विद्यालय तहको पाठ्यक्रम परिमार्जनमा सरोकारवालाहरुको ८ सुझाब

काठमाडौं/१७ पुस – पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्दा गम्भीरता पूर्वक ध्यान दिन आवश्यक रहेको बताएका छन् । पाठ्यक्रममा भाषा, मूल्याङ्कन, समावेशिता, पाठ्यपुस्तक नियमन तथा विषय गत पाठ्यक्रम लगायतका सन्दर्भमा अब परिमार्जन गर्ने पाठ्यक्रममा गम्भीर हुन आवश्यक रहेको बताएका हुन् ।


खबर एजुकेशनले पाठ्यक्रम परिमार्जन सम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा पाठ्यक्रम उत्कृष्ट भएपनि त्यसभित्रका केही विषय परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । कक्षा ८, १० र १२ मा गरिने परीक्षाबाट नेपालको समग्र शैक्षिक स्थितिलाई हेर्दा सबैलाई जिम्मेवार बनाउँदै र आवश्यक परिमार्जन तथा नियमन गर्दै अगाडि बढाउन आवश्यक रहेको सुझाब पाठ्यक्रम विकास केन्द्रलाई दिएका छन् ।


यसैगरी गरी कक्षा १–३ मा मूल्याङ्कन जटिल रहेकोले यसलाई व्यावहारिक बनाउनु पर्ने बताए । कक्षा ८ को परीक्षा कक्षा १० र १२ कै जस्तो रटानमा आधारित नभई अझ बढी सीप र क्षमतामा आधारित बनाउनु पर्नेमा जोड् दिएका छन् ।


हेर्नुहोस सुझाब :


पाठ्यक्रम प्रारूप, २०७६ अनुसार चरणबद्ध रूपमा २०७९ बाट पूर्ण रूपले लागु भई हालसम्म आइपुग्दा यस पाठ्यक्रममा देखिएका महत्वपूर्ण परिवर्तनहरू शिक्षाको गुणस्तर अभिवृद्धिको लागी सराहनीय र उल्लेखनीय फड्कोको रूपमा हामीले लिएका छौँ ।


परिवर्तन गर्नुपर्ने र नीतिगत रूपमा सोच्नुपर्ने विभिन्न विषयहरू बुँदागत रूपमा र विषयगत पाठ्यक्रम विषयवस्तुमा समावेश गर्ने/हटाइनुपर्ने तथा सीप विकास गर्नुपर्ने केही महत्त्वपूर्ण विषयहरू सङ्क्षिप्त रूपमा निम्नअनुसार छन् :


१. भाषा :
स्थानीय सरकारले कक्षा ८ सम्म मातृभाषा (जस्तै नेपाल भाषा) अनिवार्य सबैमा लागु गराउँदा अन्य भाषा या स्थानीय विषयवस्तु पढाउन असहज हुने भएकाले लचिलो भई विकल्प दिन सकिने देखिन्छ । फ्रेन्च, स्पेनिस, जर्मन, संस्कृत आदि भाषाहरू पनि केही विद्यालयमा सिकाएका हुन्छन् । अनिवार्य नेपाली र अनिवार्य अङ्ग्रेजीमा थप सञ्चार केन्द्रित पाठहरू समावेश गर्न सकिन्छ र यी पाठहरूलाई अन्य विषयहरूको परियोजना कार्यका लागि साधनको रूपमा प्रयोग गर्न सकिन्छ । भाषा शिक्षाको मुख्य उद्देश्य उक्त भाषामा सञ्चार गर्ने सक्षमता बढाउनुका साथै पढ्ने र लेख्ने सीप विकास गर्नु पनि हो । त्यसैले, समसामयिक मिडिया साक्षरता गतिविधिहरू अनिवार्य नेपाली र अङ्ग्रेजीमा समावेश गर्न सकिन्छ ।


