काठमाडौं/१७ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सेवा प्रवाहमा देखा परेका जटिलताका बारेमा विश्लेषण गरी सहज कार्य वातावरण बनाउनु पर्नेमा जोड् दिएकी छन् । मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू तथा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूसँगको छलफलमा सो कुरा बताएकी हुन् ।
यसैगरी आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पुरा गर्न र सेवा प्रवाहमा देखा परेका जटिलताका बारेमा विश्लेषण गरी सहज कार्य वातावरण बनाउनुपर्ने, उच्च शिक्षामा देखिएका अस्पष्टतालाई आपसी छलफल र समन्वयबाट गति दिनुपर्ने, शिक्षकहरूको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।
उनले आवश्यक विषयगत विज्ञको सूची तयार गर्नुपर्ने र विषयगत विज्ञता र विशेषज्ञतालाई आपसमा जोड्नुपर्ने, कार्यसम्पादनलाई आवश्यकताका आधारमा पुनरावलोकन गर्नुपर्ने एवं नागरिकहरूमा आशा जागृत हुने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन ।
बैठक विशेषत कार्यविधि तथा निर्देशिकाहरूको आवश्यकता, औचित्यता तथा आवश्यक नरहेका के कति छन् सम्बन्धित विभागीय प्रमुखहरूले थप स्पष्ट भई मन्त्रालयमा पेस गर्ने, कानुन शाखाको काम कारबाही थप प्रभावकारी बनाउने तथा विद्यालय तह (कक्षा ४–१०)को पाठ्यक्रममा विद्यार्थीले घरमा गरेको कामलाई विद्यालयको आन्तरिक मूल्याङ्कनमा समावेश गर्ने विषयहरूमा छलफल केन्द्रित रहेको थियो ।



