काठमाडौं/२४ पुस – काठमाडौं विश्वविद्यालयले स्कुल अफ आट्र्स अन्तर्गत अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारितामा स्नातक तहको नयाँ कार्यक्रम सुरु गरेको छ । चार वर्षे यो कार्यक्रम माघ महिनादेखि सञ्चालनमा आउनेछ । विश्वविद्यालयका अनुसार, विद्यार्थीले एउटै उपाधिबाट अङ्ग्रेजी र पत्रकारितामा विशेषज्ञता हासिल गर्दै भाषिक सिप, समालोचनात्मक सोच, रचनात्मक लेखन र मिडिया रणनीतिमा दक्षता प्राप्त गर्न सक्नेछन् ।
स्कुल अफ आट्र्सकी डीन एक्कुमाया पुनले यो कार्यक्रम बहुविधात्मक ज्ञान र व्यावसायिक सीप प्रदान गर्न तयार गरिएको बताइन् । “आजका स्नातकहरू बहुआयामिक क्षमतामा निपुण हुन आवश्यक छ, त्यसैले यो कार्यक्रमले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक उत्कृष्टता हासिल गर्न सघाउनेछ,” उनले भनिन् । यस कार्यक्रमले अङ्ग्रेजी साहित्य, भाषिक अध्ययन, मिडिया अनुसन्धान, र सांस्कृतिक अध्ययनलाई विशेष प्राथमिकतामा राखेको छ ।
कार्यक्रमले शिक्षा, पत्रकारिता, जनसम्पर्क, अनुसन्धान, कर्पोरेट सञ्चार, र प्रकाशन जस्ता क्षेत्रमा अवसर सिर्जना गर्ने विश्वास गरिएको छ । प्राध्यापक डा. अभि सुवेदीले भाषा र सञ्चारलाई जोड्दै यस कार्यक्रमले शिक्षालाई विश्वव्यापी सन्दर्भमा सान्दर्भिक बनाएको बताए । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि खुला यस कार्यक्रममा २० जना मात्र भर्ना गरिनेछ ।
विश्वविद्यालयले यस कार्यक्रमबाट नयाँ पुस्ताका विद्यार्थीलाई बहुआयामिक भूमिकाका लागि तयार पार्ने लक्ष्य राखेको काठमाडौं विश्वविद्यालय, स्कुल अफ आट्र्स, भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीले बताए ।