२. मूल्याङ्कन :
कक्षा ८, १० र १२ को बोर्डद्वारा गरिने परीक्षाबाट नेपालको समग्र शैक्षिक स्थितिलाई हेर्दा सबैलाई जिम्मेवार बनाउँदै र आवश्यक परिमार्जन तथा नियमन गर्दै अगाडि बढाउन उपयुक्त देखिन्छ । प्रश्नपत्रलाई कसरी जीवनसँग बढी सम्बन्धित, व्यावहारिक, कम ’रदान’ मा आधारित र अनावश्यक जटिल नबनाउने भन्नेमा विशेष सोच तथा निगरानी राख्नुपर्ने देखिन्छ । २५% आन्तरिक (नियमित) मूल्याङ्कनमा विद्यालयलाई निष्पक्ष मूल्याङ्कन गराउन कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने विषयमा विशेष गरी नियमन र कार्यान्वयन गराउनु जरुरी छ । साथै विशेष गरी कक्षा १–३ मा मूल्याङ्कन जटिल छ । यो व्यावहारिक हुनुपर्छ । कक्षा ८ को बिइइ परीक्षा कक्षा १० र १२ कै जस्तो रटानमा आधारित नभई अझ बढी सीप र क्षमतामा आधारित बनाउन सकिन्छ ।


३. समावेशिता :
’न्युरोडाइभर्जेन्ट’ विद्यार्थीहरू र विशेष आवश्यकतासहितका तथा सिकाइमा कठिनाइ भएका विद्यार्थीहरू हाम्रो पाठ्यक्रम र परीक्षा प्रणालीबाट लगभग पूर्ण रूपमा बाहिर परेका छन् । तिनीहरूका लागि केही लचिलो र तिनको अनुकूल ढाँचाको बारेमा पनि सोच्न पर्ने देखिन्छ ।


४. छुटेका तथा थप गर्नुपर्ने विषयहरू :
कक्षा ६–८ बाट ओबिटी (OBT) विषय हटाइएको छ । नैतिक शिक्षा हटाइएको छ । व्यावहारिक विषयहरू जस्तै पेसा, व्यवसाय तथा प्राविधिक शिक्षा, Well–being, Social & Emotional learning (सामाजिक–भावनात्मक सिकाइ) आदि सिपमूलक तथा वर्तमान परिवेश सुहाउँदो सीपहरूमा ध्यान केन्द्रित गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । बरु गणित, सामाजिक अध्ययन र विज्ञान जस्ता विषयहरूको भार सरलीकृत गरी, सीप–उन्मुख क्रियाकलाप तथा विषयवस्तु नेपाली, सामाजिक, विज्ञान जस्ता विषयमा सक्दो इन्टिग्रेट गरी समावेश गरे राष्ट्रिय शिक्षा नीतिसँग अझ राम्ररी मेल खान्थ्यो । (वास्तवमा केही सहर केन्द्रित विद्यालयहरूले विदेशी पाठ्यक्रम पालना गर्नुको मुख्य कारक यो पनि हो । ) विद्यार्थीले पढ्नुपर्ने विषयको र विषयवस्तुको भार नथपी बरु Hidden curriculum र विद्यार्थीको सर्वाङ्गीण विकासको लागि ठाउँ दिनु उपयुक्त हुन्छ ।


५. प्राविधिक तथा व्यावसायिक शिक्षा तर्फको व्यवस्थापन :
आधारभूत तह कक्षा ८ कक्षापछि साधारणतर्फ मात्र नभई प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ कमसेकम २०% देखि लगभग ४०% सम्मको सङ्ख्यामा विद्यार्थीहरू आकर्षित गर्ने वातावरण मिलाउन सके विद्यालयीय शिक्षा बढी सिपमूलक र सापेक्षित हुने र विद्यार्थीहरू लाभान्वित हुन सक्छन् । शिक्षालाई राष्ट्रिय उद्देश्य वर्तमान व्यवस्थामा प्राविधिक तथा व्यावसायिक शिक्षाको छनोट कक्षा र पछि विद्यार्थीलाई दिइएता पनि निजी विद्यालयहरूले सो शिक्षा सञ्चालन गर्न पाएका छैनन् र ४–५ वटा अनिवार्य भारी विषय पढ्नु पर्ने हुनाले कार्यान्वयन अझै अव्यावहारिक देखिएको छ ।


६. उमेर समूह :
५ वर्ष पुगेका विद्यार्थीहरूले कक्षा १ मा भर्ना भई १७ वर्ष पुग्दा नपुग्दै कक्षा १२ समापन गरी उच्च शिक्षा हासिल गर्ने, दीक्षित हुने वर्तमान पाठ्यक्रमको उमेर समूहसम्बन्धी व्यवस्था बढी महत्वकाङक्षी देखिन्छ । ६ वर्ष पुरा भएका विद्यार्थी मात्र कक्षा १ मा भर्ना हुन पाउने व्यवस्था गरी कक्षा १० को बोर्ड परीक्षा एसईईमा सामेल हुन १६ वर्ष पुरा पुगेको भए १८ वर्ष पुरा हुँदा मात्र कक्षा १२ बाट माथिल्लो तहमा जाने व्यवस्था बेस हुन्थ्यो । वर्तमान व्यवस्थामा बालबालिकाले उमेरको विकास भन्दा सम्बन्धित कक्षाको पाठ्यक्रमको भार बोक्नु व्यावहारिक रूपमा बढी हुने देखिन्छ ।


