक्षक महासङ्घ द्धारा अस्वीकार

काठमाडौं/४ माघ – नेपाल शिक्षक महासङ्घले नयाँ विद्यालय शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने शिक्षकको निवृत्तिभरण सम्बन्धी विषयमा आम शिक्षकको भावना र आन्दोलनको मर्म विपरीत संशोधन आएको भन्दै अध्यादेश अस्वीकार गरेको छ ।


कुनै पनि पेसाकर्मीले निरन्तर पाइ आएको सुविधामा नकारात्मक असर पर्ने गरी पछि कानुन बनाउनु वा संशोधन गर्नु कानुनी दृष्टिबाट समेत त्रुटिपूर्ण हुने भएको भदै अध्यादेश तुरन्त फिर्ता गर्न माग गरेको छ ।


महासङ्घले विज्ञप्ति मार्फत नेपाल सरकारको सिफारिसमा २०८१ पौष २९ गते जारी भएको निवृत्तिभरण ऐन सम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै विद्यालय शिक्षा ऐन संसदीय प्रक्रिया मार्फत अविलम्ब जारी हुनुपर्ने अवस्थामा रहेका बखत त्यही ऐनबाट सम्बोधन हुनुपर्ने शिक्षकको निवृत्तिभरण सम्बन्धी विषयमा आम शिक्षकको भावना र आन्दोलनको मर्म विपरीत संशोधन आएको हुँदा यो अध्यादेशलाई अस्वीकार गरेको छ ।


“तत्कालीन ऐन, नियम अनुसार नियुक्त कुनै पनि पेसाकर्मीले निरन्तर पाइ आएको सुविधामा नकारात्मक असर पर्ने गरी पछि कानुन बनाउनु वा संशोधन गर्नु कानुनी दृष्टिबाट समेत त्रुटिपूर्ण हुने भएकोले यो अध्यादेश तुरन्त फिर्ता गर्न जोडदार माग गर्दछौँ । साथै ने. शि. महासङ्घ र सरकार बीच भएको सहमति एवम् ने. शि. महासङ्घको पहलमा माननीय सांसदहरू मार्फत संसदमा पेस भएको ६५ बुँदे संशोधन (सुझाव)मा उल्लेख भए वमोजिम् विद्यालय शिक्षा ऐन जारी हुने मितिलाई प्रस्थान विन्दु मानी त्यो भन्दा अघि स्थायी हुने सबै शिक्षकलाई पुरानै प्रणाली अनुसार निवृत्तिभरण पाउने व्यवस्था गर्न समेत सरकार समक्ष जोडदार माग गर्दछौँ ” विज्ञप्तिमा भनिएको छ ।


यसैगरी सरकार र नेपाल शिक्षक महासङ्घबिच विगतमा भएका सबै सहमति अक्षरशः सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री नयाँ ऐन जारी गराउन फेरि एक पटक आन्दोलनमा जुट्नुपर्ने अनिवार्यता रहेकोले २०८१ माघ १६ र १७ गते बस्ने राष्ट्रिय समितिको बैठकबाट निर्णय गरी ने.शि. महासङ्घ कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।


महासङ्घले आन्दोलनका लागि तयार रहन महासङ्घ तथा आबद्ध÷सम्बद्ध संस्थाका सबै प्रदेश, जिल्ला तथा पालिकाका साङ्गठनिक संरचना एवम् सबै शिक्षक–कर्मचारीलाई अपिल गरेको छ ।