विश्वविद्यालयमा सम्बन्धनको विषय पेचिलो छ : शिक्षामन्त्री

काठमाडौं/१६ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उच्च शिक्षा सुधार र गुणस्तर कायम राख्न सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छन् । शिक्षा केवल विस्तार गर्ने मात्र नभई यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषय तर्फ सोच्नुपर्ने समय आएको भन्दै सो कुरा बताएकी हुन् ।


विश्वविद्यालय अनुदान आयोगमा विश्वविद्यालयहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै सम्बन्धनको विषय पेचिलो भएकोले यस विषयलाई वैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्ने, विश्वविद्यालय स्वायत्त संस्था भएकोले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वःअनुशासन र स्वः नियन्त्रण आवश्यक रहने कुरा उल्लेख गरिन ।


उनले शिक्षाबाट समाजमा वर्ग निर्माण हुन नहुने तथा यसबाट सामाजिक न्यायको पक्षमा काम हुनुपर्नेमा जोड दिइन । उच्च शिक्षा क्षेत्रमा गुणस्तरको मापन प्रतिस्पर्धामा आधारित हुनुपर्ने साथै, विश्वविद्यालयहरूले गुणस्तर कायम राख्नका लागि सक्रिय भूमिका लिनुपर्ने धारणा व्यक्त गरिन् ।


विद्यालय र विश्वविद्यालय बीचमा सम्वाद र अन्तरक्रियाको आवश्यकता रहेको बताउँदै शैक्षिक क्यालेन्डर पालना नगरेमा विश्वविद्यालयहरूमा जाने स्रोत रोक्नु पर्नेसम्मको अवस्था आउन सक्नेमा जोड् दिइन । विश्वविद्यालयका पदाधिकारीहरू बीचमा सामञ्जस्य र समन्वयको वातावरण बनाउनु आवश्यक भएको र विश्वविद्यालयहरूले आफ्ना आंगिक क्याम्पसहरूलाई क्युएमा लैजानुपर्ने, विश्वविद्यालय थिंकट्यांक भएकोले उपकुलपतिहरूले यसको नेतृत्व लिनुपर्ने, आफूले दिएको सम्बन्धनको अनुगमन गर्नुपर्ने, आन्तरिक समस्या समाधान गर्न विश्वविद्यालय अवस्थित सामाजिक परिवेश सँग परिचित हुनुपर्ने लगायतका समग्र प्रक्रियाको प्रशासनिक समन्वय गर्न मन्त्रालय तयार रहेको बताइन ।


विश्वविद्यालय अनुदान आयोगको परिसरमा आयोजित कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको उपस्थिति रहेको थियो । छलफल विद्यार्थी भर्ना प्रक्रिया, आपसी समन्वय, शैक्षिक क्यालेन्डरको पालना लगायतका विषयमा केन्द्रित रहेको थियो ।