७. पाठ्यपुस्तक नियमन :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यक्रमलाई पूर्ण रूपमा पालना नगरी पाठ्यक्रम विकास केन्द्र कै स्वीकृति पाएका निजि पब्लिकेसनहरूले गुणस्तर र प्रतिस्पर्धाका नाममा पाठ्यपुस्तकलाई आवश्यकता भन्दा बढी कठिनाइ उत्पन्न गरेको र पाठ्यक्रमसँग मेल नखाएको पाइन्छ । सोको उचित नियन्त्रण समायोजन गर्न पनि जरुरी देखिन्छ । पाठ्यपुस्तकलाई व्यापक टोलीद्वारा संशोधन गर्नका लागि कमसेकम ४–५ जना विद्यालय शिक्षकहरू पनि समावेश गरी थप योगदान पुग्ने थियो । स्थानीय पाठ्यक्रममा स्थानीय सरकारबाट बनाइएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पनि सामाजिक अध्ययनको सामग्रीले मात्र नभरी सहरी वा ग्रामीण आवश्यकता र परिवेश अनुसार अझ विशिष्ट व्यवस्था गरिनु उपयुक्त हुन्छ ।


८. विषयगत पाठ्यक्रममा सुधार गर्नुपर्ने :
विशेष गरी, पाठ्यक्रमका विषयवस्तुमा विषयगत सुझावहरू यसप्रकार टिपोट गरिएको छ । यी विषयमा सम्बन्धित विषय विशेषज्ञसहित समय लिएर अझ बढी सूक्ष्म छलफल गरी टुङ्गोमा पु¥याउन सकिन्छ । केही विषयगत सुझावहरू यसप्रकार छन् ।


क. सामाजिक अध्ययन :


१. इतिहासको विषयवस्तुलाई हेर्दा विगतको कुनै कालखण्डमा घटनाक्रम कसरी विकसित भयो भन्ने तथ्यहरूमा बढी जोड दिएको पाइन्छ । एक इतिहासकारले इतिहाससम्म पुग्ने खोजअनुसन्धान गरी इतिहास कसरी लेखिन्छ भन्ने सिप विकासको लागि विद्यार्थीलाई सापेक्ष हुने आफ्नै परिवार या समुदायकै इतिहास खोजी गर्ने र दिइएको इतिहासलाई क्रस चेक गर्ने अनुभव विद्यार्थीलाई दिन सकिन्छ । त्यसै गरी महत्त्वपूर्ण टर्निङ्ग पोइन्टका घटनाहरूको कारण तथा प्रभाव अनि ती घटना नघटेको भए हाइपोथेटिकली देश–समाज– व्यक्तिमा कस्तो असर पथ्र्यो होला भन्ने विषयको विवेचना गर्ने ठाउँ विद्यार्थीलाई दिन पाए समीक्षात्मक र आलोचनात्मक चिन्तन गर्ने सिपको विकास गर्न सहयोग पुग्ने थियो । नेपाली भाषामा सामाजिक अध्ययनले हाम्रा सबै विद्यार्थीहरूलाई नेपालीमा राम्रो आधार प्रदान गर्दछ र यसले राष्ट्रिय विकासतर्फ डोर्याउँछ ।


२. कुलतहरूको या सामाजिक/नागरिक सचेतनाको विषयवस्तुमा अहिले बढ्दो रूपमा आएका चुनौतीहरू, जस्तै मानसिक स्वास्थ्य, इन्टरनेट स्किन लत, साइबर क्राइम, साइबर सुरक्षा, मनोसामाजिक परामर्श/स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता दिन जरुरी देखिन्छ । अन्य भाषाका विषयमा इन्टिग्रेट गरेर पनि मिलान गर्न सकिन्छ ।


