सामुदायिक विद्यालयमा छोराछोरी भए मात्रै व्यवस्थापन समितिको अध्यक्ष

स्याङ्जा/२० पुस – अर्जुनचौपारी गाउँपालिकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी वा नातिनातिना पढाउने अभिभावक मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ । गाउँपालिकाको १६ औँ सभाले शिक्षा ऐन २०८१ लागु गर्दै सो व्यवस्था ल्याएको पालिकाले जनाएको हो ।


गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा ऐन २०७४ खारेज गरेर शिक्षा ऐन २०८१ लागु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले खबर एजुकेशनलाई बताए । केही शिक्षकहरूले राजनीतिक दलका आडमा शिक्षकहरू माथि नै राजनीति गर्ने गरेको, विद्यालयमा नपढाइ सेवा सुविधा लिने गरेको, अतिरिक्त कक्षाका नाममा बढी रकम लिने गरेको पाइएपछि यसलाई व्यवस्थापन गर्न गाउँपालिकाको १६ औँ सभाबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याइएको बताए ।


यसैगरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने अभिभावकका छोराछोरी वा नातिनातिना सामुदायिक विद्यालयमा पढिरहेको भए मात्र अध्यक्ष हुन पाउने प्रावधान ऐनमा गरिएको छ । अभिभावकबाट अध्यक्ष बन्न सक्ने अवस्था नभएमा मात्र अन्यबाट बनाउन सकिने उल्लेख छ ।


तिवारीले व्यवस्थापन समितिमा समाजमा योगदान दिएका व्यक्ति, समाजसेवी र शिक्षाविद्लाई मनोनीत गर्ने व्यवस्था भएपनि तिनैबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरेको बताउँदै आफ्नै बालबालिका विद्यालयमा नभएपछि जिम्मेवारी नहुने गरेकोले त्यसलाई रोक्न ऐनमा अभिभावकका छोराछोरी वा नातिनातिना पढिरहेकै अवस्थामा मात्र अध्यक्ष हुन पाउने व्यवस्था गरिएको बताए ।


उनले त्यसरी मनोनीत भएर गएका व्यक्तिको उदेश्य सामुदायिक विद्यालयको गुणस्तर सुधारमा भन्दा राजनीति गर्न जाने, चियाखाजा खान जाने, शिक्षक नियुक्ति र सरुवामा चलखेल गर्ने, विद्यालयको स्रोत साधनको गलत प्रयोग गर्ने र विद्यालयको वार्षिक कार्यक्रममा आफ्ना पार्टीका नेतालाई ल्याएर कार्यक्रम गर्ने गरेको पाइए पछि त्यसलाई रोक्न ऐनमा व्यवस्था गरिएको बताए ।


विद्यालय तहको शिक्षा पूर्ण निःशुल्क गर्नुका साथै कुनै पनि नाममा विद्यार्थीसँग शुल्क लिन नपाइने, प्रधानाध्यापकले एक हप्तामा न्यूनतम १६ कक्षा पढाउनै पर्ने, पालिकाले सञ्चालन गर्ने स्तरीकृत परीक्षामा ५० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएमा विद्यालयको नेतृत्व परिवर्तन गर्न सक्ने र शिक्षकले आफू कार्यरत विद्यालयमा बाहेक अन्यत्र अध्यापन गराउन नपाउने लगायतको व्यवस्था ऐनमा रहेको छ ।