३.भूगोलमा नेपालको नक्सा बनाउने र देशका विभिन्न ठाउँहरू मार्क गर्नेबाहेक नक्सा बनाउने सार्थक अनुभवहरू जस्तै घर, विद्यालय, समुदाय, आफू बस्ने गाउँ ÷सहरको नक्सा बनाउन लगाउने, नक्सा कसरी बनाइन्छ यसको बारेमा आवश्यक ज्ञान दिने गर्न सकिन्छ ।


४.पाठ्यक्रमलाई व्यावहारिक बनाउन राखिएका कक्षागत परियोजना कार्य र सामुदायिक क्रियाकलाप समयसीमाको पाबन्दी भन्दा असाध्यै बढी भएकाले गर्न सकिने कार्यक्रम राख्न बेस हुन्थ्यो । कक्षा–विषय शिक्षकले आफैँ समय ठाउँ विशेष पाठमा आधारित क्रियाकलाप गराउन प्रोत्साहन गर्न सक्दा अझ सान्दर्भिक हुने थियो ।


५. कक्षा ११–१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा कक्षा १२ को विषयवस्तु बढी भएकाले कम गरी बरु कक्षा ११ मा थप्ने र जीवनोपयोगी कुरालाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक बनाउदा बढी उपयुक्त हुने देखिन्छ ।


६. नेपालीमा सामाजिक अध्ययनले हाम्रा सबै विद्यार्थीहरूलाई नेपालीमा राम्रो आधार प्रदान गर्दछ र यसले राष्ट्रिय विकासतर्फ डोर्याउँछ । सामाजिक अध्ययन अझै पनि रचनात्मकतामा ध्यान दिन सकिन्छ ।


ख. अनिवार्य गणित :
अनिवार्य गणितको अवधारणा प्रायः सबै विद्यार्थीहरूले सिक्न पनि सकून र व्यवहारमा र उच्च शिक्षा हासिल गर्ने क्रममा आवश्यक गणितको ज्ञान तथा सिपमा दखल पनि राखून भन्ने दृष्टिकोणबाट सोच्ने हो भने अनिवार्य गणितलाई सरलीकृत र व्यवहारमुखी बनाई ऐच्छिक गणितमा बढी प्राविधिक तथ अमूर्त विषयसूची राख्न सकिन्छ । अनिवार्य गणित कठिन छ । धेरै विद्यार्थीलाई गणित किन कठिन छ भन्ने कुराको चिन्तन गरी यसलाई सरल बनाउनुपर्छ । अनिवार्य गणित गतिविधि र परियोजना–आधारित हुनुपर्छ । ऐ. गणित पढेको विद्यार्थीलाई अनिवार्य गणित पढ्नुपर्ने व्यवस्थामा विकल्प दिई अन्य सीप या सिर्जनात्मक विषय पढ्ने व्यवस्था दिन सकिन्छ । साथै देहायका सुझावहरू मार्फत अनिवार्य गणितलाई अझ बढी मूर्त बनाउन सकिन्छ ।


१. पाठ्यक्रम विकास केन्द्रबाटै अनुमोदित निजि प्रकाशनका पाठ्यपुस्तकहरूबाट अनावश्यक र अप्ठ्यारो मात्रै बनाउनका लागि राखिएका विषयवस्तुहरूमा विशेष नियमनका माध्यमबाट हटाउने र सरलीकृत गर्ने भूमिका खेल्न सकिन्छ ।


२. कक्षा ११–१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको विकल्पमा भएको (अनिवार्य) गणितका विषयवस्तु बढी नै प्राविधिक तथा गणितको लागि सान्दर्भिक छन्, तर अझ पनि दैनिक जीवनमा आधारित “अप्लाइड गणित“ प्रकारका विषयसूची यस गणितमा समावेश गरी भौतिक विज्ञान पढ्ने र गणितमा विशेष अभिरुचि हुने विद्यार्थीका लागि ऐच्छिक गणित–Basic Maths लाई आवश्यकताअनुसार विशिष्ट बनाउनु बढी सान्दर्भिक हुने देखिन्छ । फलस्वरूप कक्षा ११–१२ को अनिवार्य गणित सरलीकृत हुने थियो ।

३. कक्षा ५–६–७–८ मा भएका गणितका केही विषयसूचीहरू परिमार्जन गर्न सकिन्छ, जस्तै कक्षा ६ मा पनि Number Line को अवधारणामा विद्यार्थीलाई अझ बढी अभ्यस्त बनाई कक्षा ७ बाट मात्र Unitary Method सुरु गर्न सकिन्छ । कक्षा ७ मा राखिएको Coordinate Geometry कक्षा ८ मा मात्र सुरु गरेर बरु Pie Chart कक्षा ७ मा राख्दा Qmatistics बढी पूर्ण हुन्छ जस्तो देखिन्छ। कक्षा ४ को दशमलव र प्रतिशतलाई कक्षा ५ मा र कक्षा ५ मा अधिकांश विषयवस्तु Conversion या Unitsको मात्र हुनुलाई Number line & Operations मा जोड दिँदा गणितमा अझ राम्रो आधारशिला बन्छ जस्तो लाग्छ । कक्षा ६ मा कोण र भुजाको आधारमा त्रिभुजको वर्गीकरणलाई कक्षा ७–८ मा राखे हुन्छ ।


यी केही उदाहरण भए तापनि विस्तृत रूपमा गणितकै विशेष अन्तरक्रियामा छलफल गरी अझ बढी परिष्कृत बनाउन सकिन्छ ।


४. पाठ्यक्रममा भन्दा एसईईमा सोधिने प्रश्न बढी जटिल बनाउन खोजेको पनि पाइन्छ । बरु बढी सरलीकृत, अवधारणामा आधारित केस स्टडी प्रकारका प्रश्न पनि बनाउन सकिन्छ । कक्षा ९ को जयगकभ जयमि अङ्कगणितमा बिजुली, पानी, ट्याक्सी, फोन आदिको महसुल निकाल्दा र सम्बन्धित कार्यालयले हुबहु निकाल्दा उही उत्तर आउँदैन यो व्यावहारिक नियमानुसार पद्धति नमिलेको कारणले भएको हो । यसको समायोजन गर्न पनि आवश्यक देखिन्छ ।


ग. कम्प्युटर शिक्षा :
कम्प्युटरमा आधारभूत परम्परागत कम्प्युटिङ सिद्धान्तहरूमा सीमित हुनुको साटो नवीन प्रोग्रामिङ पक्षहरू समावेश गर्नुपर्छ । पुरानो भइसकेको प्रोग्रामिङका विषयवस्तु घटाई या कम गरी नविन र भविष्य उन्मुख विषयवस्तुहरु जस्तै : coding, artificial intlleigence, multimedia, design, graphics, autocad समावेश गरी जोड दिँदा विद्यार्थीले आवश्यक सीप विकास गर्न पाउनेछन् ।


अन्तमा थप सुझावहरू :
पाठ्यक्रमले वातावरण शिक्षा र जलवायु परिवर्तन बुझ्ने बारे विद्यालयव्यापी परियोजनाहरू पनि सङ्केत गर्नुपर्छ । विद्यार्थीहरूले समूह गतिविधिहरू गर्नुपर्छ । रेड–व्यापी विशिष्ट गतिविधिहरू हुनुपर्छ । कक्षा शिक्षकको जिम्मेवारी यो पनि हुन्छ कि उनी पाठ्यक्रममा एसईएल, नैतिकता र नीतिशास्त्रलाई एकीकृत तरिकाले समावेश गर्न सकून । यी विषयहरु अनिवार्य नेपाली र अनिवार्य अङ्ग्रेजीको विषयवस्तुमा पनि समावेश गरी सम्बोधन गर्न सकिन्छ ।


नेपाली पाठ्यक्रममा उद्यमशीलता, विचार पिचिङ पनि आवश्यक छ । अझ महत्त्वपूर्ण कुरा के हो भने यसमा पुँजी निर्माण, स्थानीय स्रोतहरूको उपयोग र परम्परागत वा स्थानीय स्रोतहरू र प्रविधिहरूको अनिवार्य एकीकरणलाई प्रवर्धन गर्नका लागि केही प्रेरक ठाउँहरू र गतिविधिहरू हुनुपर्छ ।


साथै, उच्च कक्षामा शिक्षकहरूको स्वायत्ततालाई उचित दिशानिर्देशसहित बढाउनुपर्छ । सिकाइकर्ताको आत्म–मूल्याङ्कन र प्रतिविम्बित सिकाइ समावेश गर्नुपर्छ । ऐ गणित पढेका विद्यार्थीलाई अनिवार्य गणित पढ्नुपर्ने बाध्यताको साटो अन्य कुनै सिर्जनात्मक विषय या सीपमूलक विषय पढ्ने छुट दिन सकिन्छ ।